प्रमुख पदमा ३३ प्रतिशत महिला हुनुपर्ने माग



नेपाल समाचारपत्र
सिन्धुली
नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघ जिल्ला कार्यसमिति सिन्धुलीले आसन्न स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ। महिला संघले स्थानीय तहको प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा उम्मेदवारीको टिकट दिनुपर्ने माग राख्दै बिहीबार ज्ञापनपत्र पेस गरेको हो।

नेपाली कांग्रेस जिल्ला कार्यसमितीको बैठकमा केन्द्रीय सदस्य श्याम घिमिरे, नेपाली कांग्रेस क्षेत्र नं २ का सभासद् मोहनप्रसाद बराल, जिल्ला कार्यसमिति सिन्धुलीका सभापति उज्जलप्रसाद बराललगायत तीनवटै क्षेत्रीय कार्यसमितिलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको छ।

महिला संघका जिल्ला अध्यक्ष गंगा दाहालले गाउँपालिका तथा नगरपालिकाको वडाहरूमा उम्मेदवारी दिँदा त्यस गाउँपालिका तथा नगरपालिकाको एकतिहाइ अध्यक्ष पदमा महिला अनिवार्य हुनुपर्नेलगायतको ८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ। नगरपालिकामा मेयर उपमेयरमध्ये अनिवार्य एक पदमा महिला हुनुपर्ने कानुनी प्रावधान भए पनि नेपाली कांग्रेसले कम्तीमा ३३ प्रतिशत मेयर पदमा महिला उम्मेदवार बनाउनुपर्ने माग राखेको छ।

नेपाली कांग्रेसका केन्द्रीय, जिल्ला र क्षेत्रीय टिकट वितरण समितिमा नेपाल महिला संघको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने, पार्टीको केन्द्रदेखि गाउँ तहसम्मका हरेक संरचनाहरूको पदाधिकारी र सदस्यहरूमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्नेलगायतको माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउँदै महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालले विकास, ऐतिहासिक परिवर्तन, स्वर्णिम अवसर र दक्षता वृद्धिको अभ्यास आउँदो स्थानीय तहको निर्वाचनले नेपाली महिलाका लागि दिएको धारणा व्यक्त गरिन्। दाहालले नेपालको संविधान २०७२ ले नै स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुई जना सदस्य र स्थानीय तहको प्रमुख र उप–प्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेपछि महिलाहरू अहिले जोडतोडका साथ चुनावी तयारीमा होमिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्