सगरमाथा आरोहणका लागि क्याप्प टुसम्म बाटो बन्यो



बुद्धवीर बाहिङ, सोलुखुम्बु
सगरमाथा आरोहणका लागि सबैभन्दा खतरनाक मानिएको खुम्बु आइसफल हुँदै क्याम्प टुसम्मको बाटो बनाउने काम सकिएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आठ जना आइफल डाक्टरले सगरमाथाको आधार शिविरदेखि क्याम्प टुसम्मको बाटो बनाउने काम सकेका हुन्।

गत सिजनको तुलनामा यस वर्ष एक हप्ता अगाडि नै क्याम्प टुसम्मको बाटो बनाउने काम सकिएको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए। एसपीसीसीका आईसफल डाक्टरहरूले सगरमाथाको आधार शिविरदेखि क्याम्प टुसम्मको बाटो बनाउने काम सके पनि त्यो बाटोलाई निरन्तर सरसफाइ गरिरहने समेत एसपीसीसीका अधिकृत राईले बताए। ‘बाटो बनाइसके पनि खुम्बु आइसफलमा हाम्रा आइसफल डाक्टरहरूले पालैपालो दैनिक रूपमा हेरचाह गरिरहन्छन्’ –अधिकृत राईले भने। बनाइसकेको बाटोमा स–साना हिउँपहिरो झरिरहनाले पनि आधार शिविरदेखि क्याम्प टुसम्मको बाटोमा आइफल डाक्टरहरूले दैनिक रूपमा बनाइरहनुपर्ने एसपीसीसीका बेस क्याम्प म्यानेजर छिरिङ तेन्जिङ शेर्पाले बताए।

खुम्बु आइसफलको बीचबाट यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाइएको छ। सन् २०१४ मा खुम्बु आइसफको कुनाबाट बाटो बनाइएकोमा हिम पहिरो झर्दा १६ आरोही तथा उचाइका कामदारले ज्यान गुमाएका थिए। हिम पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै गत वर्ष र यो वर्षको सिजनमा आइफलको बीचबाट सगरमाथा आरोहणका लागि बाटो बनाइएको हो।

सगरमाथा, लोत्से र नुप्चे हिमाल आरोहणका लागि २० समूह आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन्। जसमध्ये १६ समूहले सगरमाथा, २ समूहले लोत्से र २ समूहले नुप्चे हिमालको आरोहण गर्ने एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए। यी २० समूहमध्ये एक मात्र नेपाली समूह रहेको छ, ब्रिटिस गोर्खाली सेनाको समूह।
नुप्से र लोत्से हिमाल आरोहण गर्नका लागि पनि सगरमाथाको आधार शिविर हुँदै क्याम्प थ्रीसम्म एउटै बाटो भएर जानुपर्दछ। सगरमाथा आधार शिविरमा यति बेला विभिन्न समूहका आरोही, उचाइको कामदार, क्लाइमिङ शेर्पालगायत चार सयभन्दा बढी मानिसको चहलपहल रहेको अधिकृत राईले बताए।

सगरमाथालगायत खुम्बु क्षेत्रमा रहेका अन्य हिमालहरू आरोहण गर्नका लागि एसपीसीसीमा आरोहीको नाम, आरोहणका लागि लैजाने सामान दर्ता गरेर जानुपर्दछ। हिमाल आरोहण गरेर फर्किदा आपूmले प्रयोग गरेका सामानहरू एसीसीसीको कार्यालय नाम्चेसम्म ल्याउनुपर्ने प्रावधान रहेको छ। हिमाल आरोहणमा आरोहीले जथाभावी फोहोर गरेपछि आरोहणका लागि लगिएको समान प्रयोग गरिसकेपछि पुनः एसपीसीसीको कार्यालय नाम्चेबजासम्म ल्याउनुपर्ने प्रावधान कडाइका साथ लागू गरिएको अधिकृत राईले बताए।

प्रतिक्रिया दिनुहोस्