विभेद कायम रहे विखण्डनको खतराः भण्डारी



नेपाल समाचारपत्र
राजविराज
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले मधेसमाथि विभेद भइरहे त्यसले विखण्डन निम्त्याउने बताएका छन्। विभेदले विद्रोहको जन्म दिने र विद्रोहबाट विखण्डन हुन सक्ने अवस्था सृजना हुन सक्ने भएकाले मधेसीमाथि गरिएको विभेद अन्तका लागि राज्य लचक हुनुपर्ने भण्डारीको भनाइ छ।

सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले मधेसी समुदायलाई कलम, कोष र कारतुसमा समानुपातिक प्रतिनिधित्व दिनुपर्ने माग गरे। कलम (नीति निर्माण) कोष (राज्यकोषको सञ्चालन) तथा कारतुस (सेना प्रहरी) मा मधेसीको समान प्रतिनिधित्व हुनुपर्ने उनको माग छ।

देश अखण्ड रहनुपर्ने पक्षपाती आफू भए पनि विभेदकारी संविधानले विखण्डन निम्त्याउने खतरा रहेको तथा मधेसी समुदायलाई अधिकार नदिइए राष्ट्रिय अखण्डता कायम रहन नसक्ने भण्डारीले बताए।

आफूहरू राजनीतिक निकासका लागि लचकता अपनाएर चुनावमा सहभागी हुन तयार रहेको बताउँदै उनले हठ त्यागेर संविधान संशोधन गरी चुनावको वातावरण नबनाए त्यसपछि हुन सक्ने दुर्घटनाको जिम्मेवारी ठूला दलले नै लिनुपर्ने जिकिर गरे। आफूहरू चुनावको विरोधी नरहेको भए पनि एमालेको दम्भपूर्ण अभिव्यक्तिले निकासमा बाधा पु¥याइरहेको भण्डारीको भनाइ छ।

मधेसको पहिचानका आधारमा भौगोलिक सिमांकन आफूहरूको चाहना रहेको भन्दै संसद् र विधान सभाको निर्वाचनअघि सीमांकनको विषयलाई टुंग्याउने ग्यारेन्टि भए मधेसवादी दल निर्वाचनमा सहभागी हुन सक्ने उनले बताए। खास समुदायलाई मात्र मधेसी मान्ने सोच परित्याग गर्नु आवश्यक रहेको सुझावका साथ उनले मधेसमा बसोबास गर्ने ५१ प्रतिशतमध्ये पहाडी समुदाय, मधेसी, थारु र मुश्लिम सबैको अधिकार सुनिश्चित हुने संघीयता आवश्यक रहेको सुझाव पस्तुत गरे।

दुई नम्बर प्रदेशलाई थाती राखेर चुनाव गराउनेबारे ठूला दलकै केही नेताबाट आउने गरेको अभिव्यक्तितर्फ संकेत गर्दै उनले त्यस्तो भए मुलुकमा विखण्डनको खतरा अझै बढेर जाने ठोकुवा गरे।

प्रतिक्रिया दिनुहोस्