नयाँ वर्षको बिहानीमा सबैलाई स्वागत



विश्वनाथ खरेल

नयाँ वर्षमा प्रवेश गरेको दिन आज। आजदेखि विक्तम संवत् २०७४ शुरु भएको छ। नयाँ वर्ष शुरु भएको उपलक्ष्यमा आफन्त, साथीभाइ र चिनेजानेकालाई एक–अर्काले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ। त्यसै अनुरुप नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिँदै छ। यसरी समय एउटा गतिशील छ। जीवन भनेको निरन्तरताको जड हो। कोही जन्मछन्, कोही मर्छन्, कोही झन् युवा हुन्छन्। यसरी नै समय बित्ने गर्दछ। यसर्थ समयको गतिले जन्मदेखि मृत्युसम्मको चक्तमा पुर्याउँछ।

विश्वका हरेक देशमा पुरानो वर्षको बिदाइ र नववर्षको आगमनमा स्वागत गर्ने आ–आफ्नो किसिमको कार्यशैली छ। गएराति १२ बजेदेखि वि.सं. २०७३ ले बिदा लिई वि.सं. २०७४ आरम्भ भएको छ। यस नववर्षको पुनित अवसरमा शुभकामना एक–अर्कोमा आदान–प्रदान गरिन्छ। विगतमा घटेका जे–जस्ता घटनाहरु भए पनि त्यसलाई चटक्क बिर्सिई नयाँ जोश र जाँगरलाई अगाडि बढाएर सुखद भविष्यको परिकल्पना गर्नु स्वाभाविकै हो। विगत वर्षहरुझैँ २०७३ पनि अब इतिहास भइसकेको छ। भूतकालमा भएका कमी–कमजोरी र त्रुटि सम्झिएर चिन्तित हुनुभन्दा इतिहासलाई गुरु ठानेर भविष्यको सम्यक विश्लेषण र दिशा निर्धारण गर्नतिर सचेष्ट रहनु मानवीय धर्म हो, कर्तव्य हो।

नयाँ वर्ष शुभारम्भको उपलक्ष्यमा विगतलाई समीक्षा गर्दै भविष्यको गोरेटो पहिल्याउने प्रयत्न गर्ने हो भने हामी हाम्रो भविष्य स्वतः नै उज्ज्वल देख्न पाउनेछौं। त्यसो त नयाँ वर्ष र नयाँ परिवर्तन हामीले सोचेजस्तो सीधासाधा, सुखद र शान्त हुँदैन। त्यो जहिले पनि टेढोमेडो हुन्छ। हाम्रो सोचाइभन्दा केही जटिल नै हुन्छ। त्यसैले नयाँपनको प्रसव वेदना पनि समाजले सहनै पर्छ। केही अप्ठ्यारो भोग्नै पर्छ। तर त्यसपछि हामी एक नयाँ युगमा प्रवेश गर्नेछौं। त्यसपछि हामी एक नयाँपन महसुस गर्नेछौं।

आजदेखि नयाँ वर्ष पदार्पण भई एउटा नयाँ बिहानी र शुभकामनाको प्रतिक भएर उदाएकोले मानिसको मनलाई प्रफुल्लित बनाएको छ। नयाँ वर्षको आगमनसँगै नेपालीको घर–आँगन मैत्री, प्रेम, सद्भावनाका सुगन्धले भरिपूर्ण रहने अपेक्षा प्रत्येक व्यक्तिले आदान–प्रदान गर्ने शुभकामना सन्देशहरुमा पाइन्छन्। त्यसैले आजको दिनलाई मंगलमय दिनको रुपमा आत्मसात् गरी नववर्षको स्वागत गर्ने संस्कार विद्यमान रहिआएको छ।

नयाँ वर्षको शुभ अवसरमा सवेरै उठेर स्नान गरी नजिकका धार्मिक स्थलहरुमा दर्शन–पूजन गर्न जाने, गुरु–पुरोहितबाट नववर्ष एवं संक्तान्तिको शुभफल र कथा सुन्ने, सिदा–दक्षिणा अर्पण गर्ने कार्यहरु गर्दा वर्षभरि नै लाभदायक र स्वास्थ्यदायक हुने विश्वास गरिन्छ। यस दिन तेलमर्दन गर्ने, मिश्री, मरिच र नीमको पात खाने प्रचलन पनि छ। यसका साथै आफन्तहरुलाई शुभकामना, बधाई, अभिनन्दन गर्ने तथा घरमा हितौषीहरुलाई निमन्त्रणा गरेर नयाँ परिकारहरु ख्वाउने समेत गरिन्छ। यस दिन जे–जसरी दिन बित्छ अर्थात् खानपिन, रमाइलो, सुख–सुविधा हुन्छ, त्यसको फल वा प्रभाव वर्षभरि नै परिरहने जनविश्वास रहेको छ। त्यसैले यस दिन सकभर रमाइलो एवं मनोरञ्जन गर्नुका साथै मीठो भोजन गरी खुशीयाली वातावरणमा दिन बिताउने प्रचलन रहेको छ।

नयाँ वर्षको स्वागत तथा अभिनन्दन गर्ने शैली आ–आफ्नो देशमा आफ्नै किसिमको रहेको हुन्छ। हाम्रो देशमा वैशाख १ गते वर्षको पहिलो दिन अर्थात नयाँ वर्ष पर्छ। नेपालमा नववर्षको यस पर्वलाई पश्चिमी देशमा झैँ आमोद–प्रमोदको वातावरणभन्दा धार्मिक वातावरणमा मनाउने चलन बढी पाइन्छ। हामीकहाँ नववर्षलाई राष्ट्रिय पर्वको रुपमा मनाउने सन्दर्भमा अधिराज्यभर बिदा हुनुका साथै सरकार प्रमुखबाट देशवासीको नाममा सन्देश दिने परम्परा पनि रहिआएको छ। प्रत्येक बिहानीले दिनलाई संकेत गर्छ भनेजस्तो हाम्रो आँगनमा आएको २०७४ साल सबैको लागि फलदायी रहोस्। तमाम नेपालीले वर्षभरलाई आफ्नो ‘भाग्य’ भन्दै भर्सेलोमा छाड्न नपरोस्। सबैको उत्तरोत्तर प्रगति र उन्नतिका नयाँ–नयाँ झाङहरु मौलाएर आऊन्। नववर्षको बिहानीमा यही शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्