वडासँगै जीवन फेरिने डोटेलीको आश



नेपाल समाचारपत्र
डोटी
बाफी, मटेओडार, इथाली, खैरतोला, साल्तडा, गोसेडा, घटाली, ओटपाकरी, बालासैन, कैलडा दिपायल सिलगढी नगरपालिकाभित्रका सबैभन्दा पिछडिएका बस्ती हुन्। यहाँ सडक, खानेपानी, सिँचाइ, विद्यालय, स्वास्थ्यलगायतका सुविधा सरकारले अहिलेसम्म पुर्याउन सकेको छैन। परिवार पाल्न यी गाउँबाट अधिकांश युवा भारतमा छिरेका छन्। वडा नं. ८, ९, १२ र १४ मा पर्ने यी बस्तीमा अहिलेसम्म गैरसरकारी संस्थासमेत पुगेका छैनन्। यी गाउँका सुखदुःख न नेताहरूले कहिल्यै प्राथमिकतामा पारे न मिडियाले कहिल्यै उजागर गरे।

अहिले भने यी वडाहरू नयाँ संरचनामा जाँदा फेरिएका छन्। वडा नं ८ र ९ लाई ३ मा, १२ लाई १ मा, १४ लाई ७ मा गाभिएको छ। आसन्न स्थानीय तहको निर्वाचनले वर्षौदेखि भोगिएको पीडालाई कसरी सम्बोधन हुन्छ भन्ने चिन्ता बाफी गाउँका वृद्ध कालु साउदमा छ। ‘वडा पनि फेरिए जीवन पनि फेरिएला भन्ने आश छ’, कालु साउदले केही आशासँगै आक्रोश पोख्नुभयो– ‘हाम्रो जनप्रतिनिधि नहुँदा बस्ती वडाबाट न्याय गरी बोलिदिने, कुरा राखिदिने पहुँचवाला नहुँदा पशु सरहको जीवन गुजार्यौं।’ उहाँको अबको निर्वाचनबाट चुनिने जनप्रतिनिधिबाट गाउँको विकासमा केही प्रभाव पर्ने आशा व्यक्त गर्नुभयो। आँखाले हेर्दा यी गाउँ दिपायल, कालागाढ, समुहागाढ, तलकोटबाट नजिकै देखिन्छन्। बीचमा सेती नदी नहुँदा यी बस्तीमा आवातजावत धेरैको हुँदैन। घटाली, बाफी, मटेओटार बस्तीका बासिन्दा सडकको पहुँचमा आउन नदीमा नाउमा तरेर आउने गर्छन्।

यसरी नदी तर्दातर्दै ८ जना बगेर बेपत्ता भएको वडा नं. ८ की सामाजिक परिचालक हरिप्रिया ओझाले जानकारी दिइन्। वडा नं. ११ को तिखा–एयरपोर्ट हुँदै दिपायलमा पैदल आउने हो भने तीन घण्टा समय लाग्छ। नदीमा झुलु·े पुल सरकारले नहाली दिँदा स्थानीय नगरपालिकासँग झन्डै सम्पर्कविहीनजस्ता छन्।
गाउँमै केही पढलेख गर्ने, असल गृहणी बन्ने, श्रीमान्ले गाउँमै कमाएको आम्दानीबाट जिन्दगी काट्ने सपनाका साथ प्रेम विवाह गरेकी २३ वर्षीया मनीषा साउद घरजम बसेपछि भने छाँगाबाट खसे सरह छिन्। ‘पोइली गाउँको गरिबी, बेरोजगारी, अशिक्षा र पछौटेपनले सपनाहरू सेती नदीमै बगे’, नागरिक सचेतना केन्द्रको छलफलमा भेटिएकी बाफी गाउँकी मनीषाले दुखेसो पोख्नुभयो– ‘बजार जान नदीमा डुंगा चढ्नु, खानेपानीको हाहाकार, भोको पेट भर्न श्रीमान्ले भाँडा माझेर भारतबाट पठाएको रुपियाँको भर पर्नु मेरो नियती भएको छ।’

अहिले तिनै मनीषा साउद स्थानीय तहको निर्वाचनबाट वडामा छलफल गरी विश्वासिलो जनप्रतिनिधि पठाएर गाउँको विकास हुनेमा केही आशावादी छिन्। ‘नगरपालिकाले दिएको भनेको एउटै नागरिक सचेतना केन्द्र मात्रै हो’, नेता र कर्मचारीप्रति असन्तुष्टि देखाउँदै मनीषाले प्रश्न गर्नुभयो– ‘अहिलेसम्म हामी हेपियौं चेपियौं, गरिब, पिछडिएका र पहुँच नभएका हामीहरूलाई ज्यूँदै मर भनेर छोड्नुभयो।’

प्रतिक्रिया दिनुहोस्