सिरिया संकटलाई लिएर ट्रम्प र मेबीच वार्ता जी–७ बैठकमा रुस–असद सम्बन्धको चर्चा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टेरिजा मेबीच गत हप्ता सिरियामा भएको रासायनिक हमला र त्यसपछि सिरियामाथि अमेरिकी क्षेप्यास्त्र हमलाका कारण विकसित घटनाक्रमलाई लिएर चर्चा भएको छ।

ती दुई नेताबीच रुसलाई सिरियाका राष्ट्रपति बसर अल असदसँगको सम्बन्धमा पुनः सोच्नका लागि एक नयाँ मौका दिने विषयमा सहमति भएको एक बेलायती अधिकारीले बताए।

सिरियामा भएको रासायनिक हमलापछि सिरियाली युद्धका विषयमा एकीकृत दृष्टिकोण बनाउनका लागि जी–७ का सदस्य देशका विदेश मन्त्रीहरु दुई दिवसीय वार्ता गरिरहेका छन्। वार्तामा भागलिइरहेका विदेशमन्त्रीहरु रुसमाथि सिरियाली राष्ट्रपति बसर अल असदसँग दूरी बढाउनका लागि दबाब बनाउन चाहेका छन्।

बेलायती विदेशमन्त्री बोरिस जोनसनले रुसी सेनामाथि सम्भावित प्रतिबन्ध लगाउन विषयमा पनि चर्चा हुने जानकारी दिए। सहयोगी देश अमेरिकालाई पनि सिरिया नीतिमा स्पष्ट हुनका लागि भन्ने उनले बताए। अमेरिकाले सिरियालाई लिएर अहिलेसम्म मिश्रित संकेत दिएको छ। गत हप्ता विद्रोहीको कब्जामा रहेको प्रान्तस्थित खान सेखुनमा भएको रासायनिक हमलामा ८९ जनाको मृत्यु भएको थियो।

जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरियाका राष्ट्रपति असदसँग दूरी बनाउनका लागि विवश पार्नुपर्ने प्रस्ट संकेत दिए।

यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उक्त हमलालाई रोक्न असफल भएकोमा रुसको कडा आलोचना गरेको छ। उनले सिरियालाई लिएर अमेरिकाको सैन्यनीतिमा कुनै परिवर्तन नआएको बताएका थिए। अमेरिकी क्षेप्यास्त्र हमलापछि पनि अमेरिकाको पहिलो प्राथमिकता इस्लामिक स्टेटलाई हराउनु नै रहेको उनले बताएका थिए।
अमेरिकी विदेशमन्त्री टिलरसन इटालीमा जी–७ देशको वार्तापछि मंगलबार नै मस्को जाने कार्यक्रम रहेको छ।

यसैबीच अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सिरियाली हवाई अड्डामा भएको अमेरिकी क्षेप्यास्त्र हमलामा सिरियाली वायुसेनाको कुल २० प्रतिशत विमान नष्ट भएको बताएका छन्। सिरियाको सरकारले यदि पुनः रासायनिक हमला गरेमा त्यसको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिए।

प्रतिक्रिया दिनुहोस्