यसरी बित्यो कला क्षेत्रको वर्ष



रश्मी थापा

वर्ष २०७३ को प्रारम्भमै पारेर गत वैशाख ७ गते चलचित्र विकास बोर्डले एक दर्जन बढी फिल्मकर्मीलाई सेलिब्रेटी कार्ड प्रदान गर्यो। बोर्डले विशिष्ट श्रेणीको परिचयपत्र भन्दै यादव खरेल, भुवन चन्द थापा, वसुन्धरा भुसाल, नीर शाह, उद्धव पौडेल, किरण खरेल, सुभद्रा अधिकारी, हरिप्रसाद रिमाल, लक्ष्मीनाथ शर्मा, मञ्जुकुमार श्रेष्ठ, चेतन कार्की, गेहेन्द्र धिमाल र शकुन्तला शर्मा गरी १३ जना फिल्मकर्मीलाई उक्त परिचयपत्र तत्कालीन सञ्चारमन्त्री शेरधन राईको आतिथ्यतामा प्रदान गरेको थियो।

हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धु्र्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७२ वैशाख १२ गते गएको प्रलयकारी भूकम्पको ठीक एक वर्ष पारेर वैशाख १२ गते धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत् सिन्धुपाल्चोकको मेलम्ची ८ गिरानचौरमा एकीकृत नमुना बस्तीको शिलान्याश गरेका थिए भने निर्माण पश्चात् गिरानचौरका ६८ भूकम्पपीडित घर–परिवारलाई हस्तान्तरण गरे। यसभन्दा अघि पनि उनीहरुले काभ्रेमा एकीकृत पहरी बस्ती निर्माण शुरु गरेको साढे दुई महिनामा नै हस्तान्तरण गरेको थियो।

जेठ १ गते सौनिक श्रीमती संघ नेपालले भूकम्पबाट प्रभावित गाउँ बस्तीको पुनर्निर्माणमा सघाउने उद्देश्ये राजधानीमा अमर पञ्छी नामक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्र्यो। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा बलिउड नायिका सोनाक्षी सिन्हा र मलाइका अरोरा खानलाई प्रस्तुत गरिको थियो भने। उनीहरुको साथमा नेपाली नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी, रेखा थापा, सुस्मा कार्की, ऋचा शर्मा, निशा अधिकारी तथा गायिका इन्दिरा जोशीले आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमबाट उठेको नगद १४ लाख रुपियासैनिक श्रीमती संघले धुर्मुस–सुन्तलीलाई प्रदान गरेको थियो। सैनिक मञ्चमा त्यसखाले कार्यक्रम गरिएको भन्दै त्यसको आलोचनासमेत भएको थियो।

चर्चित गायक तथा कलाकार प्रकाश ओझालाई सर्वोच्च अदालतले १० वर्षे कैदको फैसला सुनाएपछि फरार रहेका उनलाई माघ १४ गते शंखमूलबाट पक्राउ गर्यो। गायक ओझाले २०५१ सालदेखि २ वर्षसम्म तीन जना नाबालिकसँग यौन सम्बन्ध राखेर खिचिएको भिडियोलाई सार्वजनिक गर्ने धम्की दिई पटक–पटक यौन शोषण गरेको अदालतले ठहर गरेको थियो।

साथै पीडितहरुको फोटो वबसाइटमा राखेर बेचविखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसाला उल्टाइदिएको थियो। ओझाले गाएको बाउले बिहे गर्देनन् पोहोर पनि गीतले निकै चर्चा पाएको थियो भने टेलिसिरियल तीते करेलीबाट पनि उनी चर्चित थिए।

वर्ष ०७३ मा विभिन्न कलाकारले राजनैतिक पार्टी प्रवेशको कुराले निकै चर्चा पायो। नायिका रेखा थापा माओवादी परित्याग गरेर राप्रपामा प्रवेश गरिन् भने गायिका कोमल ओली पनि रेडियो नेपालको जागिर छोडेर राप्रपा नेपालमा प्रवेश गरिन्।

त्यसै गरी पुस ७ गते बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामासहित अभिनेता रमेश बुढाथोकी, नायिका रिस्ता बस्नेत, नवअभिनेतृ नम्रता योगी, गायक युवराज चौलागाईं, नृत्य निर्देशक पुनम राई, मोडलद्वय प्रतीक्षा खड्का र रन्जु सुनामले देउवाको हातबाट टीका लगाउँदै संयुक्तरूपमा पार्टी प्रवेश गरे।

गायिका ज्योति मगरलाई गत वर्ष फेसबुक ≈याकरले निकै दुःख दिए। उनको फेसबुक ≈याक गरेर अश्लील तस्वीर पोस्ट भएपछि उनले कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिइन्।

हालसम्मकै धेरै व्यापार गर्न सफल फिल्म छक्का पञ्जा पाइरेसी भयो। जसका आरोपितमध्ये एक कृष्ण सुवेदीले आत्महत्या गरे।

साउन १५ गते चलचित्र विकास बोर्डमा भएको नेपाल चलचित्र निर्देशक समाजको ११आंै साधारणसभा तथा अधिवेशनले समाजको अध्यक्षमा प्रथम पटक नेपालको प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठलाई निर्वाचित गर्यो।

असोज १२ गतेदेखि २ दिनसम्म भएको लोकदोहोरी प्रतिष्ठान नेपालको निर्वाचनले लोकगायक बद्री पंगेनीलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गर्र्यो।
लामो समयदेखि स्थगित रहेको नेपाल चलचित्र निर्माता संघको १४औं वार्षिक साधारणसभा तथा नया कार्यसमिति चयन कार्यक्रमबाट आकाश अधिकारी निर्विरोधरूपमा अध्यक्षमा चयन भए।

ध गत फागुन २५ मा भएको चलचित्र पत्रकार संघको निर्वाचनले पत्रकार सन्दीप सापकोटालाई अध्यक्षमा निर्वाचित गर्र्यो।
ध छायाछवी क्रियसनले भदौ १६ गते तेस्रो तीज गीत म्युजिक अवार्ड आयोजना गर्यो। जसमा तीजका लागि तयार पारिएका गीत र म्युजिक भिडियोलाई १९ विधामा अवार्ड प्रदान गरीएको थियो।
ध भदौ २२ गते प्राविधिक विधालाई अगाडि सार्दै सिनेमा सर्कल नेपालले फरक विधाका साथ राजधानीमा पहिलो एलजी फिल्म अवार्ड सम्पन्न गर्यो। बलिउड अभिनेता शत्रुघन सिन्हालाई प्रमुख आकर्षणको केन्द्रको रूपमा प्रस्तुत गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता उपराष्ट्रपति नन्दबहादुर पुनले ग्रहण गरेका थिए।
असोज २ गते नेपाल चलचित्र विकास कम्पनीको आयोजनामा चौथो संस्करणको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२ सम्पन्न भयो।
असोज ८ गते अठारांै संस्करणको इमेज अवार्ड होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भयो।

नेपाल चलचित्र प्राविधिक संघले दुबईमा पुस ८ गते नवौं संस्करणको नेफ्टा अवार्ड आयोजना गर्यो। जस्मा निर्देशक दीपेन्द्र के खनालले आफ्नो फिल्म पशुपति प्रसादले अन्य कुनै पनि विधामा अवार्ड नपाएको भन्दै सर्वोत्कृष्ट निर्देशकको अवार्ड फिर्ता गरेका थिए भने चलचित्र प्राविधिक संघका महासचिव सुरज आचार्यले अवार्ड प्रक्रियामा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए।

कात्तिक १२ गते रेडियो कान्तिपुरको १८औं वर्ष पार गरेको उपलक्ष्यमा संगीत सम्मान कार्यक्रमको आयोजना गरी श्रष्टाहरुलाई सम्मान गर्यो।
ध मंसिर १८ गते कामना न्युज पब्लिकेसन्सले दोस्रो संस्करणको कामना फिल्म अवार्ड आयोजना गर्यो।

मंसिर २४ गते विन्ध्यावासिनी फाउन्डेसनले सातांै संस्करणको विन्ध्यावासिनी म्युजिक अवार्ड आयोजना गर्यो भने त्यस अघि विन्ध्यवासीनी सम्मान तथा संगीत साँझको आयोजना गरी विभिन्न संगीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गर्यो।

अमेरिकाको कोलोराडोस्थित डेनभरमा नोभेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ सम्पन्न भयो। अवार्डमा विजेता कलाकारलाई अमेरिकाले भिसा नदिएका कारण धेरैजसो कलाकार समारोहमा पुग्न नसकेपछि त्यसको भिडियो रेकर्ड राजधानीमा सार्वजनिक गरियो। अमेरिका नेपाल टेलिभिजन, बीआरटी नेपाल डट कम र नेपाल फिल्म सोसाइटीद्वारा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्