को बन्ला गोरखाका गाउँपालिकाको अध्यक्ष ?



सन्तोष अधिकारी, गोरखा ।

स्थानीय निकायको निर्वाचनको मिती नजिकिएसँगै गोरखाका राजनितिक दलहरु पनि निर्वाचन केन्द्रीत कार्यक्रम गर्न सक्रिय भएका छन् । २० वर्ष पनि हुन लागेको स्थानीय निकायको निर्वाचन भएकोले पनि धेरै नेताहरुमा गाउँपालिकाको नेतृत्व सम्हाल्ने होड चलेको छ । जिल्लाको गण्डकी गाउँपालिकामा पनि अहिले विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता निर्वाचनको प्रचार प्रसार सँगै उमेद्वार को भन्ने विषयमा चर्चा गर्न थालेका छन् । गोरखामा दुई नगरपालिका र सात गाउँपालिकामा स्थानीय निर्वाचन हुनेछ ।

गण्डकी गाउँपालिका
जिल्लाकोगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसमा विशेष गरी दुई जनाको नाम चर्चामा रहेको छ । कांग्रेसका नेता भीमप्रसाद अर्याल र रेशम गुरुङ्ग मध्ये एक जना गाउँपालिकाको अध्यक्षको उमेद्वार हुने नेपाली कांग्रेस स्रोतले बतायो । अर्याललाई सोही गाउँपालिकाको वडा नम्बर २ बाट गाउँपालिकाको अध्यक्षको उमेद्वारको लागि सर्बसम्मत प्रस्ताव लैजाने निर्णय समेत गरिसकेको छ । गुरुङ्ग आफैँ भने अध्यक्षमा चुनाव लड्ने मनसायमा छैनन् ।

कांग्रेसबाट गण्डकी गाउँपालिकाको उपप्रमुखमा ललिता अधिकारी र जाकुका पन्तको नाम चर्चामा रहेको छ । नेकपा एमालेमा गण्डकी गाउँपालिकामा अध्यक्षको उमेद्वार बन्नलाई तीन जनाको नाम चर्चामा रहेको एमालेले जनाएको छ ।

एमालेबाट अध्यक्ष दलको लागि आकांक्षीहरु लेबेन्द्र गुरुङ्ग, तोपमान श्रेष्ठ, विष्णु पन्त रहेका छन् । उपप्रमुखम पदमा महिलाहरु हुने तर को को ले इच्छाएका छन भनेर एमालेले बताएन । नेकपा माओवादीले पनि अहिले सम्म अध्यक्षको उमद्वार को बनाउने भन्नेबारे टुंगो लगाइसकेको छैन । केन्द्रबाट अध्यक्षको लागि दिपक तिमल्सीना, राजकुमार विक, अकुर तिमल्सीना, जीवन तमुको नाम चर्चामा रहेको छ । माओवादी स्रोतका अनुसार आकांक्षीहरु मध्ये दिपक तिमल्सीना बलियो पात्र रहेको माओवादी स्रोतले बतायो । त्यस्तै नयाँशक्ति नेपालले पनि अझै उमेद्वारको टुंगो लगाउन सकेको छैन । नयाँ शक्तिबाट कुमार तिवारी, भीम श्रेष्ठ, शिव रेग्मीको नाम चर्चामा रहेको छ । नयाँ शक्तिबाट उपप्रमुखमा दुर्गा गुरुङ्ग, र सम्झना ढकालको नाम चर्चामा रहेको छ ।

अजिरकोट गाउँपालिका
नेपाली कांग्रेसलाई अजिरकोट गाउँपालिकामा पनि उमेद्वारको टुंगो लगाउन हम्मेहम्मे पर्ने देखिन्छ । अध्यक्ष पदका लागि यूवा नेता ओम गुरुङ्ग, फडिन्दद्र धिताल, तोयाराज, गोविन्द गुरुङ्गको, बुद्धिबहादुर तामाङको नाम चर्चामा रहेका छन् । त्यस्तै उमप्रमुखमा मिना अधिकारी, चन्द्रमायाँ गुरुङ्गको नाम चर्चामा रहेको छ । एमालेबाट गुणबहादुर भूजेल, गिरीधरी सापकोटा, सनबहादुर तामाङको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रबाट दिपक देवकोटा, मुक्ति विक, शनिल परियार, चन्द्र भूजेल मध्येबाट एक जना उमेद्वार बन्ने माओवादीले जनाएको छ ।

सिरान्चोक गाउँपालिका
सिरान्चोक गाउँपालिकाको लागि सिपी पोखरेलको नाम कांग्रेसबाट बढी चर्चामा रहेको छ । पोखरेल सँगै अशोक गुरुङ्ग, मनकुमारी गुरुङ्गको नाम पनि चर्चामा नै रहेको छ । त्यस्तै उपप्रमुखमा रिता देवकोटाको नाम अगाडी छ । एमालेबाट सिरान्चोक गाउँपालिकामा जिल्ला अध्यक्ष प्रेम गुरुङ्गको नामपनि चर्चामा रहेको छ । उनी सँगै देवराज श्रेष्ठ, विराज गुरुङ्गको पनि नाम आएको छ । माओवादी केन्द्रबाट नवराज पुडासैनी र पुष्पराज दाहाल मध्ये एक जना अध्यक्ष पदमा भिड्नेछन् ।

सहिद लखन गाउँपालिका
सहिद लखन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट कृष्ण आले, जनार्दन अर्यालको नाम चर्चामा रहेको छ । । कांग्रेसमा उपप्रमुखमा कमला लामिछानेको नाम पनि चर्चामा रहेको छ । नेकपा एमालेले यस गाउँपालिकामा सुरेन्द्र थापा र मनोज जोशी मध्ये एक जनालाई अध्यक्षको उमेद्वारको टिकट दिने बताएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भने हितमान सुर्खेती, सञ्जीव थापा, श्याम कुमार श्रेष्ठको नाम चर्चामा रहेको छ । माओवादीले हितमान सुर्खेतीलाई सहिद लखन गाउँपालिकाको अध्यक्षको उमेद्वारको टिकट दिने तयारी गरेको माओवादी स्रोतले जानकारी दिएको छ ।

भीमसेन गाउँपालिका
भीमसेन गाउँपालिकामा नेपाली कांग्रेसबाट इश्वरपाण्डेको नाम अगाडी छ । कांग्रेसबाट गाउँपालिकाको अध्यक्षको लागि नाम भने तारा पुडासैनी, बासु थापा, ठाकुर भटु्ट यूवराज बस्ताकोटी चर्चामा छन् । एमालेले सुरेश श्रेष्ठ, प्रतिप सिंखडा, कालिका पाण्डेको नाम चर्चामा रहेको छ । त्यस्तै माओवादी केन्द्रबाट भने लोकप्रसाद बञ्जराको नाम बढी चर्चामा रहेको छ । अन्य केहि ब्यक्तिहरुको नाम चर्चामा रहेपनि लोकप्रसाद बञ्जरालाई गाउँपालिकाको अध्यक्षको उमेद्वार बनाउने सम्भावना रहेको स्रोतले बतायो । बञ्जरालाई यस अघि नै माओवादीले गाउँपालिका प्रमुखको जिम्बेवारी दिएर पठाएको छ ।

आरुघाट गाउँपालिका
जिल्लाको दोस्रो ब्यापारिक क्षेत्र समेत रहेको आरुघाट गाउँपालिकाको लागि नेपाली कांग्रेसका बलिया उमेद्वार हुन पूर्ण दाहाल । दाहाल सँगै गगन अधिकारी, राजु गुरुङ्गको नाम चर्चामा रहेको छ । अरुको नाम चर्चामा रहे पनि दाहालले नै आरुघाट गाउँपालिकाको अध्यक्ष पदको टिकट पाउने कांग्रेस स्रोतले बतायो । कांग्रेसबाट उपप्रमुखमा कल्पना नेपाली, मनमायाँ गुरुङ्गको नाम चर्चामा आएको छ । एमालेले कृष्ण नेपाली, बक बहादुर गुरुङ्ग लगायतको नाम चर्चामा ल्याएको छ । एमालेले पनि बर्तमान जिल्ला कार्यसमितीका सचिब कृष्ण नेपालीलाई टिकट दिने सम्भावना बलियो रहेको एमाले स्रोतको दाबी छ ।

सुलिकोट गाउँपालिका
जिल्लाको सबै भन्दा विवादीत बनेको सुलिकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदको लागि इन्द्र कुमार गुरुङ्ग,केशरी ढकाल, राम कुमार श्रेष्ठको नाम चर्चामा रहेको छ । उपप्रमुखमा जनककुमारी कोइरालाको नाम कांग्रेसमा अगाडी आएको छ । सुलिकोट गाउँपालिकामा एमालेबाट धनीराम घले, खिल प्रसाद पनेरु, दलबहादुर भट्ट लगायतका नेताहरुको नाम चर्चामा छ । माओवादी केन्द्रबाट भने विष्णु भट्ट, धामी बराम, नरबहादुर गुरुङ्ग, अमर गुरुङ्गको नाम आएपनि विष्णु भट्टलाई अध्यक्षको टिकट दिने माओवादी स्रोतले बतायो ।

धार्चे गाउँपालिका
धार्चे गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका लागि एक महिला र एक पुरुषको नाम चर्चामा छ । फुलमायाँ गुरुङ्ग, सन्तोष गुरुङ्गको नाम चर्चामा रहेको हो । उपप्रमुखमा मानब गुरुङ्ग र उर्मिला घलेको नाम चर्चामा रहेको छ । यस गाउँपालिकामा एमालेले कमानसिंह गुरुङ्ग र शुकबहादुर मध्ये एक जनालाई गाउँपालिकाको अध्यक्ष पदको लागि उमेद्वार बनाउने बतायो । माओवादी केन्द्र भने सभाषद छमबहादुर गुरुङ्गलाई अध्यक्षको उमेद्वार बनाउने सम्भावना बलियो छ । छम बहादुर सँगै मित्र सुनार, सूर्य गुरुङ्ग, आशा गुरुङ्ग, राकेश गुरुङ्गको नाम पनि चर्चामा रहेको छ ।

चुम नुब्री गाउँपालिका
तिब्बत सँग सिमाना जोडिएको चुम नुब्री गाउँपालिकाको अध्यक्ष बन्न अहिले सम्म नेपाली कांग्रेसबाट दुई जनाको नाम चर्चामा रहेको छ । छेवाङग्याल्जे, पेमा ग्याल्जेनको नाम चर्चामा रहेको हो । एमालेले चुम नुब्री गाउँपालिकामा लोप्साङ लामा र गंगा बहादुर गुरुङ्ग मध्ये एक जनालाई टिकट दिने बताएको छ । माओवादी केन्द्रबाट निमालामा लाक्पा ढुण्डुपलामा, रामकुमार गुरुङ्गको नाम पनि चर्चामा छ । माओवादी स्रोतका अनुसार तीन जना मध्ये निमा लामाको सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस्