दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको मृत्यु



दोलख, (नेस)
दोलखाको कालिञ्चोक गाउँपालिका–७ सुनखानी झर्मासीमा सोमबार बिहान सशस्त्र प्रहरीको हाइलक्स जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सशस्त्रका डीएसपीसहित दुई जना घाइते भएका छन्।

सशस्त्र सुरक्षा बेस लामाबगरको हाइलक्स जिप सदरमुकाम चरिकोट आउने क्रममा दोलखा लामाबगर सडक खण्डको झर्मासीमा दुर्घटना हुँदा जिपका चालक सशस्त्रका हवल्दार सिन्धुपाल्चोक घर भएका मोहनबहादुर घिमिरेको मृत्यु भएको जिल्ला प्रमुख डीएसपी प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए। जिप दुई सय मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा परी सशस्त्रको सुरक्षा बेस लामाबगरका प्रमुख डीएसपी शम्भुजंग थापा र प्रहरी जवान शिव कसवार माझी घाइते भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। माथिल्लो तामाकोसी आयोजनाको सुरक्षार्थ रहेको सुरक्षा बेस लामाबगरका प्रमुख डीएसपी थापा सुरक्षा बैठकका लागि सदरमुकाम चरिकोट आउँदै गर्दा दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्