युवाशक्ति बरालिएको मुलुक



डा. देवीप्रसाद आचार्य
हाम्रो देशका पढेलेखेका युवाहरु गाउँमा नहँुदा विकास निर्माणका कामहरु ठप्प छन्। अहिले दिनमा लगभग १५ सयको हाराहारीमा युवाहरु विदेशिएको तथ्यांक छ। माओवादीको १० बर्से जनयुद्घकालदेखि युवाहरु रोजगारका लागि विदेशिएका देखिन्छन्। युद्घको समयमा कोही युवाहरु युद्घमा होमिए भने कोहीले विदेशको यात्रा तय गरे। मुलुक शान्ति प्रक्रियामा आइसकेपछि पनि विकासले गति लिन सकेन। युद्घकालमा बन्द भएका उद्योगहरु खुल्न सकेनन्। नयाँ उद्योगहरु बन्न सकेनन्। बेरोजगारीको समस्या दिन–प्रतिदिन बढ्दै गयो। राज्यले युवाहरुलाई स्वदेशमा नै आयआर्जनका अवसरहरुको व्यवस्था गर्नुको साटो वैदेशिक रोजारलाई प्रश्रय दियो। तसर्थ युवाहरु विदेशिए। स्वदेशमा बाँकी रहेका युवाहरु कोही शहरी क्षेत्रमा रोजगारीका लागि बरालिएका छन् भने कोही राजनीतिक दलहरुका कार्यकर्ता भएका छन्।

देश अहिले स्थानीय तहको निर्वाचनमा जुटेको छ। यो निर्वाचन सिंहदरबारको अधिकारलाई गाउँ–गाउँमा पुर्याउने शक्तिपृथकीकरणको अभ्यास हो, भनिएको छ। २० वर्षपछाडि राज्यको नयाँ संरचनाअन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनले नागरिकहरु उत्साहित भएका छन्। राजनीतिक परिवर्तनसँगसँगै सामाजिक रुपान्तरण र आर्थिक विकास अहिलेको आवश्यकता हो। यो आवश्यकता पूरा गर्नका लागि युवाशक्तिको आवश्यकता पर्दछ।

अहिले गाउँघरका खेतबारी बाँझिएका छन्। गाउँ–बस्तीहरु युवाविहीन भएका छन्। विदेशबाट पठाएको रेमिट्यान्सले राज्य चलेको छ। अरु मुलुकबाट आयात गरिएका चामल, तरकारी, फलफूल आदि किनेर देशको गुजारा चलेको अवस्था छ। खाद्यवस्तुमा परनिर्भरता बढ्दो छ। व्यापार घाटा प्रत्येक बढिरहेको छ। बेरोजगारीको समस्याले सताइएका युवाहरुलाई रोजगारीको अवसर मुलुकमा सिर्जना नगरेसम्म देशले विकासको गति लिन सक्दैन।

युवाहरुमा भएको जोश, जाँगर, सीप र शक्तिलाई राज्यले विकासका लागि सदुपयोग गर्नुपर्दछ। देशको प्राकृतिक स्रोत–साधनको प्रयोग गरी युवा स्वरोजगारका अवसरहरु सिर्जना गर्नेतर्फ राज्यको कुनै योजना देखिँदैन, भिजन देखिँदैन। नेपालमा स्वरोजगारका प्रचूर सम्भावना छन्। देशमा रोजगारीको सिर्जना गर्नका लागि कृषिमा आधुनिकीकरण, जमिन, जडीबुटी र जलस्रोतको सदुपयोग र पर्यटनको विकास गर्न आवश्यक छ। राज्यले युवा स्वरोजगार राष्ट्रिय अभियान नै चलाउनुपर्दछ। रोजगारीका लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाउनुपर्दछ। युवाहरुलाई आधुनिक तरिकाको कृषि, पशुपालन, मत्स्यपालन, माहुरी पालन, फलफूल खेती, पुष्पखेती, पर्यटन व्यवसाय, घरेलु उद्योगलगायतका क्षेत्रमा प्रशिक्षण दिई आयआर्जनका अवसर दिनुपर्दछ।

देशमा राजनीतिक परिवर्तनका साथै आर्थिक परिवर्तन हुन नसक्दा समस्या थपिएका हुन्। राज्यमा भ्रष्टाचार, दण्डहीनता, नातावाद र कृपावादको प्रभाव बढेकोले राजनीतिक पहुँच नभएका प्रतिभावान् युवावर्गमा नैरास्यता चुलिएको छ। इतिहासका कालखण्डहरुमा राजनीतिक परिवर्तनको लागि संघर्ष गर्ने, देशका लागि रगत बगाउने युवावर्ग अहिले राज्यबाट उपेक्षित छन्। राज्यले अझै पनि युवा बेरोजगारको समस्यालाई गहिरोसँग बुभ्mन नसकेमा विकासका मुहानहरु थुनिनेछन्। राज्यले आयआर्जनका अवसरसहित विदेशिएको युवावर्गलाई स्वदेशमा नै फर्काउन पहल गर्नुपर्दछ। विदेशिन लागेका युवाशक्तिलाई रोक्ने योजना बनाउनुपर्दछ।

हाम्रो देशको प्राकृतिक स्रोत–साधनको उपयोग हुन सकेको छैन। कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रहरुमा स्वरोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमहरु हुन आवश्यक छ। बेरोजगार युवाहरुलाई आयमूलक व्यावसायिक र सीपमूलक तालिमहरु दिएर यी क्षेत्रहरुको व्यावसायिक पेसामा संलग्न गराउनुपर्दछ। राज्यले युवाहरुलाई सहुलियत दरमा ऋण, व्यवसायमा बिमाको व्यवस्था, बजार व्यवस्थापनलगायतका सुविधाहरुको व्यवस्था गर्न आवश्यक छ। यसो भएमा युवाहरु विदेश जानबाट रोकिन्छन्। बरालिएका र निराश भएका बेरोजगार युवाहरु व्यावसायिक पेसामा आबद्घ हुन थाल्छन्। त्यसपछि गाउँघरमा विकासले गति लिन थाल्छ। गाउँहरु आफ्नै उत्पादनमा आत्मनिर्भर हुन थाल्छन्। स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुको किनबेचको कारोबारले आर्थिक समृद्धि बढ्दै जान्छ। परनिर्भरता कम हुँदै जान्छ। देशले विकासको गति लिन्छ।

अबको स्थानीय तहको नेतृत्वमा युवाहरुको सहभागिता हुन आवश्यक छ। युवाहरुको पिरमर्का युवानेतृत्वले बुभ्mन सक्छ। अहिलेको युवाशक्तिले कामको महत्व बुझेको छ। देश विदेशमा हण्डर खाएको छ। पढेलेखेको पनि छ। यस निर्वाचनमा बुढ्यौलीले छोएका, जाँगर हराइसकेका, सिद्घान्तका मात्र गफ गर्ने तर काम नगर्र्नेेहरुलाई आराम गर्न दिनुपर्दछ। भिजन र विकासको कार्ययोजना भएका युवानेतृत्वको चयन स्थानीय तहदेखि नै हुन सकेमा देशले विकासको गति लिन सक्छ। राज्यले प्रत्येक गाउँपालिका, नगरपालिका, उपनगरपालिका र महानगरपालिकाहरुमा युवाशक्तिलाई आफ्नै स्थानीय तहमा आयआर्जनको अवसर प्रदान गर्नका लागि युवा स्वरोजगार ब्रिगेड सञ्चालन गर्नुपर्दछ। अबको विकसित नेपाल युवाहरुको मेहनत र पसिनाविना सम्भव छैन। आर्थिक समृद्धिका अवसरको अभावले बरालिएको युवापुँजीलाई भरपर्दो आयआर्जनका काममा लगाएर मुलुकलाई विकासको मार्गमा अगाडि बढाउन राज्यले अब ढिला गर्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस्