चन्द्रागिरी नगरपालिकामा चुनावी रौनक



मेयर बन्न तीव्र प्रतिस्पर्धा

नेपाल समाचारपत्र, काठमाडौं

राजधानीको पश्चिम भेगमा रहेको चन्द्रागिरी नगरपालिकामा राजनीतिक दलहरु उम्मेदवार छान्न अन्तिम चरणको तयारी गरिरहेका छन्। राजनीतिक दलका मेयर उपमेयरका सम्भावित उम्मेदवारहरु स्थानीय मतदातालाई आकर्षिक गर्न जनसम्पर्कका साथ घरदैलोमा समेत पुगिरहेका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र उम्मेदवार चयनमा भने तीव्र गुटबन्दी देखिएको छ। यस नगरपालिकामा डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको समेत बलियो उपस्थिति रहेको बताइन्छ।

४४ हजार मतदाता रहेको नगरपालिकामा साविकका ११ गाविस गाभेर १५ वडा बनाइएको छ। आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि सबैतिर चर्चा–परिचर्चा भए पनि राजनीतिक दलहरूले भने उम्मेदवार छान्न ढिलाइ गरिरहेको स्थानीय मतदाताले बताइरहेका छन्।

खास गरी राजनीतिक दलहरुभित्र मेयर पद छान्न तीव्र प्रतिस्पर्धा भइरहेको देखिन्छ। मेयर पदमा कांग्रेसका तर्फबाट नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिका सभापति घनश्याम गिरीलाई उम्मेदवार बनाउने पक्कापक्की भएको एक कांग्रेसका स्थानीय नेताले बताएका छन्। स्थानीय जनताबीच लोकप्रिय रहेका चन्द्रागिरीको नगरका १५ वटै वडाका जनतासँग प्रत्यक्ष सम्पर्क रहेको बताइन्छ। गिरी यसअघि एक सरकारी विद्यालयको प्रधानाध्यापक रहेका थिए। गिरीका अलावा धर्मानन्द श्रेष्ठ, कविन्द्र गोपाली, गणेश सुवेदी, कृष्ण महर्जनलगायतका कांग्रेसका स्थानीय नेताहरुले समेत मेयर पदमा दाबी गरिरहेका छन्।

यसै गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट आधा दर्जनभन्दा बढी स्थानीय नेताहरुले मेयर पदका लागि तीव्र प्रतिस्पर्धा गरिरहेका छन्। एमालेका एक स्थानीय नेताले दिएको जानकारीअनुसार मेयर पदमा पूर्वगाविस अध्यक्षद्वय हरिशरण थापा, प्रह्लाद कार्कीको बढी सम्भावना रहे पनि महिला नेतृ रमा आलेमगर, गोपीचन्द्र कार्की, दीपक कँडेल, भाइकृष्ण बलामीले पनि मेयर पदमा आकांक्षा देखाएका छन्। मेयर पदमा उम्मेदवार बन्न नपाए महिला नेतृ आलेमगरलाई एमालेले उपमेयर बनाउने भएको बताइन्छ। यसै गरी राज्यको तेस्रो शक्ति नेकपा माओवादी केन्द्रभित्र पनि मेयर पदमा प्रमुखरुपमा तीन आकांक्षी देखिएका छन्। जसअनुसार मेयर पदमा नगर अध्यक्ष रवीन्द्र रिजाल, केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ र स्थानीय नेता एवं नगर इन्चार्ज शंकर दुलालमध्ये एकले पार्टीको तर्फबाट उम्मेदवार बन्ने मौका पाउने देखिएको छ।

यसै गरी राष्ट्रिय राजनीतिमा केही समयअघि मात्र उदाएको नयाँ शक्ति पार्टीका तर्फबाट यस नगरपालिकामा बलियो उपस्थिति हुने देखिएको छ। मेयर पदमा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा चन्द्रागिरी नगरपालिकाका संयोजक शशि गिरी र केन्द्रीय सदस्य राजु महर्जनले दाबी गरिरहेका छन्। गिरी चर्चित कानुन व्यवसायी हुन् भने उनी दइचोकको श्रीकृष्ण माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका छन्। राज्यको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न दर्जनौं दाबेदार देखिए पनि नगर संयोजक प्रकाश थापा र देवेन्द्र प्रधानमध्ये एकले मेयर पदमा उम्मेदवार बन्न मौका पाउने स्थिति रहेको राप्रपाका एक स्थानीय नेता दाबी गर्छन्।

यस नगरपालिकाको मेयर पदमा नेकपा माले, माओवादी क्रान्तिकारीलगायत दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेको देखिएको छ। यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट सो पार्टीका चन्द्रागिरी नगर अध्यक्ष गुणदास महर्जन, काठमाडौं जिल्ला सदस्यद्वय पुरुषोत्तम महर्जन र नरबहादुर महर्जन मेयर पदमा प्रमुख दाबेदार रहेका छन्। यीमध्ये पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध रहेका र जनतासँग भिजेका गुणदास महर्जनको बढी सम्भावना रहेको छ। राजनीतिक दलहरु उम्मेदवार छान्न व्यस्त रहेकाले अन्तिममा कस–कसले पार्टीको आधिकारिक उम्मेदवार बन्ने मौका पाउने हुन् त्यो भने केही समय कुर्न पर्ने देखिएको छ।

चन्द्रागिरी नगरपालिका नयाँ हो र यहाँ यस पटक मात्र चुनाव हुन लागेको हो। यस नगरपालिकामा हाल गाभिएका १५ गाविसमध्ये १९ वर्षअघि भएको स्थानीय निर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा रहेको थियो भने केही गाविसमा राप्रापाले समेत प्रभाव जमाउन सकेको थियो। माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, क्रान्तिकारी माओवादीसहितका केही दलहरु नयाँ छन्।

प्रतिक्रिया दिनुहोस्