बजारमा गाईजात्रा, अनुगमन टोली बाटैमा गायब



सन्तोष खनाल, काठमाडौं
गुणस्तरहीन दैनिक उपभोग्य सामग्री खुलेआम बेचिरहेका व्यवसायीलाई नछोड्ने भनेको मन्त्रालयको अनुगमन टोली आफैंमा कमजोर बनेको छ। अखाद्य तथा औषधिलगायतको गुणस्तरको नापजाँच गर्ने प्राविधिक नहुँदा टोली कमजोर भएको हो।

आपूर्ति मन्त्रालयको नेतृत्वमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, भेटनरी, जनस्वास्थ्य, नापतौल तथा गुणस्तर विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, उपभोक्तावादी संस्थालगायतको संयुक्त टोली बजार अनुगमनमा छ।

सबै निकायको जम्बो टोली अनुगमनमा गए पनि गुणस्तर ननापिकनै हावाको तालमा अनुगमन हुँदा अखाद्य वस्तुको पहिचान हुन सकेको छैन। बजारमा आफूखुसी पाराले उत्पादन तथा म्याद नाघ्ने मिति हालेर व्यवसाय गरेका व्यवसायीलाई अनुगमन टोलीले चेतावनी दिएर मात्रै छाडेको छ।

मन्त्रालयको बजार अनुगमन व्यवसाय दर्ता र कर तिरेकोमा मात्रै सीमित भएको पाइएको हो। उपभोक्ता संरक्षण ऐन २०५४ मा अखाद्य सामान बेचेमा हुने कारबाही प्रस्टरूपमा खुलाइए पनि ऐनअनुसार कारबाही नभएको पाइएको हो।
औषधि व्यवस्था विभागबाट बजार अनुगमनमा गएको टोलीमा गएका अनुगमन प्रतिनिधि बीच बाटोबाटै गायब भएको पाइएको छ। नियमित अनुगमनमा गइरहेको अनुगमन टोलीमा औषधि पसलमा छापा मार्दा विषय सम्बद्ध हुनुपर्ने भन्दै मन्त्रालयले विभागलाई बोलाउँदै आएको छ।

तर, औषधि व्यवस्था विभागबाट अनुगमनमा खटिएको रेकर्ड दिएका बुद्धिबल चिडी र भूपेन्द्र पौडेल अनुगमनमा देखिएका छैनन्। औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार बुद्धिबल चिडी शुक्रबार अनुगमनमा जानुभएको हो तर बजारमा उहाँ देखिनुभएन।

त्यसै गरी बिहीबार भूपेन्द्र पौडेल मन्त्रालयले नेतृत्व गरेको अनुगमन टोलीमा गएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो। उहाँ पनि बिहीबार दिनभर अनुगमनमा देखिनुभएन। मन्त्रालयले माग गरेको खण्डमा प्रतिनिधि पठाएको सूचना अधिकारी केसी बताउनुहुन्छ। ‘मन्त्रालयले माग गरेको बखत हामीले प्रतिनिधि पठाएका छौं’, केसीले भन्नुभयो– ‘बिहीबार भूपेन्द्र पौडेल जानुभएको हो भने शुक्रबार बुद्धिबल चिडी जानुभएको थियो।’ सूचना अधिकारीले यसो बताए पनि उहाँहरू दुई दिन नै बजार अनुगमनमा देखिनुभएन।

मनलाग्दी तरिकाले उत्पादन मिति राख्दै व्यापारीले दैनिक उपभोग्य सामान बच्ने गरेको पाइएको छ। दैनिक उपभोग्य खाद्य सामग्रीको उत्पादन र उपभोगको समय सकिने मिति स्पष्टरूपमा देखिने गरी राख्नुपर्ने कानुनी प्रावधान छ।

तर, बजारमा व्यापारीहरूले आफ्नो तरिकाले मनलाग्दी मिति लेखेर बेच्ने गरेको पाइएको छ। व्यापारीले स–सानो प्याकेटमा सामान राखेर मनलाग्दी उत्पादन र उपयोग सकिने मिति लेखेर बेचेका छन्।

कालिमाटी क्षेत्रका होलसेल पसलमा आफ्नै पाराले उत्पादन मिति हालेर बेचेको पाइएको हो। बोरामा आउने गरेको चिनी, तिल, अजिना मोटो, जिरा, मसलाको धुलो, आटा, मैदा, छोहरा, गडीलगायत पुरानो मितिमा बनेको सामानको नयाँ उत्पादन मिति हालेर बेचेको पाइएको छ।

मन्त्रालयबाट खटिएको अनुगमन टोलीका संयोजक गोविन्द लुईंटेलले यस्तो हालतमा बजार नियन्त्रण नगरे कुनै हालतमा पनि बजार नसुध्रने बताउनुभएको छ। ‘यस्तो हालतमा हामीले नियन्त्रण नगरे बजार सुध्रदैन’ उहाँले भन्नुभयो, ‘लेबल नलगाएका र आफैं प्याकिङ् गरेर लेबल हालेकाहरू धेरै भेटिएका छन्।’ खाद्य तथा प्रविधिबाट अनुमति लिएर आफ्नै उत्पादन भएमा मात्रै लेबल हालेर बेच्न पाउने प्रावधान भए पनि ब्यापारीले अबैध रूपमा मनलाग्दी गरेका छन्।

यता औषधि व्यवस्था विभागको प्रतिनिधि नहुँदा बजारमा भद्रगोल तरिकाले चलेका मेडिकलले उन्मुक्ति पाएका छन्। अनुगमन टोलीमा जनस्वास्थ्य तथा पशु विभागका प्रतिनिधिले औषधि पसलको अनुगमन गरे पनि मनलाग्दी तरिकाले ब्यापार गरेका औषधि पसलले उन्मुक्ति पाएका छन्। बजारमा भाडामा अयोग्य मान्छे राखेर औषधि पसल चलाउने तथा म्याद नाघेका औषधि बेच्ने गरेका औषधि ब्यापारीलाई सामान्य चेतावनी दिनेबाहेक केही गर्न नसकेको बुझिएको छ।

यता खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि नहुँदा खाद्यान्नमा गुणस्तरको मापन नगरिकनै अनुगमन अगाडि बढेको छ।

खाद्यान्नमा मिसावटका साथै पोलिस लगाएर बेच्ने गरेको गुनासो आए पनि अनुगमन टोलीमा मापदण्ड जाँच गर्ने प्राविधिक नहुँदा खाद्यान्नमा भएको गुणस्तरता ननापेरै टोलीले अनुगमन गरेका हो। कालिमाटीको होलसेल सामान बिक्री गर्ने बजारमा उत्पादन मिति १ वर्ष पछाडि राखेका सामान फेला परेका छन। कालिमाटीमा आफूर्ति मन्त्रालयले गरेको आइतबारको अनुगमनमा रजिस्ट्रेसन नम्बर ६४६५⁄३८⁄९४ नम्बरको पशुपति नामको पापडको उत्पादन मिति २०१८ मार्च ५ रहेको भेटिएको छ।

अनुगमन टोलीले बजार छापा मार्दा आदियानाथ ब्राण्डको पशुपति पापडमा १ वर्षपछि उत्पादन मिति राखेर बजारमा बेचिएको छ। ब्यापारीले मनलाग्दी उत्पादन र उपभोग सकिने मिति राख्दा म्याद भएको उपभोग्य सामानको गुणस्तरीयतामासमेत प्रश्न चिन्ह खडा भएको छ।

आपूर्ति मन्त्रालयको नेतृत्वमा आइतबार अनुगमनमा गएको अनुगमन समितिले कालिमाटीमा रहेको शिवज्योति पतञ्जलीलाई सिल गरेको छ। सम्बन्धित निकायबाट अनुमति नलिएको, औषधि व्यवस्था विभागको प्रमाणपत्र नवीकरण नगरेको, स्विकृति नपाएको ब्यक्तिबाट औषधि बिक्री गरेको भन्दै ३ दिनभित्र विभागमा बोलाएर पतञ्जली सिल गरिएको हो। कालिमाटीको शिवज्योति पतञ्जलीमा माया थापाको नाम भए पनि केशव पोख्रेलले औषधि बेचिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्