धारिलो हतियार प्रहार गरी हत्या



सीताराम चौधरी,कपिलवस्तु ।

कपिलवस्तुमा ५५ वर्षीया एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । फेला परेको शव जिल्लाको विजयनगर गाउँपालिका ५, देवीपुर निवासी ५५ वर्षे ओम बहादुर गोतामे रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

देवीपुरको मुख्य चोकको भठ्ठी पसल अगाडिको चौरमा गोतामेको मंगलबार विहान मृत अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक घर्तीमगरले बताउनुभयो ।

गोतामेले रक्सी सेवन गरी चौरमा सुतिरहेको अवस्थामा हाते बन्चरो प्रहार गरी हत्या गरिएको प्रहरीको आशंका छ ।

दाहिने आँखा–मुखमा पर्ने गरी धारिलो हतियार प्रहार गरिएको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगले हत्या गरिएको देखिन्छ ।

शवलाई मंगलबार नै शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक घर्तीमगरले जनाउनुभयो ।

हत्याको आशंकामा एकजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको तीब्र खोजअनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक घर्तीमगरले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्