नयाँ शक्तिद्वारा उम्मेदवारी घोषणा



नेपाल समाचारपत्र
सिन्धुली
निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसिएतमा निर्वाचन चिह्न नदिए नयाँ शक्ति पार्टीले निर्वाचन हुन नदिने भएको छ। नयाँ शक्ति पार्टी सिन्धुलीको बैठकको निर्णय सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका ३ नं. प्रदेश संयोजक गंगानारायण श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई निर्वाचन चिह्न नदिए निर्दलीय व्यवस्थामा हुन लागेको निर्वाचन हुन नदिने बताएका हुन्।

संविधानको भावना विपरीत निर्वाचन ऐन बनाएर निर्दलीय व्यवस्था लाद्न खोजिएकाले त्यस्तो व्यवस्था जनताको हित विपरीत हुने भन्दै कुनै पनि हालतमा त्यास्तो निर्वाचन हुन नदिने संयोजक श्रेष्ठले बताए। ऐन सच्याएर निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गरे। निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई निर्वाचन चिह्न प्रदान गरे सरकारले घोषणा गरेको मितिमा निर्वाचनमा भाग लिन तयार रहेको समेत संयोजक श्रेष्ठले बताए।

स्थानीय तहको निर्वाचनका लागि सिन्धुलीका विभिन्न स्थानीय तहमा प्रमुख पदका उम्मेदवारसमेत सर्वाजनिक गरेको छ। कमलामाई नगरपालिकामा मेयर पदका उम्मेदवार दीर्घराज श्रेष्ठ, घ्याङलेक गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुरजबहादुर स्याङ्तान र तीनपाटन गाउँपालिकाको अध्यक्षको उम्मेदवार सरोज पुलामी मगरलाई बनाउने तयारी भइरहेको र अन्य स्थानमा पनि चाँडै टुंगो लगाउने बताएको छ।

बैठकले संविधान संशोधनमार्फत थारू, मधेसी, आदिवासी जनजातिका मागको सम्बोधन, विशेष, संरक्षित र स्वायत्त क्षेत्रसहितको राज्यको अग्रगामी पुनर्संरचना, प्रभावकारी र निष्पक्ष निर्वाचनका लागि सबै राजनीतिक दल र शक्तिहरूको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार निर्माण गरिनुपर्ने माग राखेका जिल्ला संयोजक दीर्घराज श्रेष्ठले जानकारी दिए। बैठकले स्वच्छ र प्रभावकारी निर्वाचनका लािग निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास, केन्द्र प्रदेश स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन, स्थायित्व, विकास र समृद्धिका लागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिकाको व्यवस्था लागू गर्न समेत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्