सामाजिक साखको जगेर्नाले व्यापारमा अभिवृद्धि



प्रदीप उप्रेती

नेपाललगायत विश्वको जुनसुकै मुलुकका व्यावसायिक क्षेत्रमा लाग्ने समूहहरुले सधैँ आपसी विश्वासको आधारमा दैनिक करोडौंको व्यापारिक कार्यहरु गर्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएका हुन्छन्। यस क्षेत्रसँग सरोकार राख्ने औद्योगिक प्रतिष्ठान होस् वा प्रभुत्व व्यक्तित्वहरु नै किन नहुन्, किञ्चितरुपमा विश्वनीयता तथा इमानदारितामा चुके भने त्यहाँ विश्वासघातको जन्म हुन जान्छ। परिणामस्वरुप आर्थिक अपराध, बेइमानीजस्ता गलत तत्वहरुले प्रश्रय पाई व्यावसायिक गतिविधिहरु नै धरापमा पर्न जाने प्रबल सम्भावना रहन्छ।

न्यून मुनाफाका साथै उपभोक्ताको हितलाई वास्तवमा मनन गर्ने हो भने त्यही न्यून मुनाफाबाट पनि अत्यधिक व्यावसायिक लाभ लिन नसकिने पनि होइन। थोरै नाफामुखी तर गुणस्तरीय उत्पादन गरी व्यवसायलाई यदि संख्यात्मकरुपमा अत्यधिक विस्तार गर्ने हो भने त्यस्ता व्यवसायले निश्चितरुपमा सामाजिक साखको जर्गेना गर्दै अत्यधिक मुनाफा हासिल गर्न सक्ने कुरालाई नकार्न सकिँदैन। क्षणिक मुनाफाको लागि व्यापार व्यवसायप्रति नै विश्वासघात गरी ग्राहकवर्गलाई धराशयी बनाउने कुत्सित मनसायले गरिएको व्यवसायले अन्ततः हालसम्म प्राप्त गरेको ख्यातिमा ह्रास आई कानुनी कठघरामा उभिन पुग्ने परिस्थिति नआउला भन्न सकिँदैन।

यसका गतिविधिहरु दिनहुँ बढ्दै गएको खण्डमा निश्चय पनि व्यापारिक प्रतिष्ठानहरुको भविष्य पनि जोखिमले भरिपूर्ण हुन्छ। तसर्थ व्यावसायिक, सामाजिक साखको जगेर्ना गर्ने हो भने पक्कै पनि सम्पूर्ण व्यवसायमा लाग्ने व्यक्तित्वहरुले आफ्नो व्यावसायिक नैतिकतामा अडिग रहनै पर्ने देखिन्छ। व्यावसायिक नैतिकतासँगसँगै लेनदेनमा चुस्तता छाउन सकिएको खण्डमा यसले व्यापार विविधीकरण गर्न महत्वपूर्ण भूमिका पनि खेल्नेछ। आज व्यापारिक क्षेत्रमा देखिएको चरम अविश्वसनीयता तथा नैतिकताको अभावकै कारण दिनहुँजसो चेक तथा व्यापारिक लेनदेनका मुद्दाहरुको चाप हाम्रा अदालतहरुमा बढ्दै जानुको प्रमुख कारक तत्वका रुपमा व्यावसायिक क्षमता हासिल गरेका बौद्धिक जमातहरुले समेत आफ्नो व्यावसायिक धर्म तथा सामाजिक साखको वचश्र्व कायम राख्न नसकेको प्रतिफल हुन् भन्न सकिन्छ।

विभिन्न व्यापारिक प्रतिष्ठानद्वारा जारी गरिएको बैंकिङ चेकहरु सम्बन्धित बैंक वा वित्तीय संघसंस्थाहरुबाट अनादर हुनु भनेको व्यापारिक साख वा नैतिकताको कमीको साथै बेइमानीको संज्ञा पनि दिन सकिन्छ। विभिन्न बैक तथा वित्तीय संस्थाहरु र व्यक्ति, कम्पनीहरुका बीचमा लेनदेनसम्बन्धी रकम उठाउनका लागि ऋण असुली न्यायाधिकरणका सूचनाहरु हाम्रा छापाहरुमा अक्सर सम्प्रेषण भएको पाइन्छ। यस्ता सूचनाहरुले व्यवसायमा सामेल रहने वर्गहरुलाई दैनिकरुपमा केही हदसम्म भए पनि आफ्ना व्यापारिक साझेदारीहरुलाई बेइमानी गर्नुहुन्न भन्ने सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ।

कुनै पनि अब्बल दर्जामा रहेका औद्योगिक प्रतिष्ठानहरुले यस्ता गैह्रकानुनी कार्यबाट आफूलाई टाढा राख्नुपर्ने देखिन्छ। यदि यस्ता अवाञ्छित गतिविधिका कारण व्यवसायमा विचलन आए जनविश्वास गुम्न जाने प्रबल सम्भावना रहन्छ। जनविश्वास गुम्नु भनेको व्यापारमा घाटा लाग्नुसरह नै हो।

व्यावसायिक साखको रक्षाको लागि विश्वका जुनसुकै मुलुकमा पनि नवप्रवद्र्धनमा जोड दिएको पाइन्छ। किनकि आजको प्रतिस्पर्धी युगमा उपभोक्ताको चाहना अनुकूलका वस्तुको उत्पादनमा जोड दिन सकेको खण्डमा व्यवसायमा अभिवृद्धि निश्चित हुनेछ। व्यापारिक क्षेत्रको विकासको लागि सामाजिक साखको जगेर्ना गर्नुको साथै उत्पादित वस्तुहरुको लागतमा समेत यथोचित नियन्त्रण गर्न सके व्यापारमा स्वतः अभिवृद्धीकरण हुने निश्चित छ। व्यापारिक ब्रान्डको संरक्षण व्यापार अभिवृद्धीकरणको मेरुदण्ड हो भन्न सकिन्छ। तसर्थ अर्काको ब्रान्डको अनधिकृतरुपमा प्रयोग गर्नु भनेको ब्रान्ड दुरुपयोग गर्नु नै हो। यस्ता ब्रान्डको गैह्रकानुनी रुपमा प्रयोग गर्ने कार्यहरुले एकातिर व्यवसायी वर्गको प्रतिष्ठामा आँच आउनुको साथै व्यापार घाटासमेत ऋणात्मक तवरमा अगाडि बढ्नेछ। तसर्थ ब्रान्डको उपयोगितालाई नजरअन्दाज गर्दै व्यापारिक प्रतिष्ठानले आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजानु भनेको एकातिर कानुनी दण्डको भागिदार बन्नु हो भने अर्कोतर्फ ख्यातिप्राप्त औद्योगिक प्रतिष्ठानहरुले आफ्नो व्यावसायिक साखमा ह्रास पुर्याउनु नै हो।

तसर्थ ख्यातिप्राप्त औद्योगिक प्रतिष्ठानहरुले आफ्नो ब्रान्ड तथा सामानहरुको गुणस्तरमा कहिल्यै कसैसँग कुनै प्रकारको सम्झौता गर्दैनन्। यो नै वास्तवमा व्यवसायप्रतिको बफादारी हो भन्न सकिन्छ। यसका अतिरिक्त वस्तुहरु उत्पादनको प्रयोजनको सन्दर्भमा लाग्ने अनावश्यक लागत खर्चहरुमा कटौती गरी मितव्ययी हुन भन्नु नै वास्तविकरुपमा लागत नियन्त्रणमा वृद्धि गर्नु हो। लागत नियन्त्रणमा विषेश हेक्का राख्नेबित्तिकै नाफामा स्वतः वृद्धि भई औद्योगिक क्षेत्रले फष्टाउने मौका पाउँछन्। यस्तै बहुसंख्यक जनसमुदायमा विश्वसनीयता हासिल गर्न सकिएको खण्डमा निरन्तररुपमा उक्त औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुहरुको लोकप्रियतामा वृद्धि भई अधिकाधिक मात्रामा प्रयोग हुनुको साथै व्यापारमा समेत वृद्धि हुन जाने तथ्यलाई नकार्न सकिँदैन। अतः यस्ता विषयहरु व्यवसाय विस्तार गर्न चाहनेहरुका लागि हेर्दा सामान्यझैँ लाग्ने भए तापनि कहीँ–कतैबाट कुनै पनि प्रकारको कमी–कमजोरी उत्पन्न भई जनविश्वास गुमेको खण्डमा पक्कै पनि हिजो समाजमा कायम रहेको औद्योगिक छविका अतिरिक्त सम्पूर्ण व्यवसाय नै धर्मसंकटमा पर्न जाने प्रबल सम्भावना हुन्छ। यसैले व्यवसायमा सामाजिक साखको जगेर्ना गर्नु अत्यावश्यक भइसकेको छ। किनकि अबको मुलुकको आर्थिक विकासको मेरुदण्ड भनेको औद्योगिक क्षेत्रको समृद्धि नै हो भन्ने कुरा हामी कसैले पनि बिर्सनुहुँदैन।

प्रतिक्रिया दिनुहोस्