क्यान्सरपीडितका लागि सात लाख रकम सङ्कलन



कञ्चनपुर, ३१ चैत । शुक्लाफाँटा नगरपालिका–१० का क्यान्सरबाट पीडित जनक शाहीको उपचारका लागि रु सात लाख सङ्कलन भएको छ ।

‘गुडलक फाउन्डेसन नेपाल’ले थालेको जनक शाही बचाउ अभियानअन्तर्गत देश–विदेश र साङ्गीतिक कार्यक्रममार्फत उपचारका लागि सो रकम सङ्कलन गरिएको हो । फाउन्डेसनका संयोजक भाष्कर भट्टका अनुसार विदेशबाट रु एक लाख ५४ हजार, साङ्गीतिक कार्यक्रम र सहयोगीबाट रु पाँच लाख ५६ हजार सङ्कलन भएको छ ।

“शाहीको उपचार गर्न रु २० लाखदेखि रु २५ लाख लाग्ने भएकाले रकम सङ्कलनमा जोड दिएका छौँ”, भट्टले भन्नुभयो । शाहीको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।

सहकारीको एक अर्ब ६४ करोड ऋण लगानी

कञ्चनपुरमा क्रियाशील रहेका सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा रु एक अर्ब ६४ करोड ६८ लाख ८७ हजार ऋण लगानी गरेका छन् ।

डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका तीन सय ९८ सहकारीमध्ये तीन सय ३० सहकारीले कृषि, पशुपालन, किरानापसल, घुम्ती व्यापार र लघुउद्यमका क्षेत्रमा रकम ऋणका रुपमा लगानी गरेका छन् ।

बचत तथा ऋण सहकारी संस्थाले रु ३८ करोड ८६ लाख ११ हजार, कृषि सहकारी संस्थाले रु ५४ करोड ४१ लाख, बहुउद्देश्यी सहकारी संस्थाले रु ६४ करोड ९० हजार ऋण लगानी गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख रामबहादुर खातीले बताउनुभयो ।

उहाँका अनुसार उपभोक्ता सहकारी संस्थाले रु चार करोड ४६ लाख ६० हजार, पशुपालन सहकारी संस्थाले रु २० लाख ४३ हजार र अन्य सहकारी संस्थाले रु एक करोड ८४ लाख ६३ हजार ऋण लगानी गरेका छन् । ऋण लगानी गरेका सहकारी संस्थाले रु २५ करोड २४ लाख ८५ हजार आम्दानी गरेका छन् । सहकारीमा एक लाख बढी महिला–पुरुष आबद्ध छन् भने दुई सय ६१ महिला र दुई सय ४९ पुरुषले रोजगारी पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्