“इकोनमी ल्यान्डस्केप”मा प्रमको जोड



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताउनु भएको छ।नेपाल उद्योग वाणिज्य महासंघको ५१औं साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो।

प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा शून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताउनुभयो। उहाँले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाउनु भएको छ।

प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बनेपछि आर्थिक परिसूचकहरु सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युत्को कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानुन तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्बन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रूपमा रहेका प्रशासनिक हडलहरु हटाउनेलगायत थुप्रै कार्य अगाडि बढाइएको जानकारी दिनुभयो।

आर्थिक समृद्धिमार्फत् राष्ट्र निर्माणमा उद्योगी व्यवसायींहरुको योगदानको अझ बढी खाँचो रहेको उल्लेख गर्दै कत्ति पनि विचलित नभई निरन्तर अगाडि प्रधानमन्त्रीले आग्रह गर्दै भन्नुभयो–‘आर्थिक समृद्धिको व्यवस्थापन नेपालको सन्दर्भमा मिश्रित अनुभव हो। तथ्यांकीय आधारलाई हेर्ने हो भने म्यानुफ्याक्चरिङ क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न सकेको देखिँदैन, सेवा क्षेत्र शहरी क्षेत्रमा विकास र विस्तार भइरहेको संकेत देखिइरहेको छ। सेवा क्षेत्र नै आर्थिक विकासका क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको पाइन्छ। अब, ग्रामीण क्षेत्रमा समृद्धि ल्याउन ‘इकोनमी ल्यान्डस्केप’मा रूपान्तरण गर्नु जरुरी छ। प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र ऊर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम् परिचालन गर्न सकेको खण्डमा आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ।’

मुलुकको बढ्दो व्यापारघाटाको हाललाई न्यूनीकरण गर्दै मुलुकको आवश्यकता अनुरूप लगानी, उत्पादन र रोजगारीको दिशामा अगाडि बढ्ने विषयमा बहस र छलफल केन्द्रित गर्न आग्रह गर्दै साधारणसभामा नीति कार्यक्रमभन्दा नेतृत्व कसले लिने भन्ने विषयमा बढी समय खर्चिने गरेको परम्परालाई महासंघले क्रमभंग गर्नुपर्ने प्रधानमन्त्रीले जोड दिनुभयो।

नेपालको राष्ट्र प्रमुख, प्रधान न्यायाधीश र सभामुखजस्ता महत्त्वपूर्ण स्थानमा महिला रहेको सन्दर्भमा निजी क्षेत्रको महत्त्वपूर्ण संस्थाको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाको सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर गरेको प्रधानमन्त्रीको भनाइ थियो।
साधारणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा हुने छिटोछिटो परिवर्तनले उद्योगधन्दामा नकारात्मक असर परेको भन्दै यसलाई रोक्न राष्ट्र बैंक र सरकारसँग आग्रह गर्नुभएको छ।

अध्यक्ष मुरारकाले उद्योग क्षेत्रका मुद्दा मामिलालाई छिटो टुंगो लगाउन सरकारले व्यावसायिक अदालत स्थापन गर्न पनि आग्रह गर्नुभयो। उहाँले स्वदेशी उद्योग क्षेत्र विकासको लागि सरकारले स्वदेशी उद्योगका उत्पादन अनिवार्य रूपमा खपत गर्ने व्यवस्थासमेत गरिदिन आग्रह गर्दै उद्योग स्थापनाको प्रक्रियालाई एकद्वार प्रणाली लागू गर्न पनि आग्रह गर्नुभयो।

महासंघले स्वर्ण वर्ष पूरा गरेको उक्त साधारणसभामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने उद्योगी व्यवसायी एवम् समाजसेवीलाई सम्मानित गरिएको थियो। त्यस क्रममा उद्योग क्षेत्रबाट स्वर्गीय रामलाल गोल्छा र सेवामूलक व्यवसायबाट स्वर्गीय लक्ष्मणबावु श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ।

त्यस्तै व्यावसायिक क्षेत्रबाट ‘एफएनसीसीआई गोल्ड अवार्ड’ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्सेर राणा, पर्यटन व्यवसायी कर्ण शाक्य, कान्तिपुर पब्लिकेन्सका अध्यक्ष कैलाश सिरोहिया, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन व्यवसायी नकिम उद्दीन र सूचना प्रविधि क्षेत्रबाट रुद्रराज पाण्डे छन्।

यसैगरी काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा, तिलगंगा आँखा केन्द्रका डा. सन्दुक रुइत, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो भने उद्योग वाणिज्य महासंघलाई सहयोग गर्ने समाजसेवी यज्ञबहादुर केसी, आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने स्व. सञ्जय न्यौपाने र महासंघमा निरन्तर २५ वर्ष सेवा गर्दै आएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य र प्रदीपजंग पाण्डेलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्