आगलागीबाट ५९ घरगोठ नष्ट



सीताराम चौधरी, चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका–१०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा परिणत भएको छ। आगलागीबाट स्थानीय ५५ वर्षे सीताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन्।

स्थानीय मन्नान मियाको घरबाट आगलागी भएको हो। खाना पकाएर आगो ननिभाएकाले अत्यधिक जोरले चलेको हावाहुरीले खरको झुपडीमा आगो सकिएको स्थानीयले बताएका छन्। मन्नान मियाको घर पूर्वपश्चिम बाटोको दक्षिणी टोलको पूर्वपटि पर्छ। पूर्वबाट पश्चिमतर्फ चलेको हावाहुरीले बाटोको दक्षिणपटि मन्नान मियाको घरको पश्चिमतर्फको सम्पूर्ण घर जलेर नष्ट भएको छ।
आगलागीबाट भर्खरै भित्त्याएको अन्नबाली गहुँ, मसुरो, अरहर तथा धान, चामल जस्ता खाद्यान्न सम्पूर्ण जलेर खरानी भएको छ। यस्तै लत्ताकपडा, भाँडाकुँडा, काठपात, रुपियाँ पैसा, गर–गहनासमेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो।

आगलागीबाट बसिर मियाको १३ गोटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ गोटा बाख्रा जलेर मरेको भट्टराईले बताउनुभयो।
तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगन्जको सशस्त्र टोली, स्थानीय बासिन्दालगायतको सक्रियतामा आगो साँझ ३ बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो।
आगलागी भएको एक घण्टापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहसमेतको टोलीले स्थलगत अनुगमन, निरीक्षण गरेका थिए। आगो नियन्त्रणसँगै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैवी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभयो।

प्रजिअ ढकालले पीडित सम्पूर्ण घर–परिवारलाई बिहीबारसम्म जनही १० हजारका दरले रकम वितरण गरिने बताउनुभयो। सोही क्रममा प्रजिअ ढकालले जिल्ला दैवी प्रकोप राहत समितिको बैठक बसी अन्य सामग्रीका लागि तत्काल पहल गरिनेसमेत पीडित परिवारलाई आश्वासन दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्