धेरै चर्चा थोरै सफलता



विदुर गिरी
वर्ष २०७३ नेपाली फिल्म क्षेत्रका लागि धेरै चर्चा र थोरै मात्र सफलताको वर्ष सावित भएको छ। वर्षभरिमा ७ दर्जन फिल्म रिलिजमा आए। तर अत्यधिक सफलता भने एक दर्जन जति फिल्मले मात्र पाए। धेरैजसो फिल्म असफलताको अनुहार हेर्न बाध्य भए भने केही फिल्मले मात्र सफलताको स्वाद चाख्न पायो।

डिजिटल प्रविधि र फिल्म प्रदर्शनको क्षेत्रमा सर्भर प्रयोगका कारण एकसाथ एकै साता देशभरिका हलमा फिल्म रिलिज हुन सम्भव भए पनि कमजोर स्तर र पकडका कारण धेरैजसो फिल्म असफल सावित भए। रिलिजको हिसाबले वर्ष २०७३ मा ०७२ भन्दा बढी फिल्म बजारमा देखिए। वर्ष ०७२ मा नेपालीमा डब गरेर रिलिज गरिएका भोजपुरी र नेपाली भाषामै बनेका गरी ४ फिल्म बजारमा आएका थिए भने यस वर्ष कुल ८९ फिल्म बजारमा देखिए। त्यसअघि वर्ष ०७१ मा ९७ फिल्म रिलिज भएका थिए। वर्ष ०७२ मा १४ फिल्मले व्यापार गरेको देखियो। यस वर्षको व्यापारिक परिणाम पनि त्यस्तै देखिएको छ।

यस वर्षको मध्यतिर बजारमा आएको छक्का पञ्जा व्यापापरिक परिणामका दृष्टिकोणले वर्षभरिकै सर्वाधिक फिल्म सावित भयो। हास्य अभिनेत्री तथा डेब्यु फिल्म निर्देशक दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म देशभरिका हलमा लामो समयसम्म छाउन मात्र सफल भएन, १६ करोड ग्रस कलेक्सन (कुल कमाइ) गर्न सफल भयो भने निर्मातालाई २४ प्रतिशत शेयरबापत ४ करोड रुपियाँ दिलायो।

देशका मुख्य फिल्मी बजार र राजधानीका मुख्य मुख्य स्कुल र कलेजमा पुगेर गरिएको आक्रमक प्रचारप्रसार, फिल्ममा संलग्न हास्य कलाकारहरू तथा अझ विशेष गरी दीपाश्री निरौलाले निर्देशन गरेकै कारण उनका क्रेजी फ्यानका कारण छक्का पञ्जा बजारमा आएपछि लामो समयसम्म अन्य नेपाली फिल्म त के विदेशी फिल्म पनि हलमा टिक्न सकेनन्। छक्का पञ्जाप्रतिको दर्शक क्रेजकै कारण राम्रा र आशा गरिएका फिल्मले पनि बजारमा दर्शक पाउन सकेन। बरु वर्षौंसम्म हलमा गएर नेपाली फिल्म नहेरेकाहरूले पनि यसलाई दोहोर्याई तेहेर्याई हेरेर राम्रो मुनाफा गराइदिए।

सिक्वेलको बाढी

यो वर्ष नेपाली फिल्मको क्षेत्रमा सिक्वेल फिल्मको एक किसिमले बाढी नै देखियो। पहिले हिट भएकादेखि लिएर केही चलेका फिल्मलाई दोस्रो संस्करणका रूपमा निर्माण गरिएको देखियो। तर यस्ता फिल्म नामका आधारमा मात्र सिक्वेलका रूपमा देखिए। पछिल्लो समयमा बलिउडमा देखिएको नामका आधारमा सिक्वेल फिल्म बनाउने प्रचलनलाई नेपाली फिल्म क्षेत्रले पनि पछ्याएको देखियो।तर सबै सिक्वेलले काम गरेन। अघिल्ला फिल्मभन्दा फरक विषय र कथावस्तुले नामका आधारमा बनेका धेरैजसो सिक्वेललाई दर्शकले रुचाएनन्। विकास आचार्यले नामलाई आधार बनाएर बनाएको नाइँ नभन्नु ल ४ ले यस वर्ष पनि सुपर हिटको व्यापार गर्न सफल भयो। त्यसको ठीक विपरीत बाटोमुनिको फूल २ फिल्मी बजारमा टिक्न सकेन। दीपेन्द्र के खनाल निर्देशित पहिलो संस्करणको चपली हाइटले दर्शक पाए पनि चपली हाइट २ मा त्यस्तो परिणाम देखिएन, किस्मत २ भने चम्किन पुग्यो। लुटबाट ट्रेन्ड सेटर सावित भएका निश्चल बस्नेतले लुट २ बाट आफूलाई त्यस प्रकारले प्रस्तुत गर्न सकेनन्, तर फिल्मले कमाउने काम भने गर्यो। दर्पण छायाको अपार सफलतापछि जोसिएर त्यही नाममा दर्पण छाया २ बनाएका तुलसी घिमिरेले पहिलेको रेकर्ड बनाउन सकेनन्।

 

यसबाट नेपाल सानै देश सही, राम्रो फिल्म भए नेपाली फिल्मको बजार पनि ठूलो छ भन्ने पुष्टि गरिदियो। नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित र निर्मित अन्तिम फिल्म कोहीनुर फिल्म चलिरहेकै अवस्थामा उनको निधन भएकै कारणले मात्र चलेको थिएन, फिल्ममा दम भए नेपाली फिल्मी बजारको आकार पनि राम्रै रहेछ भन्ने समेत छक्का पञ्जाले पुनः पुष्टि गरिदियो। यो फिल्मले लामो समयपछि राजधानीका विभिन्न हलमा प्रदर्शनको सय दिन पनि मनाउन सफल भयो। छक्का पञ्जाको नेपाली रिलिज लगभग पूरा भइसकेको तथा ओभरसिज बिजनेस चलिरहेको बेला यो फिल्मको पाइरेसी हुन पुग्यो। यसको पाइेरीका आरोपित कृष्ण सुवेदीले आत्महत्या गर्नु दुःखद पक्ष बन्न पुग्यो।

छक्का पञ्जाअघि ०७३ साललाई बजार बनाएको विकास आचार्यकृत फिल्म नाइँ नभन्नु ल ४ पनि सुपरहिट भयो। अलग विषय र धारमा बनेको कालो पोथी के चल्ला र भनेर त्यसलाई हेपिए पनि त्यसले चर्चा मात्र पाएन, मल्टिप्लेक्स हलहरूबाट रिलिजमा ल्याइएको फिल्मले कमाइ पनि राम्रो गर्यो। सवीर श्रेष्ठ निर्देशित रेखा थापाको राम प्यारीले दर्शकको प्यार पायो, हाउ फन्नीले मोफसलका दर्शकलाई फन दिलाउन नसके पनि राजधानीबासीलाई खुसी पार्यो। हेमराज बीसीको गाजलुको गाजललाई दर्शकले स्वीकारे, श्रीराम दाहालको लुकामारी राधानीका हलमा मन पराइए, ऋषि लामिछानेको किस्मत २ बाट निर्माता छविको किस्मत फेरि बलियो सावित भयो फिल्म हिट भयो। डेब्यु निर्देशक प्रदीप भट्टराईले आफ्नो पहिलो फिल्म जात्राबाटै आफूलाई अब्बल सावित गर्न सफल भए भने रामबाबु गुरुङको पुरानो डुंगाले नयाँ रेकर्ड बनाउन सकेन, फिल्मले इनिसेल हान्न भने सफल भयो। निश्चल बस्नेतले लुटबाट जस्तो हंगामा त मचाउन सकेनन्, तर फिल्म हिट भयो।

आकाश अधिकारीको के म तिम्रो होइन र, लामो समयपछि विराज भट्टले रिब्रेक लिएको रोज राणाको फिल्म जय परशुराम, मिलन च्याम्सको वीर विक्रम, राजु अधिकारीको सुब्बा साब, प्रचण्डमान श्रेष्ठको लभ सासा, सवीर श्रेष्ठको किङ र मुकुन्द भट्टको लप्पन छप्पनले एभरेजको व्यापार गरे। रोज राणाको डेब्यु निर्देशनको जय परशुरामले कमाइ गरे पनि लगानी धेरै भएका कारण मुनाफा भने कमाउन सकेन।

जसरी कमाइ गर्न र धेरै मुनाफा गर्न सफल फिल्मको सूची लामो छ, त्यसै गरी फ्ल्प फिल्मको सूची त्यति नै लामो छ। सुवर्ण थापाको बाटोमुनिको फूल, उत्कल थापाको जंगे, रनजित राना मगरको बाजिगर र प्रतिविम्ब, दिनेश पौडेलको आवारा र कम्पन, दीपक ओलीको रोल्पा रोग, ऋषिराज आचार्यको सुन्तलीलाई भगाई लग्यो झिल्केले, वसन्त जीएमको उहिले बाजेको पालामा, माधवराज खरेलको बिरानो माया रिलिज हुनुमा मात्र सीमित हुन पुग्यो, कमाइ गर्न सकेन।

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने बुझाउन बनाइएको ज्ञानेन्द्र देउजा निर्देशित बुद्ध बर्न इन नेपाल हलमा खासै टिक्न सकेन भने निरक पौडेलको होमवर्क, रमेश बोगटीको किन गरें माया, राजु अर्यालको एक्सन, उत्सव थपलियाको बेस्ट फ्रेन्ज फरेभर, सुरेश थापाको छेस्को, राजु अर्यालको एक्सन, दीपेन्द्र दाहालको रिलेसन, बाबुराम दाहालको तीन घुम्ती, ऋषि न्यौपानेको लाले, क्रान्ति केसीको सूर्य द पावर, राजु शाहको नमस्ते नेपाल, पोर्न स्टार बन्ने चाहना देखाएकी अर्चना पनेरूलाई प्रस्तुत गरिएको राजु गिरीको जिस्म, श्रीराम महतको म त तिम्रै हुँ, वेदप्रसाद भुर्तेलको संजोग, रिम विश्वकर्माको रेलिमाई, राज शाक्य एक पल, दीपेन्द्र के खनाल चपली हाइट २, दिनेश श्रेष्ठको शकुन्तला, निर्मल शर्माको ब्रासलेट, लक्ष्मण सुवेदीको लालजोडी, राजबहादुर सानेको वृन्दावनले पनि दर्शकको मन जित्न सकेन। त्यसै गरी सुरज भुसालको गाँठो, बीएस बलामीको ड्राइभ दाइ, पुष्कर घिमिरेको सत्यदीप, अपिल विष्टको झुम्की, आशीष श्रेष्ठको सफर, जनक खड्काको २१ वर्ष, भोजपुरी फिल्मको नेपाली डब भर्सन धनवान, योगेश घिमिरेको राधा, शिव शर्माको परदेशीको उमंग, हिकमत विष्टको द विनर, आशीष भेटवालको जंगबहादुरको कोट, समिर बलामीको द फेमस, जिसी दीप सागरको पुरानो पुस्ता, मनोज पण्डितको छाया, सरोज पौडेलको मेन्टल, नवीन अवालको बिजुली मान्छे, लक्षु गौतमको तँ म र ऊले पनि दर्शकको चित्त बुझाउन सकेन भने दीपक रौनियारको ह्वाइट सनले चर्चा पाए पनि दर्शक पाउन सकेन। रविन श्रेष्ठको पार्सल, निरञ्जन मेहेता ‘मञ्जित’ को तिमीविना मलाई जिउनु छैन, वसन्त निरौलाको समर्पण, बिकु थोकरको चक्र, प्रेम लामाको यु टर्न, रवीन्द्र शाहीको भ्रम, सन्तोष शिवाकोटीको शब्द, समिर मियाको भाग्य आ–आफ्नै, लखमान योञ्जन तामाङको मंगोलियन हर्ट, हरि पराजुली परिणाम, भाइराम श्रेष्ठको थ्री मंकिज, जनक खकुरेलको रामजाने, राजु अधिकारीको लेक साइड, नरेशकुमार केसीको डाइङ क्यान्डल, देव नेपाल मेरो देश, बीएस बलामीको काल, भेट्रान निर्देशक तुलसी घिमिरेको दर्पण छाया २, अरुणकुमार प्रधानको यो साइनो मायाको, मधुसूदन भट्टराईको निर्भय, सुवास कोइरालाको पलास, रूपेश थिङको अपरिचित र सुमन खड्काको धर्मयुद्धले पनि दर्शकलाई खुसी बनाउन सकेन।

प्रतिक्रिया दिनुहोस्