पैसाले छुटायो मेलमिलाप केन्द्रले जुटायो



मोतीराम तिमल्सिना, काभ्रे
साविक पनौती–१२ खोपासी घर भएकी शान्ति महत र मैना नगरकोटी मन मिल्दासम्म एउटै थालमा खाना खाने गरेका दौतरी थिए। मैनाले पारिवारिक समस्या भएकाले सहकारीबाट ऋण लिन शान्तिलाई साक्षी राखेकी थिइन्। श्रीमान बाहिर भएकाले समयमै ऋण तिर्न नसकेपछि सहकारीले शान्तिको खातामा जम्मा गरेको रकमसमेत निकालेर मैनाको ऋण चुक्ता गरेपछि उनीहरू बीचको दौतरी कटुतामा परिणत भयो।

दैनीक गाँस काटेर जम्मा गरेको रकम मैनाको ऋणको साक्षी बसे बापत सहकारीले निकालिदिएपछि शान्तिले मैनालाई तत्काल रकम फिर्ता गर्न अनुरोध गरिन्। मैनाले आफूसँग नभएको श्रीमान बाहिरबाट फर्किएपछि तिर्नु भनेर बताउँदा पनि सहकारीले मानेन। शान्तिकै खाताबाट रकम निकालेपछि शुरु भएको बेमेल एक अर्कालाई आरोप प्रत्यारोप, गालीगलौज र बोलचाली नै बन्द हुने अवस्थामा पुग्यो। शान्तिलाई पनि घरबाट आफूले जम्मा गरेको रकम मैनाले फिर्ता नगरेको र साक्षी बसेको भन्दै कचकच भइरहेको थियो। मैनाले रकम फिर्ता नगरेपछि शान्ति निवेदन लिएर प्रहरी चौकीमा जानै लाग्दा पनौती नगरपालिकामा रहेको सामुदायिक मेलमिलाप केन्द्रमा पुगिन्। शान्तिले दिएको निवेदनअनुसार मेलमिलाप केन्द्रले दुबै पक्षलाई बोलाएर छलफल गरायो। अन्ततः मैनाले केही महिनाको भाखा राख्दै शान्तिको रकम फिर्ता गर्ने प्रतिबद्धता ब्यक्त गरिन्। निरन्तरको संवादपछि शान्ति र मैनाको सम्बन्ध पहिलाकै अवस्थामा पुग्यो। मैनाले पनि रकम फिर्ता गरिन्।

जिल्ला अदालत काभ्रेपलाञ्चोकको अनुगमन समिति पनौतीको सामुदायिक मेलमिलाप केन्द्र पुग्दा मैना र शान्तिले आफूले पाएको खुसी र सानो कुराले उत्पन्न बेमेलका बारेमा खुलस्त हुँदै बताउँदै थिए। सामुदायिक मेलमिलाप केन्द्रमार्फत प्राप्त गरेको खुसी प्रहरी चौकी र अदालतसम्म पुग्दा प्राप्त हुन नसक्ने शान्ति र मैनाको अनुभूति छ। शान्ति र मैना जस्तै कुशादेवी गाविसकी चमेली नेपालीलाई छिमेकीसँग भएको सामान्य झगडाले पाएको पीडालाई मेलमिलाप केन्द्रले दिएको खुसीले आनन्द प्राप्त गरेको बताइन्।

जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौड्याल, न्यायाधीश अवनी मैनाली भट्टराई, जिल्ला बार अध्यक्ष कृष्णप्रसाद सापकोटा, सचिव देवकुमार मोक्तान, पूर्वअध्यक्ष नवराज बडाल, स्थानीय विकास अधिकारी कोमल धमला, श्रेस्तेदार कृष्णप्रसाद अधिकारी, जिल्ला प्रशासन कार्यालयका चिरञ्जीवी पोखरेल, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापा, सामुदायिक मेलमिलाप कार्यक्रम संयोजक सरिता सापकोटा, पत्रकार नवराज बजगाई, मोतीराम तिमल्सिना लगायतले कुशादेवी र पनौती नगरपालिकामा भएको सामुदायिक मेलमिलाप कार्यक्रममार्फत समाजमा भएका विवादहरूलाई रुपान्तरण भएकोमा खुसी ब्यक्त गरेका थिए। साविक कुशादेवी गाविसमा एक वर्षको अवधिमा ३७ वटा विवाद रुपान्तरण भएका छन् भने पनौती नगरपालिकामा ३५ वटा भन्दा धेरै विवाद रुपान्तरण भएका छन्।

कुशादेवी गाविसका सामुदायिक मेलमिलाप कार्यक्रम संयोजक रमेश हुमागाई, पनौती नगरपालिकाका संयोजक सरिता अधिकारी, नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, साविक कुशादेवी गाविसकी शारदा अधिकारी, प्रहरी चौकी इन्चार्ज कमलबहादुर पाण्डेलगायतले मेलमिलापले समाजमा ल्याएको खुशीका बारेमा जानकारी गराएका थिए। अनुगमनका क्रममा न्यायाधीश तथा अनुगमन समितिका सदस्यहरूले अदालतमा भन्दा समुदायमा भएको मेलमिलापले धेरै खुसी प्रदान गरेको अनुभूति भएको बताए।

प्रतिक्रिया दिनुहोस्