नेपालगन्जमा दुईको उम्मेदवार पक्का



कुमार श्रेष्ठ, बाँके

नेपालगन्ज उपमहानगरपालिकाको मेयरका लागि दलहरूले उम्मेदवार टुंगो लगाउन शुरू गरेका छन्। राष्ट्रिय जनमोर्चाले कृष्णराज पाण्डेको नाम टुंगो लगाएको छ। राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

राष्ट्रिय जनमोर्चाले नेपालगन्जको मेयरका लागि पाण्डेसहित माला केसी र जगदीश ढकालको नाम सिफारिस गरेको थियो। पार्टीले पाण्डेलाई मेयर र केसीलाई उपमेयरको टिकट दिएको छ। विद्यार्थी राजनीतिबाट अगाडि आएका पाण्डे नेपालगन्जका चल्ताफुर्ता युवा नेता हुन्।

दोस्रो संविधानसभा चुनावमा नेपालगन्ज क्षेत्र पर्ने ३ नम्बरबाट झिनो मतले पराजित भएका डा. राणाले राप्रपाबाट मेयर उठ्ने घोषणा गरिसक्नुभएको छ। यद्यपि, पार्टीले तामझामका साथ मेयर र उपमेयरको घोषणा गर्ने तयारी भएको छ। कांग्रेस, एमाले र माओवादी केन्द्र अझै छलफलमै रहेका छन्। कांग्रेसले लोकप्रिय, निरन्तरता र स्वच्छ छविको मापदण्ड बनाएर अगाडि बढेको छ। उसले वैशाख २ गतेभित्र उम्मेदवारले निवेदन दिन आ≈वान गरेको छ। मेयरका लागि आधा दर्जनको चर्चा रहेको छ।

एमाले र माओवादीले पनि पनि मेयरका लागि प्रारम्भिक छलफल गरिरहेका छन्। चुनाव जित्न सक्ने योग्यलाई उम्मेदवार बनाउन यी दुई ठूला पार्टी आन्तरिक छलफलमा जुटेका छन्। यी दुवै दलमा ३÷४ जना दाबेदार रहेका छन्।

ठूला तिनै दलले वडा तहबाट टुंगो लगाउँदै अगाडि बढेका छन्। यी पार्टीका कतिपय वडाहरूमा सर्वसम्मत उम्मेदवारको टुंगो लागिसकेको छ। टुंगो लाग्न नसकेर विवाद भएको ठाउँबाट २÷३ जनाको नाम जिल्लामा सिफारिस गर्न निर्देशन दिइएको छ।

कांग्रेसमा डा. सुरेशकुमार कनोडिया, सुरेन्द्र हमाल, निरञ्जन सिजापति, निजामुद्दिन सिद्धिकीलगायतको नाम चर्चामा रहेको छ।

एमालेमा समसुद्दिन सिद्धिकी, विजय गुप्ता, शान्ति ढकाल, दत्तप्रसाद आचार्यको नाम बाहिर आइरहेको छ। माओवादीमा दामोदर आचार्य, अतहर हुसेन फारुकी र नवीन शर्माको नाम चर्चामा रहेको छ। उम्मेदवारका आकांक्षीहरूले आफ्नो पक्षमा निर्णय पार्नका लागि वडादेखि जिल्ला कमिटीसम्म प्रभाव पार्ने काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्