बन कार्यालयमा अख्तियारको छापा



झापा (ने.स) ।

झापाको भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।
सामुदायिक वन उपभोक्ता समितिले वन नियमविपरित सखुवाको गोलिया काठलाई दाउरा भन्दै बेचबिखन गरेको विभिन्न समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले छापा मारेको हो ।

जिल्ला वन कार्यालय झापाका कर्मचारीको सहयोगमा अख्यितारका शाखाका अधिकृत गणेश अधिकारी सहितको टोलीले समितिको कार्यालयमा छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

टोलीले कार्यालयको स्थलगत अनुगमन गर्दै बेचविखन गरेको विलभौचर, आर्थिक प्रतिवेदन, माइन्युट लगायतको आवश्यक कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको शाखा अधिकृत निलकण्ठ विकले बताए ।

घटनाको स्थलगत अध्ययन गर्दा अन्य जिल्ला भन्दा फरक गतिविधि सामुदायिक बनमा हुने गरेको भेटिएको शाखा अधिकृत अधिकारीले बताए । उनका अनुसार वन ऐन विपरीत सामुदायिक वनले काठलाई दाउरा भन्दै दिने गरेको चलन रहेकोमा आश्चर्य व्यक्त गरे । समितिले दिएका शेखर काष्ठ मिल र खड्का काष्ठ मिलमा रहेको गोलिया काठको अनुगमन गरेको छ ।

मिलमा रहेको सखुवा जातको गोलिया काठको नापन गरी मुचुल्का समेत उठाएको छ । समितिका अध्यक्ष र सचिवसहित केही पदाधिकारीले उपभोक्तालाई थाहापत्तो नदिई घाट गद्दी खाली गर्ने बाहनामा दाउरा भन्दै गोलिया काठ प्रति चटटा २५ हजारको दरले १४ जना स्थानीय व्यापारीलाई बेचेका थिए ।

वन ऐन २०४९ अनुसार १८ देखि २२ इन्च गोलाई र २ फिट लम्बाई भएको काठलाई दाउरा भनेर बेच्ने कानुनी प्रावधान छ । तर, समितिले दाउरा भन्दै बचेको काठको लम्बाई ५ देखि ९ फिट सम्मको फेला परेको छ ।

जिल्ला वन कार्यालय झापाले पनि घटनाको छानविनका लागि समिति गठन गरिसकेको छ । सेक्टर वन कार्यालय जलथलका प्रमुख कमलदेव चौधरी र निचाझोडा रेञ्जर पोष्टका राजन राई रहेको छानविन समितिले पनि समितिको आवश्यक कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरिसकेको छ ।

मिलमा भेटिएका दाउरा भन्ने गोलिया काठ यथास्थितमा राख्न मिल सञ्चालकलाई मौखिक आदेश दिइसकेको वन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्