४८ अर्बको निर्यात, ६२८ अर्बको आयात



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्ष २०७३⁄७४ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १२ दशमलब ८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २२ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलब ९ प्रतिशतले ह्रास आएको थियो।

राष्ट्र बैंकको आठ महिनाको आर्थिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा भारततर्फ १६ दशमलब ३ प्रतिशत, चीनतर्फ १३ दशमलब ४ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलब २ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तारलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पोलिस्टर धागो, तयारी पोशाक, ऊनी गलैंचालगायतका वस्तुको निर्यात घटेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात ४४ दशमलब २ प्रतिशतले बढेर ६२८ अर्ब ५६ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलब ९ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७ दशमलब ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलब २ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपूर्जा, सिमेन्टलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाकलगायतका वस्तुको आयात घटेको छ। भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए पनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ।

त्यसैगरी आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा ४७ दशमलब ६ प्रतिशतले बढी ५८० अर्ब ३४ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापारघाटा १२ दशमलब ५ प्रतिशतले घटेको थियो। निर्यात–आयात अनुपात ७ दशमलब ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलब ८ प्रतिशत रहेको थियो। आठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा १० दशमलब ७ प्रतिशत र आयात मूल्य सूचकांकमा ८ दशमलब २
प्रतिशतले वृद्धि भएकाले व्यापारको सर्त २ दशमलब ४ प्रतिशतले सुधार भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २५ दशमलब १ प्रतिशतले बढेको थियो। कार्पेट, पश्मिना, अलैंचीको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

पेट्रोलियम पदार्थ, सवारी साधन, मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो। त्यस्तै कुल सेवा आय १७ दशमलब ९ प्रतिशत र कुल सेवा खर्च १९ दशमलब ४ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत ३ अर्ब ७३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ४ अर्ब १९ करोड रहेको थियो। सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३८ दशमलब ७ प्रतिशतले वृद्धि भई ३६ अर्ब २० करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २४ प्रतिशतले घटेको थियो।

त्यसैगरी समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५ दशमलब ३ प्रतिशतले वृद्धि भई ४४९ अर्ब ९९ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५ दशमलब २ प्रतिशतले वृद्धि भएको थियो। खुद ट्रान्सफर आय ८ दशमलब ४ प्रतिशतले वृद्धि भई ५४२ अर्ब ७२ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्