७४ जिल्लामा मतदान केन्द्र तय



नेपाल समाचारपत्र
काठमाडौं
राजनीतिक सहमतिमा चैत मसान्तसम्ममा पनि तराई मधेसका जिल्लामा मतदान केन्द्र तोक्न नसकेपछि निर्वाचन आयोगले केन्द्रबाटै ती जिल्लाहरुमा पुरानै मतदान केन्द्र कायम गरेको छ। आयोगले मंगलबार सप्तरी जिल्लाबाहेक सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाइएको निर्वाचन आयोगले जनाएको छ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि हाल कायम गाउँपालिका, नगरपालिकाको सीमाना र जनसंख्याको आधारमा मतदान केन्द्र तोक्नुपर्ने भए पनि त्यसबारे राजनीतिक सहमति हुन नसकेपछि आयोगले केन्द्रबाट मतदान केन्द्र तोकिएको आयोगका सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। सप्तरी जिल्लाबाहेक सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाइएको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्धारित कार्यतालिकाअनुसार प्रदेश नम्बर २ का जिल्लाहरुमा मतदान केन्द्र तोक्न मधेसी मोर्चाले स्थानीय तह र जिल्ला निर्वाचन कार्यालयमा ताला लगाएर अवरोध गरेको थियो।

केन्द्रबाट मतदान केन्द्र तोक्न थालिएको छ। सप्तरी जिल्लाभित्रको मतदान केन्द्र पनि चाँडै तोकिने प्रवक्ता शर्माले बताउनुभयो। ‘अहिले जनसंख्या बढेको छ। साविकको भन्दा केही सीमाना फेरिएको छ। त्यसैले पुरानो मतदान केन्द्र कायम गर्दा खासै फरक पर्दैन।’ –सहसचिव शर्माले भन्नुभयो। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले चैत १० गतेभित्र मतदान केन्द्र तोक्ने कार्यतालिका बनाएको थियो। तर मतदान केन्द्र तोक्ने अन्तिम दिन नाघेको तीन साता बितिसक्दा पनि आयोगले मतदान केन्द्र तोक्न सकेको छैन।

आयोगका अनुसार प्राविधिक तयारीका हिसाबले पनि निर्वाचन गराउन हाल कायम स्थानीय तह गाउँपालिका र नगरपालिकाको आधारमा मतदान केन्द्रको पुनरवलोकन गरेको छ। यसअघि देशभरमा १० हजार १३ मतदान स्थलमा १८ हजार ४ सय ३८ मतदान केन्द्र कायम रहेको थियो। अबको निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र हुने आयोगको अनुमान रहेको छ। आयोगले मतदाता परिचयपत्र पनि मतदान केन्द्रबाटै वितरण गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्