देशलाई चिनाउने ठाउँमा ४० करोडको गढी



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरगढी दरबार क्षेत्रले देशलाई चिनाएको छ। नेपालको मुख्य मानिएको मकवानपुरगढीलाई लामो प्रयासपछि ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीयरूपमा विकास गरिने भएको छ। गढी क्षेत्रलाई बहुवर्षे योजनाअनुसार विकास गर्ने लागिएको छ।

मकवानपुरगढी पर्यटन विकास समन्वय समितिले यस्तो योजना अघि सारेको हो। समिति सचिव इतिहास खोजकर्ता केदारप्रसाद न्यौपानेले करिब ४० करोड लागतमा बहुपक्षीय पर्यटकीय विकास गर्न गुरुयोजना तयार पारिसकिएको बताए। उनका अनुसार समितिले बहुवर्षे गुरुयोजनामा टोपोग्राफी नक्सा तयार पारेर पुरातत्व विभागलाई बझाइएको छ।

उनका अनुसार गुरुयोजनामा गढी क्षेत्रभित्र गढी किल्ला, दरबार, र द्वारलाई ऐतिहासिक, वंशीगोपाल र सिद्धेश्वर मन्दिरलाई धार्मिक, दृश्यालोकन टावर, होटल र मनोरम दृश्यलाई पर्यटकीय र संग्रहालयलाई पुरातात्त्विक विकास गरिनेछ।
१२ करोड ९४ लाखमा किल्ला, ८ करोड १० लाखमा दरबार, ४५ लाखमा संग्रहालय, ८० लाखमा बगैंचा, ८१ लाखमा ६ वटा पिकनिक स्पट, १ करोडमा पानी व्यवस्थापन, १ करोड ६८ लाखमा मन्दिर र २८ लाखमा गेट निर्माण गरिने लागत अनुमान छ। तत्कालीन नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले यसबारे प्रक्रिया अघि बढाएका थिए।
गढीमा २ वटा संग्रहालय रहनेछन्। तामाङ, मगर र गढी संग्रहालयलाई विशेषरूपमा निर्माण गरिनेछ। गढी क्षेत्रमा तामाङको बाहुल्यता रहेकाले तामाङका ऐतिहासिक गतिविधि झल्कने सामग्री त्यहाँ राखिनेछ। संग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्त्विक वस्तु पनि राखिनेछन्।

मकवानपुरगढीको इतिहासमा ठूलो प्रभाव छ। हेटौंडाबाट करिब १५ किलोमिटर पूर्वमा महाभारत डाँडाको टुप्पामा मकवानपुरगढी पर्दछ। नेपालको एकीकरण हुनुपूर्वको एक शक्तिशाली राज्य हो यो। त्यहाँ सेन वंशीहरूले राज्य गर्थे। माटोको ढिस्कोमुनि चाहिँ उहिले राजाको सेतो हात्ती गाडिएको थियो भनिन्छ।

यस्तो महत्त्वपूर्ण स्थानमा गढी दरबार, किल्ला र गेट निर्माण गर्दा ऐतिहासिक स्वरूप नमेटिने र मोडेल परिवर्तन नहुने किसिमले वैज्ञानिक तवरबाट निर्माण गरिनेछ। गढीको विकास र सञ्चालनका लागि पर्यटकीय क्षेत्र निर्माणलाई प्राथमिकतामा राखेर समुद्री सतहबाट करिब १ हजार १९ मिटर उचाइमा रहेको गढीबाट दृश्यालोकन गर्न सुविधासम्पन्न भ्युटावर निर्माण गर्ने योजना छ। टोपो नक्सा निर्माणका लागि जिल्ला समन्वय समिति र गुरुयोजना बनाउन पुरातत्त्व विभागले आर्थिक सहयोग गरेका थिए।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुरूप प्राचीन महत्त्वका स्मारक संरक्षण गर्नुपर्ने दायित्व पुरातत्त्व विभागको कार्य क्षेत्रभित्र पर्ने भएको भन्दै विभागकी लिपि अधिकृत सविता न्यौपानेले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्र लेखेकी हुन्। पत्रमा पुरातात्त्विक सम्पदा संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीलाई दायित्व तोकिएको स्मरण गराउँदै गढी क्षेत्रमा भइरहेका नवनिर्माण कार्य हटाएर परिसरवरिपरि अतिक्रमण तत्काल बन्द गरी सम्पदा संरक्षण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

दरबारका भत्किएका पर्खाल, घाँस र झार उम्रिएका छन्। दरबार खासै ठूलो छैन। दरबार क्षेत्र पनि सानो छ, तर पनि डाँडाको टुप्पामा दरबार छ। धेरै भत्किसकेकाले एकिन गरेर भन्न गाह्रो पर्छ।

प्रतिक्रिया दिनुहोस्