संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक फिर्ता, संसद बैठक १० दिन स्थगित



काठमाडौं (नेस) ।
सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधनको विधेयक फिर्ता लिएको छ ।

मंगलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले उक्त विधेयक फिर्ता लिन अनुमति माग्ने प्रस्ताव संसदले सर्वसम्मतले पारित गरेको हो ।

सीमांकनमा प्रमुख विपक्षी दल एमालेको आपत्ति रहेको भन्दै कानुनमन्त्री नायकले संशोधन फिर्ताको प्रस्ताव गरे । उनले मुलुकलाई निकास दिन एमाले पनि अगाडि आउनु पर्ने र मधेसी मोर्चा पनि लचिलो बन्न जरुरी रहेको बताए ।

तर, एमाले भने संसदमा मौन रहेको थियो ।

अब, सीमांकन परिमार्जन बाहेक अधिकांश पुरानै विधेयकका विषय समेटेर नयाँ संशोधन विधेयक संसदमा दर्ता गर्ने सरकारको तयारी रहेको छ ।

विधेयक फिर्ता सँगसँगै संसद बैठक फेरि १० दिनका लागि स्थगित भएको छ । अब सरकारले अर्को संसद बैठक वैशाख ७ गतेका लागि गय गरेको छ ।

यसैगरी सोमबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्