औद्योगिक व्यापारमेला हुँदै



काठमाडौं, (नेस)
१३औं अन्तर्राष्ट्रिय व्यापारमेला तथा नवीनतम् प्रविधि प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा आउँदो वैशाख ७ गते हुने भएको छ। घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त आयोजनामा सो मेला हुन लागिएको हो। मेला पाँच दिनसम्म चल्ने छ। लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रतिस्थापन, उद्योगको संस्थागत विकास, पुँजीको पहुँच र क्षमता विकासका लागि पहल र प्रयत्न गर्नुपर्ने भन्दै महासंघले मेला आयोजना गर्न लागिएको हो। मेलामा २ सय ३६ वटा स्टल रहनेछन्। नवीन प्रविधि सामग्रीका ६० वटा स्टल, महिला उद्यमशीलताका ३५ वटा स्टल, वन तथा कृषि सहज कार्यक्रमका १० वटा स्टल र बाँकी स्टलहरुमा औद्योगिक उत्पादन र खाद्यान्नका स्टलहरू रहने छन्।

प्रदर्शनीमा १ लाखभन्दा बढीले अवलोकन गर्ने र करिब ६ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ। मेलाका अवसरमा रोजगारदाता र बेरोजगारबीच सूचना पुलको काम गर्ने उद्धेश्यले रोजगार मेला पनि आयोजना गरिँदै छ। महासंघले अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ) र श्रम विभाग रोजगार सूचना केन्द्रको सहकार्यमा सो रोजगार मेला आयोजना गर्न लागिएको हो।

लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकेको अवस्थालाई कम गर्न मेलाले ठूलो सहयोग पुर्याउने आयोजकको विश्वास रहेको छ। मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका वस्तुको प्रदर्शनी र व्यापार पनि गरिने छ। यसका अलावा चीन, भारत, पाकिस्तान र बंगालादेशलगायतका औद्योगिक उत्पादनहरु समेत राखिनेछ।

प्रतिक्रिया दिनुहोस्