जग्गामा महिला हावी



नेपाल समाचारपत्र
बाँके
बाँकेका महिलाले जग्गामा स्वामित्व बढाएका छन्। जिल्ला मालपोत कार्यालय, बाँकेका अनुसार, पछिल्लो समयमा ५६ प्रतिशत बढी जग्गा पास महिलाको नाममा भएको छ।

शहर बजारका मात्रै होइन, ग्रामीण भेगका महिलाले पनि जग्गामा स्वामित्व बढाएका छन्। मालपोत कार्यालयको तथ्यांकले सम्पत्ति पुरुषको नाममा मात्रै हुनुपर्छ भन्ने नेपाली समाजको परम्परावादी सोचमा परिवर्तन आएको देखाएको छ।

मालपोत कार्यालय, बाँकेमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८ हजार ९ सय ५८ जनाले जग्गा पास गरेका छन्। तीमध्ये ५ हजार ३९ जना महिला रहेका छन्। महिलामा पनि ३ हजार १८ बजार र २ हजार २१ जना ग्रामीण भेगका रहेका छन्। फागुनमा मात्रै १ हजार २ सय २३ जनाले जग्गा पास गरेकोमा ७ सय २४ जना महिला थिए।

अधिकारीहरूका अनुसार, महिलाले सम्पत्तिमा हक जमाउनुका केही कारणहरू छन्। महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट हुनु, श्रीमान्ले वैदेशिक रोजगारबाट पैसा पठाउनु र यहाँ श्रीमतीले जग्गा किन्नु प्रमुख कारण मानिन्छन्। महँगो जग्गा किन्दा राजस्व छुटका लागि महिलाको नाममा जग्गा राख्ने गरेको पाइएको छ। पछिल्लो समयमा कारोबार भएका अधिकांश जग्गा भने घडेरीका रूपमा रहेका छन्।

सरकारले महिलालाई राजस्वमा छुट दिनुको कारण पनि उनीहरू जग्गाका मालिक बन्न सकून् भन्ने नै रहेको अधिकारीहरू बताउँछन्। सरकारले महिलासँगै जेष्ठ नागरिक, अपांगता भएकाका लागि पनि छुटको व्यवस्था गरेको छ।

मालपोत कार्यालयका अधिकृत मुक्तिप्रसाद शर्माका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा २ करोड ७४ लाख रुपियाँ छुट पाएका छन्। त्यसमा २ करोड २१ लाख बजार र ५३ लाख ग्रामीण भेगको रहेको छ।

महिलाको सम्पत्तिमा स्वामित्व बढेसँगै विकृतिका बाछिटाहरू पनि देखिएका छन्। वैदेशिक रोजगारमा बसेर पैसा पठाउने श्रीमानहरू घर फर्किदा सम्पत्ति र श्रीमती नरहने विकृति देखा परेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेमै यस्ता श्रीमान्का दर्जनौं निवेदन परेका छन्। यद्यपि, श्रीमती विदेश गएर पैसा पठाउने र घरमा बसेका श्रीमान्ले मोजमस्ती गरेर सिध्याउने गरेको पनि पाइएको छ। महिलाको नाममा सम्पत्ति हुनेबित्तिकै घरेलु हिंसामा कमी हुने गरेको सम्बद्ध भुक्तभोगी नै बताउँछन्।
पछिल्लो विकृति रोक्नका लागि संयुक्त लाजपुर्जाको अवधारणा अघि सारिएको छ। अधिकारका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाले यस्ता अभियानहरू चलाउन थालेका छन्। मालपोत कार्यालयका अधिकृत शर्माले संयुक्त नामसारी पनि भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्