सुनाकोठीको ऐतिहासिक जात्रा यँसी गाले, यँसी ठना



जयकुमार महर्जन, ललितपुर
यही जात्रागीत गुनगुनाउँदै परापूर्वकालदेखि नै मनाइँदै आइरहेको ऐतिहासिक सुनाकोठी जात्रा आज मनाइँदै छ।

हेरक वर्ष चैत्र शुक्ल त्रयोदशीदेखि चैत्र शुक्ल पूर्णिमासम्म मनाइने यो जात्रा त्रयोदशीका दिन करिब ६५ हाते अग्लो लिंगो ठड्याएपछि शुरू हुने गर्दछ। यो लिंगोलाई महादेवको प्रतीकको रूपमा पनि लिने गरिन्छ। लिंगो ठड्याउनुअघि स्थानीय गुठियारहरूले लिंगो ठड्याउने खाल्डो अर्थात् ‘योसी गा’ मा विधिपूर्वक पूजाआजा गर्ने गरिन्छ।

स्थानीय एक गुठियारले बताएअनुसार लिंगो माथि टुप्पोमा राष्ट्रिय झण्डा, पञ्चरत्न कपडा, कुसी स्वाँ (स्थानीय भाषामा एक प्रकारको विशेष फूल) राख्ने गरिन्छ साथै टुप्पोदेखि तलसम्म एक प्रकारको कपडा झुण्डइइएको हुन्छ जुन कपडामा विभिन्न देवी–देवताहरूको चित्र कुँदिएको हुन्छ।

कुनै पनि विपत्ति नआओस् भनेर यस्ता चिजहरू लिंगोमा राख्ने गरेको एक गुठियारले नेपाल समाचारपत्रलाई बताए।

सुनाकोठी जात्राको मुख्य आकर्षण भनेको बालकुमारीको खटयात्रा हो। परापूर्वकालदेखि नै नियमितरूपमा चल्दै आइरहेको यो जात्रा यहाँका स्थानीय युवाहरूले आजका मितिसम्म पनि जीवितै राखेका छन्। यहाँका
संस्कृतिप्रेमी युवाहरूको सक्रियतामा नै जात्रा सञ्चालन हुँदै आइरहेको छ। जात्रा जम्मा ३ दिनसम्म चल्ने गर्दछ। पहिलो दिन विधिपूर्वक पूजाआजा गरेर लिंगो ठड्याइन्छ।

दोस्रो दिन मुख्य देवी–देवताहरू बालकुमारी, कुमार, गणेश र महादेवको मूर्तिलाई मूलचोक (लाछी) मा पूजा गरी विभिन्न गरगहना लगाउने गरिन्छ। मूर्तिहरूलाई खटमा राख्नुअघि गुठीका गुठियारहरू तथा गाउँका जेष्ठ नागरिकबाट पूजा गरिन्छ। पूजा सकिसकेपछि खटमा राखी साँझतिर जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन अपराह्न देवी–दवताको खटलाई बोकी बाजागाजासहित गाउँको परिक्रमा गराइन्छ। सोही दिन बेलुका सबै देवी–देवताको खटलाई बोकेर पीठमा लैजाने गरिन्छ। त्यहाँ नित्यपूजा गरेपछि पुनः खटहरूलाई बोकेर गाउँ परिक्रमा गर्ने गरिन्छ। जात्राको मुख्य रोमाञ्चक विशेषता भनेकै यही हो।

एउटा राम्रो पक्ष भनेको यो जात्रामा यहाँका स्थानीय युवाहरूको व्यापक मात्रामा सहभागिता रहेको हुन्छ। युवाहरूकै विशेष सहभाागितामा यो जात्रा चलेको हुन्छ। जात्राको अन्तिम दिनको राति त्रयोदशीका दिन ठड्याएको लिंगो ढाल्ने गरिन्छ। लिंगो ढालेसँगै जात्रा समाप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्