बलात्कारीलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ



नेपाल समाचारपत्र
महोत्तरी
बलात्कारीलाई कारवाहीको माग गर्दै पिपराका स्थानीय वासिन्दाहरूले जिल्ला प्रहरी कार्यालय महोत्तरी घेराउ गरेका छन्।

पीडित बालिकासहित उनका परिवारजन र पिपरा गाउपालिकाका एक सयभन्दा बढीको संख्यामा आएका स्थानीयहरूले बलात्कारीलाई कारवाही, पीडितलाई क्षतिपूर्ति र न्यायको माँग गर्दै जलेश्वरको मटिहानी चौकबाट विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए। उनीहरूले प्रहरी प्रमुख विरुद्ध चर्का नाराबाजी गर्दै करिब १ घण्टा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।

पिपरा गाउँपालिका ३ का ७० वर्षीय वृद्ध मुनी भने कुमार पाण्डेले पिपरा ४ की नौ वर्षीया रानी (नाम परिवर्तन) लाई गत चैत १८ गते करिब १ बजे आफ्नै घरमा ढोका लगाई बलात्कार गरेको आरोप लगाउँदै पाण्डेमाथि कार्यवाहीको माँग गर्दै पिपराका स्थानीय वासिन्दा र पीडितपरिवारहरूले जिल्ला प्रहरी कार्यालय महोत्तरी घेराउ गरेका थिए।

पीडितका आफन्तका अनुसार विद्यालयबाट घर फर्किरहेका ती बालिकालाई पाण्डेले ललाइफकाइ घरमा लगी बलात्कार गरेको आरोप लगाइएको छ।
बलात्कार गरेपछि कसैलाई भनेमा मारिदिने धम्कीसमेत दिएको उनका बुवा विपिनले बताए। बालिकाले घटना गरेको दुई दिनपछि आफ्ना परिवारजनलाई रक्तश्राव भएको जानकारी गराएपछि घटनाक्रम बाहिर आएको हो। पीडित परिवारले चैत २० गते इलाका प्रहरी कार्यालय सहोडवामा घटनाबारे जानकारी गराएपछि प्रहरी प्रतिवेदन र पीडितको जाहिरीका आधारमा पाण्डेमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीले चैत २१ मा जवरजस्ती करणी मुदा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ। प्रहरीले पाण्डेमाथि जवरजस्ती करणी मुद्दा दर्ता गरी उनको खोजविन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक दीपक पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्