ट्रक र कार ठोक्किँदा तीन भारतीयको मृत्यु



हेटौंडा, (नेस)
पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–६, तिरतिरेधारा नजिक ज्यामिरेमा ट्रक र कार ठोक्किँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ। वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको बीआर ०३ जी ५६२५ नम्बर भारतीय कार विपरीत दिशाबाट आइरहेको ना६ख ६५६१ नम्बर ट्रकसँग शनिबार राति करिब सवा ८ बजे ठोक्किएको हो।

तीनै जनाको घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृतकमध्ये दुई जनाको सनाखत भएको छ। मृतकहरू चालक ३९ वर्षीय नितेशकुमार र भारत सीतामाडीका ३७ वर्षीय सञ्जीवकुमार रहेको प्रहरीले जनाएको छ। अर्का एक मृतकको सनाखत हुन बाँकी छ। उनीहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ।

दुर्घटनामा घाइते ५२ वर्षीय राजीवकुमार शर्माको टाउको र खुट्टामा गम्भीर चोट लागेको र उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको छ। कारमा चार जना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्