घरबास सखाप भएर खुल्ला आकाशमुनी बास



?

५९ घरगोट नष्ट, २२ बाख्रा जले, एक जना घाइते
सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानी भएको छ । आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन् ।

स्थानीय मन्नान मियाको घरबाट आगलागी भएको हो । खाना पकाएर आगो ननिभाएकाले अत्यधिक जोरले चलेको हावाहुरीले खरको झुपडीमा आगो सकिएको स्थानीयले बताएका छन् । मन्नान मियाको घर पूर्वपश्चिम बाटोको दक्षिणी टोलको पूर्वपट्टि पर्छ । पूर्वबाट पश्चिमतर्फ चलेको हावाहुरीले बाटोको दक्षिणपट्टि मन्नान मियाको घरको पश्चिमतर्फको सम्पूर्ण घर जलेर नष्ट भएको छ ।

आगलागीबाट भर्खरै भित्र्याएको अन्नबाली गहुँ, मसुरो, अरहर तथा धान, चामल जस्ता खाद्यान्न सम्पूर्ण जलेर खरानी भएको छ । यस्तै लत्ताकपडा, भाँडाकुँडा, काठपात, रुपैयाँपैसा, गरगहना समेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगलागीबाट बसिर मियाको १३ गोटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ गोटा बाख्रा जलेर मरेको भट्टराईले बताउनुभयो ।

तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडाप्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगञ्जको सशस्त्र टोली, स्थानीय बासिन्दा लगायतको सक्रियतामा आगो साँझ ३ बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्