कुरूप बन्दै वीरेन्द्रनगर



सुर्खेत, (नेस)
वीरेन्द्रनगर नगरपालिका–६ को गोदामलाइनस्थित खानेपानी गोदाम भवनको वरिपरि फोहोर व्यवस्थापन गर्ने थलो बनाइएको छ। बजारको मुख्य क्षेत्रबाट ल्याइएको फोहोर झन्डै २ वर्षदेखि निरन्तर उक्त स्थानमा करिब ५ हजारभन्दा बढी ट्रिप फोहोर थुपारिएको छ। बजारको मुटुमै फोहोर थुपारिने क्रम बढेपछि स्थानीयहरू रोग लाग्ने हो कि भन्ने आशंकामा बाँचिरहेका छन् भने उक्त क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ।

नगरपालिकाभित्रको फोहोर संकलन गर्ने जिम्मा पाएको द ग्रीन सिटी सेवा नेपालले उक्त स्थानमा फोहोर थुपार्ने गरेको हो। फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर–१ को तारे भीर तोकिए पनि उक्त संस्थाले अटेर गर्दै गोदामलाइनलाई नै फोहोर व्यवस्थापन गर्ने थलोको रूपमा प्रयोग गर्दै आइरहेको स्थानीयले आरोप लगाए। पटकपटक नगरपालिका र फोहोर संकलन गर्ने जिम्मा पाएको द ग्रिन सिटी सेवा नेपालसँग गोदाम लाइनमा जथाभावी फोहोर नफाल्न आग्रह गर्दा समेत अटेर गरेको स्थानीयले गुनासो गरेका छन्।

प्रदेश नं. ६ को प्रस्तावित राजधानी सुर्खेतमा दिनप्रतिदिन फोहोरले कुरूप बन्दै गएको छ। वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजारमा दैनिक फोहोर संकलन गरे पनि नगरपालिकाले खासै फोहोर व्यवस्थापनमा ध्यान नदिएको तरुण दल सुर्खेतका सभापति हरि विष्टले बताए। उक्त स्थान फोहोर फाल्ने डम्पिङ साइड नै भएको भन्दै फोहोर थुपार्ने र पछि माटो लिएर फोहोरलाई पुर्ने गरेको उनको भनाइ थियो। यसरी फोहोर थुपार्दा उक्त क्षेत्रमा गन्धले बस्न नसकिने बताउँदै वर्षात्को समय र पानी परेको समयमा झन् बढी गन्ध आउने गरेको र जमिन भासिने गरेको अर्का स्थानीय युवराज शर्माले बताए। नगरपालिकाले फोहोर संकलन गर्न खटाए पनि मुख्य बजार क्षेत्रका नाला, अन्य बजार, सडकका फोहोर उठाउने गरेको र फोहोर व्यवस्थापनका लागि तारे भीरमा लग्ने व्यवस्था भए पनि नलगेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्