केशरमान श्रेष्ठ
यो वर्ष विश्वको सबैभन्दा महत्वपूर्ण घटनाका रूपमा अमेरिकी राष्ट्रपतिको चुनाव रह्यो। यो एक प्रकारले नियमित प्रक्रिया भए पनि यसपटकको चुनाव अमेरिकी इतिहासमा एक किसिमले विशेष रह्यो।

अति राष्ट्रवाद नारा लिएर रिपब्लिकन पार्टीका एक से एक दिग्गज नेताहरूलाई प्राइमरीमा पछार्दैै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनावमा एउटा प्रमुख पार्टीको उम्मेदवारमा चयन भएर आए। यतिमात्रै होइन नोभेम्बरमा भएको उक्त चुनावमा आफ्ना प्रमुख प्रत्यासी, नेतृत्व तथा कूटनीतिक क्षेत्रमा लामो अनुभव हासिल गरेकी डेमोक्र्इटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पनि सजिलै हराइदिए। यसले अमेरिका जस्तो राष्ट्रमा पनि राजनीतिक रूपमा निरक्षर व्यक्ति कसरी त्यो क्षेत्रमा अत्यधिक उचाइ हासिल गर्न सफल हुँदो रहेछ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

अमेरिकी जनताले युक्रेनमा रुस विरोधी राष्ट्रवादले पेट्रो पोरोसेन्को, रुसमा पश्चिमा विरोधी भ्लादिमिर पुटिनको पुनरागमन, जापानमा चीन विरोधी सिन्जो आबे, फिलिपिन्समा अमेरिका विरोधी रोड्रिगो डुटेर्टे, ताइवानमा चीन विरोधी साइ इङ वेन, भारतमा पाकिस्तान विरोधी तथा हिन्दू राष्ट्रवादी नरेन्द्र मोदीकै तप्कामा ट्रम्पलाई पुर्याए। यद्यपि उनी पूर्ण रूपमा गैरराजनीतिक क्षेत्रका मात्र नभई सधैं नाफा र नोक्सानमा मात्र घोत्लिरहने व्यापारिक प्राणी थिए।

जनवरी २० मा अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पदको सपथ ग्रहण गरे। पहिलो अमेरिकी अश्वेत राष्ट्रपति बाराक ओबामालाई प्रतिस्थापन गर्दै उक्त सर्वोच्च पदमा आसिन भएका ट्रम्पको यो आगमन विश्वका लागि अपेक्षित हो होइन भविष्यले नै बताउनेछ।

८ वर्ष अगाडि ओबामा राष्ट्रपतिमा निर्वाचित हुनुले अमेरिकी इतिहासमा विशेष अर्थ राख्थ्यो। विश्व प्रजातन्त्रको मसिहा ठान्ने अमेरिकाले त्यसलाई आफ्नो त्यो छवीमा गौरव गर्न सक्ने कडीका रूपमा विश्वलाई बाँधे। कुनै पनि नागरिकलाई देशको शासकीय अधिकारसम्मको पहुँच सुरक्षित हुने प्रजातन्त्रको परिभाषाका लागि त्यो घटना एउटा उत्कृष्ट नमुना बनेको थियो।

ओबामाको राष्ट्रपति चयनले ६० को दशकमा मात्रै मताधिकार पाएका अश्वेत समुदायलाई, त्यसको करिब ५ दशकपछि पहिलोपटक शासकीय हैंसियत दिलायो। त्यसले विश्वमा अमेरिकाको प्रजातान्त्रिक प्रणालीको छवीलाई वास्तवमैमाथि पुर्याएको पनि थियो। प्रजातन्त्रमा कुनै पनि तप्काको जनताका लागि आफ्नो हक र अधिकार कुन हदसम्म सुनिश्चित हुनसक्छ भन्ने यो बेजोड उदाहरण बनेको थियो।
यो त्यही प्रजातन्त्र हो र ट्रम्प पनि त्यसकै उपज हुन्। उनी पनि ओबामा जत्तिकै बैध पनि हो। तर ट्रम्प अमेरिकी इतिहासमा बनेका सबै राष्ट्रपतिहरूभन्दा पृथक ढंगले आए। उनको आगमन प्रक्रियागत रूपमा फरक नभई फरक विचारबाट भएको छ। सम्भवतः राजनीतिक दृष्टिकोणले उनका विचारलाई कम्तिमा अमेरिका हाँक्नका लागि कसैले उपयुक्त मानेका थिएनन्। उनी जुन पार्टीको प्रतिनिधित्व गरेर त्यो पदमा पुगे, त्यही पार्टीका वरिष्ठ नेताहरूले पनि उनको धारणा, विचार र अभिव्यक्तिको लगातार आलोचना गरेका थिए। कतिपय नेताहरूले त उनलाई भोट दिन नसक्नेसमेत सार्वजनिक घोषणा गरेका थिए।

ट्रम्पको विजय कुनै प्रत्यक्ष निर्वाचन प्रणालीबाट भएको पनि होइन। उनले राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन पार्टीको उम्मेदवारीमा चयन हुनका लागि पनि उक्त पार्टीका थुप्रै चरणको प्राइमरीमा जेब बुस, टेड क्रुजलगायत अन्य थुप्रै राजनीतिक धुरन्धर आकांक्षीलाई पछाडि पारेका थिए। यस अर्थमा उनी निश्चित रूपमा एउटा जिम्मेवार ऐतिहासिक राजनीतिक दल रिपब्लिकन पार्टीकै उम्मेदवारी बनेका हुन्।

२० वर्षसम्म आफ्नो विशाल व्यवसायका बाबजुद देशलाई कर तिरेको प्रष्ट नभएको, राजनीतिक रूपमा लज्जास्पद अभिव्यक्तिहरू, महिलामाथि गरिएका थुप्रै यौन दुब्र्यवहार घटनाका खुलासा, देशकै सुरक्षा निकायहरूमाथि अविश्वास, अमेरिकाको सम्पूर्ण वैदेशिक नीतिका आधारहरूमाथि सतही प्रहार, अमेरिकाकै मित्र तथा सुभचिन्तक राष्ट्रहरूसँगको सम्बन्धलाई लिएर अनर्गल तर्कलगायत एउटा पृथक चरित्रका रूपमा उभिएका थिए ट्रम्प। सबैभन्दा ठूलो घटना भनेको रिपब्लिकन पार्टीले नै उनलाई आफ्नो पार्टीको आधिकारिक राष्ट्रपतीय उम्मेदवार हुनबाट रोक्न सकेन र त्यसपछि पनि चुनावमा जनताको प्रत्यक्ष मतदानले उनलाई राष्ट्रपति बन्न आवश्यक इलेक्टोरल कलेजको बहुमत हासिल गर्न रोक्न सकेन।

मुस्लिमहरूलाई अमेरिका प्रवेशमा निषेध गर्ने, अमेरिकामा रहेका मस्जिदहरूमाथि ताला लगाउने, मेक्सिकोसँगको सीमामा विशाल पर्खाल निर्माण गर्ने, अमेरिकी अश्वेत नागरिकहरूको जीवनशैलीलाई होच्याउने खालका टिप्पणी, आप्रवासीहरूमाथि अमेरिका प्रवेश निषेध गर्ने जस्ता उत्तेजना फैलाउने बयान तथा ट्विटमार्फत आफूलाई एक मात्र राष्ट्रवादी नेताका रूपमा उभ्याउन ट्रम्प सफल भए।
माघ ७ मा राष्ट्रपतिको सपथमा उनले आफ्ना ती कुराहरू सबै नदोहोर्याए पनि विश्वबाट इस्लामिक कट्टरपन्थी निर्मूल पार्ने तथा मेक्सिको सीमामा विशाल पर्खाल निर्माण गर्ने कुरामा जोड दिएका थिए।
राष्ट्रपति ट्रम्पका विवादास्पद मुद्दाहरू

रुससँगको साँठगाँठ
ट्रम्प राष्ट्रपतिमा आएदेखि अहिलेसम्म पनि राष्ट्रपति चुनाव प्रचार अभियानका क्रममा आफ्नो पक्षमा फाइदाका लागि रुससँग साँठगाँठ गरेको मुद्दा अहम बनिरहेको छ। रुसलाई प्रत्यासी क्लिन्टन र उनको डेमोक्र्याटिक पार्टीका संस्थाहरूको इमेल ह्याक गर्न र चुनावी नतिजालाई प्रभावित पार्ने सामाग्री प्रसारण गराउन प्रोत्साहन गरेको आरोपमा ट्रम्प विरुद्ध छानबिन भइरहेको छ। यसै मुद्दालाई लिएर उनले नियुक्त गरेका प्रमुख सुरक्षा सल्लाहकार माइकल फ्निले केही दिनमै एनएसएको उक्त पदबाट राजिनामा दिनुपर्यो। चुनावमा रुससँगको साँठगाँठलाई लिएर छानबिनका लागि गठन गरिएको कंग्रेसको एउटा समितिले फ्लिनलाई बयानका लागि उभ्याइसकेको छ।

मुश्लिम बहुल राष्ट्र विरुद्ध यात्रा प्रतिबन्ध
राष्ट्रपति पदको सपथ लिएको एक हप्ता नबित्दै ट्रम्पले इराक, सोमालिया, लिबिया, सुडान, इरान, सिरिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा निषेध गरेको र शरणार्थीलाई १ सय २० दिनसम्म प्रवेश निषेध गरेको कार्यकारी आदेश जारी गरेका थिए। उनको यो आदेश आएपछि अमेरिकालगायत अमेरिका यात्राका लागि विभिन्न मुलुकका विमानस्थलमा पुगेका ती देशका यात्रीहरू अलपत्र परेका थिए। उक्त आदेश विरुद्ध अमेरिकालगायत सबैतिर ब्यापक विरोध भयो। अन्ततः उक्त यात्रा प्रतिबन्ध विरुद्ध परेको उजुरीमा सियाटलको एउटा संघिय अदालतले रोक लगाइदियो।

अदालतको उक्त रोकप्रति कडा र विवादास्पद अभिव्यक्तिसमेत दिन भ्याएका ट्रम्पले गत मार्च ६ मा केही संशोधनसहित पुन एकपटक मुश्लिम बहुल नागरिकलाई अमेरिका यात्रामाथि प्रतिबन्ध लगाएको कार्यकारी आदेश जारी गरेका थिए। यसपटकको आदेशमा इराकलाई सूचीबाट हटाइ अन्य बाँकी ६ मुलुकलाई मात्र समावेस गरिएको थियो। उनको यो आदेशलाई पनि हवाई राज्यका संघीय न्यायाधीषले अनिश्चितकालसम्मका लागि रोक लगाइदिएका छन्।

मेक्सिको सीमामा विशाल पर्खाल निर्माण
राष्ट्रपति भए लगत्तै अर्को दिन नै ट्रम्पले मेक्सिकोको सीमानामा विशाल पर्खाल निर्माणका लागि पहल गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। ट्रम्पले उक्त पर्खाल निर्माणका लागि आवश्यक खर्च मेक्सिकोलाई नै बेहोर्न लगाउने बयान दिएपछि मेक्सिकोसँगको सम्बन्ध चिसिएको थियो। यस विषयलाई लिएर ट्रम्प र मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोबीच टिक्काटिप्पणी पनि भएको थियो।

ट्रान्स प्यासेफिक पार्टनरसिपबाट फिर्ता

राष्ट्रपति बनेको दोस्रो दिनमै ट्रम्पले केही अमेरिकी उद्यमीहरूसँगको छलफलपछि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूसँगको ब्यापारिक साझेदारीसम्बन्धी सन्धी ट्रान्स प्यासेफिक पार्टनरसिपलाई औपचारिक तवरमै अन्त्य गर्ने कार्यकारी आदेश दिए। टीपीपी पूर्वराष्ट्रपति बाराक ओबामाको विशेष पहलमा एसियामा चीनको अर्थतन्त्र र सैन्य महत्वाकांक्षालाई चुनौति दिन हस्ताक्षर भएको सन्धिका रूपमा लिइन्थ्यो। तर उक्त सन्धिले अमेरिकी कंग्रेसबाट भने अनुमोदन पाइसकेको थिएन।

एक चीन नीतिमाथि चुनौति
राष्ट्रपतिमा निर्वाचित भए लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को सनसनीपूर्ण निर्णय गर्ने क्रमसँगै अमेरिकाले लामो समयदेखि चीनको सार्वभौमिकतालाई लिएर अवलम्बन गर्दै आइरहेको नीतिमा पनि नयाँ घोषणा गरे। उनले चीन र ताइवानको सम्बन्धलाई लिएर एक चीन नीतिलाई चुनौति दिए। उनले ताइवानका राष्ट्रपतिसँग पहिलोपटक टेलिफोन वार्ता पनि गरे। उनले ताइवानलाई लिएर एक चीन नीतिमा पुनरावलोकन हुने बताए। ताइवानसँग अलग्गै सम्बन्ध राख्ने उनको चाहनालाई बेइजिङले कडा आपत्ति जनायो। पछिल्ला दिनहरूमा ट्रम्पले आफू एक चीन नीतिलाई सम्मान गर्ने पक्षमा रहेको बताएका छन्।

जलवायु परिवर्तन नीति खारेज
पूर्वराष्ट्रपति ओबामाका नीति खारेज गर्ने दौडमा रहेका राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई लिएर पेरिस सम्झौताबाट अमेरिका फिर्ता भएको घोषणा गरे। यसले अमेरिकामा कोइलाको प्रयोगमा लाग्न सक्ने रोक तथा इन्धनका रूपमा जीवाश्मको सीमित प्रयोगको सम्भावनाको अन्त्य भएको छ। केही राज्य तथा औद्योगिक संस्थाहरू ट्रम्पको यस निर्णयप्रति खुसी देखिएका भए पनि वातावरण अभियन्ताहरू रुष्ट भएका छन्।

LEAVE A REPLY