एमालेले मधेसी जनतालाई हेप्योः देउवा



बुटवल, (नेस)
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सुरक्षाका लागि सीमामा खटिएका मधेसी जनतालाई एमालेले हेपेको आरोप लगाउनुभएको छ। सदियौंदेखि मुलुकको सीमा सुरक्षामा बसेर नेपाली भूभागको रक्षा गरेका मधेसी जनतालाई एमालेले राष्ट्रघाती भनेर अपमान गरेको सभापति देउवाले उल्लेख गर्नुभयो।

मधेसी जनताको भावनाको कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरेको र संशोधन प्रस्ताव पास गरेर मधेसी जनताको भावनाको सम्मान गर्न नेपाली कांग्रेस तयार रहेको उहाँले बताउनुभयो। एमालेको पहाडीया राष्ट्रवादले मधेसी र पहाडी समुदायबीच द्वन्द्व चर्काउने काम गरेको र त्यो मुलुकको हित विपरीत रहेको बताउँदै सभापति देउवाले ती तत्त्वहरूसित सावधान हुन आग्रह गर्नुभयो। नेपाली कांग्रेसको स्थापना मधेसमै भएको स्मरण गर्दै सभापति देउवाले कांग्रेस मधेसी जनताको समेत पार्टी भएको उल्लेख गर्नुभयो।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि चुनाव लक्षित देश दौडाहा कार्यक्रमअन्तरगत मंगलबार रूपन्देहीको भैरहवामा नेपाली कांग्रेसले आयोजना गरेको विशाल आमसभामा बोल्दै सभापति देउवाले सिंहदरबारको अधिकारी स्थानीय तहमा उपलब्ध गराउन र जारी संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
घोषणा भएको चुनाव जुनसुकै हालतमा पनि हुने बताउँदै उहाँले चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो। सभापति देउवाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा मेरो तेरोभन्दा पनि योग्य व्यक्तिलाई उम्मेदवार बनाइने र कोही विद्रोही बनेमा पार्टीले कारबाही गर्ने चेतावनी दिनुभयो।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो वा त्यो बहानामा चुनाव रोक्न नहुने बताउँदै चुनावको वातावरण बिगार्न र मधेसीलाई भड्काउने कुरा नगर्न एमालेका नेतालाई आग्रह गनुभयो। उहाँले हिमाल, पहाड र तराईका जनताको एकता नै राष्ट्रियता भएको जिकिर गर्दै नक्कली राष्ट्रियताको खण्डित मनस्थिति नलिन पनि उहाँले एमालेलाई सुझाव दिनुभयो। मुलुकमा चुनावी जागरण आइसकेको बताउँदै उहाँले चुनावपछि संविधानले ठोस आकार लिने उल्लेख गर्नुभयो।

उहाँले २० वर्षसम्म माओवादीले चुनाव गराउने वातावरण बिगारेर के हासिल गरे र अब फेरि मधेसी दलले चुनाव रोकेर के कुरा हासिल गर्न खोज्दै छन्? त्यसको जवाफ जनतालाई दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा पार्टीका महामन्त्री डा. सशांक कोइरालाले घोषणा भएको स्थानीय तहको निर्वाचनले प्रदेश र केन्द्रको चुनावसम्म प्रभाव राख्ने भएकाले स्थानीय चुनाव नेपाली कांग्रेसको जीवनमरणको सवाल भएको उल्लेख गर्नुभयो। ‘यो चुनाव जुनसुकै हालतमा पनि नेपाली कांग्रेसले जित्नुपर्छ’, उहाँले भन्नुभयो– ‘चुनावमा बागी उम्मेदवार बने पार्टीले कडा कारबाही गर्नेछ।’ उहाँले चुनाव र संविधानको कार्यान्वयनपछि विकासले गति लिने पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्