निशान स्मृति फुटबल उपाधि सोमलाई



हेटौंडा,(नेस) ।
चैत्र १९ गतेदेखि शुरु चौथो निशान लामा स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि एफसी सोमले जितेको छ । गत वर्षको उपविजेता रहेको एफसी सोमले नवमिलन युवा क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजेता बनेको हो ।

शनिबार भएको फाइनलको पहिलो हाफमा एफसी सोमका बिके लामाले ३ गोल गरी ह्याट्रिक बनाएका थिए । पहिलो हाफमै सोमका सूर्यमान लामाले गोल थपेका थिए । दोस्रो हाफमा नवमिलनका अशोक लामाले गोल प्रहार गरे । तर, उनको गोलले उपाधि जित्न सकेन । प्रतियोगिताका विजेता एवम् उपविजेता टिमलाई क्रमशः नगद ५० हजार र २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

खेलका म्यान अफ द म्याच बिके लामा भए भने प्रतियोगिताभरका उत्कृष्ट खेलाडीको सम्मान नवमिलन युवा क्लबका कृष्ण राईको हातमा प¥यो । प्रतियोगितामा सहभागी १४ टिममध्ये अनुशासित टिमको उपाधि एफसी श्रमिकलाई प्रदान गरियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वसन्तकुमार लामाले लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको खेल भएकाले आयोजकलाई आभार प्रकट गरे । जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल लगायतले पुरस्कृत गरेका थिए ।
लागुपदार्थको दुव्र्यसनमा परेर ज्यान गुमाएका निशान लामाको स्मृतिमा आयोजित प्रतियोगितालाई निरन्तरता दिइने आयोजक कर्रा नेटवर्कका अध्यक्ष सानु लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्