सिद्धार्थ विश्वविद्यालय स्वीकृतिको पर्खाइमा



नेपाल समाचारपत्र
काभ्रे
नेपालमा मात्र हैन दक्षिण एसियाकै उत्कृष्ट बनाउने गुरुयोजनासहित सिद्धार्थ विश्वविद्यालय स्थापनार्थ दुई दशक अघिदेखि दौडधुप गरिरहेका डा. भिक्षु सुनन्द महास्थवीर अझै थाकेका छैनन्। विश्वविद्यालय स्थापनाका लागि स्वीकृति लिन दुई दशकको दौडधुपमा राज्यको प्रशासनिक निकायले विनाकारण कतिसम्म दुःख दिन्छ उहाँले राम्रोसंग चाल पाइसक्नुभएको छ। तर पनि सात दशक कटेको बुढौली जीवनमा पनि हिम्मत नहारी विश्वविद्यालय स्थापनाका लागि सरकारको स्वीकृत लिन अहोरात्र खटिरहनुभएको छ।

बुद्ध जन्मेको देशमा बुद्धद्वारा प्रतिपादित नैतिक शिक्षा दिने लक्ष्य राखि मुलुकमा छुट्टै पहिचान राख्ने उच्च प्राज्ञिक शिक्षालय बनाउन विश्वविद्यालय स्थापनार्थ महास्थवीरसंगै लागिपरेका कतिपय विद्वानहरूको मृत्यु भइसकेको छ। कतिपय विदेश पलायन भैसके भने कतिपयलाई बुढौलीले छोइसकेको छ। काभ्रेको नालामा यो विश्वविद्यालय स्थापनाका लागि स्वीकृति लिन २०५२ सालदेखि लगातार प्रयास भइरहे पनि सरकारी निकायले आश्चर्यजनक मौनता साधेर बसेको छ। यो विश्वविद्यालय स्थापनार्थ प्रयास हुनुभन्दा पछि कतिपय विश्वविद्यालयले रातारात स्वीकृति लिइसके। कतिपय विश्वविद्यालयले त सिद्धार्थ विश्वविद्यालयले बनाएको गुरुयोजना जस्ताको तस्तै पेश गरेर पनि स्वीकृति लिएको आरोप लागिरहेको छ।
सिद्धार्थ विश्वविद्यालय स्थापनाका लागि स्थानीय स्तरबाट झण्डै १ हजार २ सय रोपनी जग्गा उपलब्ध भएको छ।स्वीकृति पाउन सरकारी निकायलाई गुरुयोजनासहित आवश्यक कागजात वुझाएको वर्षौ भइसक्यो। भौतिक संरचना निर्माण र शैक्षिक संरचना निर्माणका लागि सबै योजना पेश गरिसकेका छौं।

सिद्धार्थ विश्वविद्यालय स्थापनाका लागि आफूहरूले तयार पारेको योजनामा खोट लगाउने ठाउँ कतै छैन भन्दै महस्थवीर भन्नुहुन्छ– ‘स्वीकृत नदिने हो भने के कति कारण स्वीकृत दिन नमिल्ने हो सरकारले स्पष्ट जवाफ दिनुप¥यो।’ ‘विश्वविद्यालय स्थापनाका लागि सरकारको मागअनुसार सबै कगजात र आदेशअनुसारको अन्य सबै काम पूरा गरिसकेपछि पनि स्वीकृति प्राप्त नहुनु दुखत कुरा हो’ –उहाँ भन्नुहुन्छ।

‘सरकार देश विकास गर्ने भन्छ। विभिन्न ठाउँमा ठूला राजमार्ग बनाउने भन्छ। ठूला एयरपोर्ट बनाउने भन्छ। हामी दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालय बनाउछौं र देश विकासलाई टेवा दिन्छौं भन्दा वास्ता गर्दैन’ डा. महास्थवीरले दुखेसो पोख्दै भन्नुभयो– ‘स्वीकृति पाउनका लागि मैले अझै प्रयास गरिरहेको छु। मैले मेरो जिवनकालमा स्वीकृति ल्याउन सकिन भने पनि अरुले स्वीकृति ल्याउनेछन् र यहाँ विश्वविद्यालय स्थापना गरिनेछ।

विश्वविद्यालय स्थापनाका लागि ठूलो लगानी र मेहेनत चाहिन्छ। राजनीतिक अस्थिरता कायम रहेको र सरकारले ठूलो लगानी गरेर विश्वविद्यालय खोल्ने अवस्था नरहेको बेला महास्थवीर जस्ता वौद्धिक व्यक्तित्वहरू दातासंग चन्दा संकलन गरेर उत्कृष्ट विश्वविद्यालय बनाउँछौं भन्दा पनि सरकारले मौनता साँधिरहेको छ। विश्वविद्यालयको भौतिक संरचना बनाउन लग्ने करिब १० अर्ब रुपियाँ तत्काल दाताहरूसंग सहयोग लिन सक्ने र स्वीकृति पाउदासाथ विश्वविद्यालय सञ्चालन गर्न सक्ने क्षमता महास्थवीरसंग रहेको उहाँको निकटतम्हरू बताउँछन्।

सरकारको स्वीकृति लिन मन्त्रालय धाउँदा धेरै दुःख पाएका महास्थवीरले एक समय शिक्षा मन्त्रालयका सचिवले भनेको कुरा सुनाउँदै नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘सरकारी निकायमा धेरै तहका भूतहरू छन्। त्यो भूत पन्छाउन पैसा चाहिन्छ। तपाई भूत पन्छाउन पैसा खर्च गर्नुहुन्न अनि कहाँ स्वीकृति पाइन्छ त?’ तत्कालीन अवस्थामा शिक्षा सचिवले भनेको यो कुरालाई उहाँले मुख्य सचिवलाई सुनाउनुभएको थियो। त्यतिबेला मुख्य सचिवले कुनै शिक्षा मन्त्रालयको सचिव विरुद्ध कुनै कारवाही गरेका थिएनन्।
ब्याचलरदेखि पीएचडीसम्म अध्ययन अध्यापन गर्ने योजनाका साथ खोल्न लागिएको सिद्धार्थ विश्वविद्यालयले दुई दशकसम्म पनि स्वीकृति नपाएपछि डा. महास्थवीरले भन्नुभयो– ‘विश्वविद्यालय स्थापनाको स्वीकृति लिन विश्वमा यति लामो समयसम्म प्रयास भइरहेको इतिहास छैन। विश्वविद्यालय सञ्चालनका लागि तत्कालीन अवस्थामा दुई सयभन्दा बढी सदस्य क्रियाशील थिए भने बीसभन्दा बढी समितिहरू निर्माण गरी योजना बनाइएको थियो। आफ्नो देशमै केही गरौं भन्ने उदेश्य लिई विश्वमै प्रचार हुने र विश्वबाटै सहयोग प्राप्त हुने अवस्थामा पनि सरकारले किन स्वीकृति नदिएको आफूहरूले जवाफ मागिरहेको उहाँले बताउनुभएको छ।

सिद्धार्थ विश्वविद्यालय स्थापनार्थ लागिपर्नुभएका डा. महास्थवीरले महामकुट बुद्धिस्ट युनिभर्सिटीबाट दर्शनशास्त्रमा बीए पास गर्नुभएको थियो भने बनारस हिन्दू विश्वविद्यालयबाट दर्शनशास्त्रमै एमए पास गर्नुभएको थियो। अमेरिकाको हार्वार्ड विश्वविद्यालयबाट धर्मशास्त्र सम्बन्धी एमए पास गर्नुभएको थियो। उहाँले द अमेरिकन युनिभर्सिटीबाट दर्शनशास्त्रमा पीएचडी गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्