गुण्डा नाइके लामामाथि गोली प्रहार



नेपाल समाचारपत्र
काठमाडौं
गुण्डाका नाइके दावा लामालाई मंगलबार बिहान एक युवकले फिल्मी शैलीमा गोली प्रहार गरी गम्भीर घाइते बनाइदिएका छन्।

गौरीघाटमा रहेको दिव्य पार्टी प्यालेसमा मंगलबार बिहान जिम गर्न गएका लामालाई एक सार्पसुटरले ३ गोली प्रहार गरेको भए पनि उनलाई ढाडमा २ गोली लागेको थियो।

पार्टी प्यालेस प्रवेश गर्न लागेका उनीमाथि पिछा गर्दै आएका युवाले झोलामा रहेको पेस्तोल निकालेर गोली हानेपछि लामा लरखराउँदै भुइँमा ढलेका थिए।

पछिल्लो पटक राजधानीमा गुण्डागर्दीलाई पेसा नै बनाएर हिँडेका लामाले दरबारमार्गमा रहेको भिट्री क्लबका सञ्चालक राम गिरीलाई गोली हानी हत्या गर्ने योजना बनाएर गोली हानेको भए पनि गिरी बाँच्न सफल भएका थिए।

काभ्रे घर भई राजधानीको बानेश्वर, पेप्सीकोला, चक्रपथ र दरबारमार्ग क्षेत्रमा हप्ता असुली गर्ने, विभिन्न व्यक्तिलाई धम्की दिने जस्ता कार्यमा संलग्न रहँदै आएका थिए।

गत माघ १० गते गिरीलाई गोली हानेको अभियोगमा प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको भए पनि उनी जिल्ला अदालतको आदेशले गत फागुन १२ गते धरौटीमा छुटेका थिए।

नेपाली कांग्रेसका सांसद तीर्थ लामाका निकट भएर गुण्डागर्दी गर्दै आएका लामामाथि गोली प्रहार भएपछि प्रहरीले उनको दुस्मनी भएका समूहको खोजी गरिरहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडांका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले लामामाथि गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो।

लामामाथि ३ गोली प्रहार गरिएको भए पनि २ गोली लामामाथि लागेको र गोली हान्ने व्यक्तिको बारेमा खोजी गरिरहेको उहाँले बताउनुभयो। उक्त घटनाको बारेमा परिसर र महानगरीय अपराध महाशाखाले संयुक्त अनुसन्धान शुरू गरेका छन्।

उनी शुरूमा काभ्रेली समूहमा आबद्ध भए पनि पछि आफ्नै ग्याङ बनाएर राजधानीमा गुण्डागर्दी गर्दै आएका थिए। प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको भए पनि लामाले राजनीतिक आडमा गुण्डागर्दीलाई पेसा बनाउँदै आएका थिए।

उनले राजनीतिक गुण्डागर्दीको आडमा राजधानीमा करोडौंको सम्पत्ति कमाएको भन्दै प्रहरीले लामाको बारेमा अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्