रातारात संशोधन प्रस्ताव सहमतिका लागि आज बिहान मोर्चासँग छलफल गरिँदै



बीपी साह, काठमाडौं
संविधान संशोधनको नयाँ प्रस्तावलाई सरकारले अन्तिम रूप दिने भएको छ। आइतबार अबेर रातिसम्म सरकारका तर्फबाट संशोधनको नयाँ प्रस्ताव तयार भइसक्ने कानुनमन्त्री अजय शंकर नायकले बताउनुभएको छ। सो प्रस्तावबारेमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा मधेसी मोर्चाका नेताहरूलाई डाकिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग छलफल गरेर संविधान संशोधनको नयाँ प्रस्ताव तयार भइसकेको बताउनुभएको थियो। तर, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरूसँग कुनै छलफल नभएको जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित मधेसी मोर्चाको सहमतिमै नयाँ प्रस्ताव ल्याउन लागिएको बताउनुभएको थियो।

तर, आइतबार रातिसम्म कानुनमन्त्री अजय शंकर नायकसहितको टोली संशोधनको नयाँ प्रस्तावलाई अन्तिम रूप दिन लागि परेको थियो। कानुनमन्त्री नायकले भन्नुभयो– ‘आज अबेरसम्म छलफल गरेर अन्तिम रूप दिनेछौं। अहिले पनि छलफल जारी राखेका छौं।’ स्रोतका अनुसार सोमबार (आज) बस्ने व्यवस्थापिका संसद्को बैठकमा नयाँ प्रस्तावमाथि छलफल हुन सक्छ।

यता नेपाल समाचारपत्रसँग कुराकानी गर्दै मधेसी मोर्चाका नेताहरूले आफूहरूसँग कुनै छलफल नभएको बताउनुभएको छ। सहमतिकै लागि भन्दै आइतबारको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको सरकारले जनाएको छ। सो बैठक आज सोमबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ।

तर, मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैं प्रोटोकल विवादमा अल्झेको बताउँदै त्यही कारणले मन्त्रिपरिषद् बैठक अवरुद्ध हुँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘उपप्रधानमन्त्रीको प्रोटोकल विवादले क्याबिनेट सरेको छ। तर, हल्लाचाहिँ सहमतिका लागि सारेको गर्दै छन्।’

यादवले आफूहरूलाई नयाँ संशोधन प्रस्तावका बारे कुनै जानकारी नभएको बताउनुभएको छ। ‘संविधान संशोधनको नयाँ प्रस्तावबारे हामीलाई कुनै जानकारी छैन’, यादवले भन्नुभयो– ‘सरकारले सहमतिको नौटंकी मात्र गरेको छ।’

यता सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि नयाँ प्रस्तावबारे कुनै छलफल नभएको बताउनुभयो। उहाँले अनौपचारिक कुराकानी केही दिनअघि भएको बताउँदै नयाँ प्रस्तावमा के विषय समेटिएको भन्ने जानकारी मोर्चालाई नरहेको जनाउनुभयो। महतोले प्रधानमन्त्रीले संशोधनका विषयमा अनौपचारिक कुराकानी नेताहरूसँग गरेको आफूलाई जानकारी भएको बताउनुभयो।

महतोले भन्नुभयो– ‘हामीले सरकारलाई कुरेका छौं। सरकारले नयाँ प्रस्ताव ल्याओस् अथवा पुरानै पास गराओस्। सरकारले सदनमा पेस गरेपछि हामीले प्रतिक्रिया दिनेछौं। विषयवस्तुमा हाम्रो सहमति छ वा छैन त्यो त संशोधन प्रस्ताव अध्ययन गरेपछि थाहा हुनेछ।’

प्रधानमन्त्रीले सीमांकनबाहेकका विषयलाई संशोधन गर्नका लागि नयाँ प्रस्ताव तयार पारेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्