प्योङ्याङद्वारा अमेरिकामाथि आणविक हमलाको धम्की



सोल, (एजेन्सी)
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले मंगलबार अमेरिकी नौसैनिक समूह पश्चिमी प्रशान्त महासागरमा बढ्न थालेकाले यदि अमेरिकाले कुनै आक्रामक संकेत देखाएको खण्डमा अमेरिकामाथि आणविक आक्रमण गर्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सहयोग प्राप्त भए वा नभए पनि अमेरिका उत्तर कोरियाली समस्या हल गर्न सक्षम रहेको बताएका थिए।
यसैबीच चीन र दक्षिण कोरियाबीच सोमबार यदि लामो दूरीको क्षेप्यास्त्रहरु तथा अन्य आणविक परीक्षण गरेको खण्डमा उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाइने विषयमा सहमति भएको सोलस्थित एक जना वरिष्ठ अधिकारीले बताएका छन्।

अघिल्लो दिन मात्र संयुक्त राज्य अमेरिकाको सेनाले आफ्नै एक विशेष नौसैनिक टोलीलाई कोरियाली प्रायद्विपतर्फ बढ्न आदेश दिएको थियो। यसै महिना उत्तर कोरियाले थुप्रै महत्त्वपूर्ण वार्षिक दिवस मनाउन लागेको छ।

यस्ता अवसरमा प्योङ्याङले प्रायशः ठूल्ठूला हातहतियार परीक्षण गर्ने गरेको छ। गत साता सिरियामा राष्ट्रपति बसार अस असादका फौजले गरिएको भनिएको रासायनिक हतियार प्रयोगको कारण अमेरिकाले त्यहाँको एक सैनक अखडामा गरेको भीषण हवाई आक्रमणको कारण अमेरिकाले उत्तरकोरियामाथि पनि त्यस्तै परिस्थिति सिर्जना भएको खण्डमा कडा सुरक्षा कारबाही गर्न सक्ने अन्तर्राष्ट्रिय द्वन्द्व विशेषज्ञहरुको अनुमान रहेको छ।

शुरूमा वासिङ्टनले उत्तर कोरियालाई पहिलेजस्तै नाकाबन्दी मात्र लगाएर तर्साउने योजना बनाएको थियो। तर पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगीहरुले आवश्यक परे अमेरिकाले उत्तर कोरियामाथि सैनिक कारबाहीसमेत गर्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्