बौद्ध भिक्षुद्वारा १० लाख मन्त्र जप शुरू



नेपाल समाचारपत्र
ताप्लेजुङ
विश्व शान्तिको कामना गर्दै ताप्लेजुङको सुकेटारमा बौद्ध धार्मावलम्बीले १० लाख मन्त्र जप्न शुरू गरेका छन्। विश्वमा अशान्ति बढ्दै गएको भन्दै अवतारी लामाको उपस्थितिमा पूर्वका बौद्ध धर्मावलम्बीहरूले एकसाथ मन्त्र जप्न शुरू गरेका हुन्।

आइतबार बिहान विषेश पूजाको साथमा शुरू गरिएको सो कार्यक्रमलाई वज्रगुरु मन्त्रजप कार्यक्रम नाम दिइएको छ। कार्यक्रममा मन्त्र जप गर्न भुटानबाट प्रमुख अवतारी लामा दिल्गु खेन्चे रिन्पोछेलाई काठमाडौं ल्याई सोमबार हेलिकोप्टरबाट कार्यक्रम स्थल सुकेटार ल्याइएको आयोजक समिति ताप्लेजुङका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा (थोत्तेन जिग्डोल) ले बताएका छन्। १ करोड बढीको लगानीमा शुरू गरिएको सो कार्यक्रम मंगलबार सम्पन्न हुने शेर्पाको भनाइ छ।

यसैबीच मन्त्र जप गर्न १ हजार ४ सय जना बसेका छन्। यो अपेक्षा गरिएभन्दा दुई गुणा बढी रहेको आयोजकले बताएको छ। वज्रगुरु मन्त्र जप कार्यक्रम मूल आयोजक समितिका सदस्य सचिव पासाङरिता शेर्पाले २ सय ४५ जना लामा र बाँकी १ हजार १ सय ५५ जना गृहस्थी मन्त्र जपमा बसेको जानकारी दिनुभयो। मूल आयोजक समितिले यसअघि २ देखि ५ सय जना मात्र मन्त्र जपमा बस्ने अनुमान गरेको थियो। मन्त्रजपमा बस्नेलाई कुनै असुविधा नहुने गरी आयोजक समितिले तयारी गरेको शेर्पाले बताउनुभयो। मन्त्रजपमा ५ जना अवतारी लामा रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्