डोटीमा २५ जना तेस्रो लिंगी भएको खुलासा



विमल विष्ट, डोटी
डोटीमा २५ जना तेस्रो लिंगी भएको खुलासा भएको छ। निलहीरा समाज नामक संस्थाले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो। निलहीरा समाजका डोटी संयोजक निरङ्क चौधरीले दिनुभएको जानकारीअनुसार डोटीको दिपायल सिलगढी नगरपालिका तथा गैरागाउँ, बगलेक, खिरसैन र कपल्लेखी गाविसमा आफ्नो कार्यक्षेत्र बनाइ उक्त संस्थाले त्यहाँ भएका तेस्रो लिंगीहरूलाई समाजमा खुलेर आउन प्रोत्सान गर्न थालेको छ। डोटी जिल्लामा २०६३ माघदेखि स्थापना भएको उक्त संस्थाको सर्वेक्षणअनुसार अहिलेसम्म २५ जना तेस्रो लिंगी फेला परेका छन् भने अन्य तेस्रो लिंगीहरू पनि समाजमा खुल्ने तयारीमा भएका छन्।

समाजमा तेस्रो लिंगीहरू अपहेलित नहुन तथा उनीहरूका हक अधिकारका बारेमा पनि सबै सरोकारवाला निकाएले चासो देखाउन भन्ने उद्देश्यका साथ डोटीमा उक्त संस्था लागू भएको संस्थाका कार्यक्रम संयोजक चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘समाजमा तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोण फरक भएकाले तेस्रो लिंगीलाई फरक हिसाबले नहेर्नु भन्ने हाम्रो उद्देश्य हो।’ उक्त संस्थाले डोटीमा तेस्रो लिंगीको पहिचानसंगै एचआईभी एड्सबाट बच्न कन्डम बितरणदेखि लिएर तेस्रो लिंगीलाई विभिन्न काउन्सिलिङ गर्ने तथा उनीहरूको एचआईभी टस्टसमेत गर्ने गरेको संयोजक चौधरीले बताउनुभयो। जिल्लामा तेस्रो लिंगीको पहिचान तथा सर्वेक्षणका लागि निलहीरा समाजका २१ जना कर्मचारीहरू खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्