वनका कर्मचारी फरार अपराधी



बारा, (नेस)
अदालतले जेल फैसला गरेका एक दोषी कर्मचारी सजाय भुक्तानबिना नै लामो समयदेखि जिल्ला वन कार्यालय बारामा कार्यरत रहेको पाइएको छ। जिल्ला अदालत कपिलवस्तुबाट ६ महिना जेल दण्डको फैसला गरिएका सहायक वन अधिकृत शशिकान्त तिवारी अदालतको आदेश अटेर गरी वन कार्यालयमा कार्यरत रहेका हुन्।

जिल्ला वन कार्यालय कपिलवस्तुमा रहँदा काठ चोरी तस्करीमा संलग्न अभियोगको वन मुद्दामा जिल्ला अदालत कपिलवस्तुले ०७२ साल भदौमा तिवारीलाई ६ महिना जेल सजायको फैसला सुनाएको थियो। तिवारीले गरेको पुनरावेदनमा बुटवल पुनरावेदन अदालतले पनि ०७३ मंसिरमा जिल्ला अदालतको फैसलालाई नै सदर गर्दै दोषी ठहर गरेको छ।

मुद्दाको अवस्था र कार्यान्वयनका लागि मिसिलसहित जिल्ला अदालतले वन कार्यालयमा पुनरावेदन फैसलालगत्तै जानकारी पठाइसकेको बताइएको छ। तर कारबाही अघि बढाउनुको साटो कार्यालयले सहायक वन अधिकृत तिवारीलाई संरक्षण गर्दै आएको छ। जिल्ला अदालत कपिलवस्तुमा मुद्दा विचाराधीन रहेको अवस्थामा तिवारी डेढ वर्षअघि सरुवा मिलाएर बारा आएका हुन्।

इलाका वन कार्यालय रतनपुरीमा कार्यरत तिवारी जिल्लामा आएपछि पनि वन तस्करी आरोपमा पटकपटक विवादमा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मी अदालतको फैसलाबारे आफूहरूलाई कुनै जानकारी नभएको तर सम्बन्धित निकायबाट जानकारी प्राप्त भएको खण्डमा त्यस्ता व्यक्तिलाई फरार अपराधीको सूचीमा राखी तत्काल पक्राउ र कानुनअनुसार सजाय भुक्तान गराइने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्