दिप्सन फुड्स जापान च्याम्पियन



काठमाडौं, (नेस)
दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। नयाँ बजारस्थित टाउन प्लानिङमा भएको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई ३-१ सेटले हराएर दिप्सन फुड्सले उपाधि उचालेको हो। भारतीय खेलाडीले भरिएको दिप्सन फुड्स जापानले पहिलो सेटको शुरूआतदेखि नै आर्मीमाथि दबाब सिर्जना गर्ने क्रममा उत्कृष्ट सर्भिस, स्पाइक र ब्लक प्रस्तुत गर्यो।

दिप्सनले पहिलो २५-१७ र दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै आर्मीमाथि दबाब सिर्जना गर्यो। तर निकै रोमाञ्चक रहेको तेस्रो सेट २६-२४ ले आफ्नो बनाएपछि आर्मीले खेलमा फर्कने प्रयास गर्यो। यद्यपि चौथो सेटमा आर्मीले खराब प्रदर्शन गरेपछि २५-१४ ले सेट गुमाएसँगै उपाधिबाट वञ्चित बन्यो। दिप्सनको जितमा भारतीय खेलाडी विनीत कुमार र नेपाली खेलाडी सञ्जु विक्रम शाहले उत्कृष्ट प्रदर्शन गरे।
विजेता दिप्सनले ट्रफिसँगै एक लाख ७५ हजार एक सय ११ रूपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेतामै चित्त बुझाएको आर्मीले ट्रफि ,नगद ९० हजार एक सय ११ र मेडल प्राप्त गर्यो। नया बजार सामाजिक क्लबको आयोजनामा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३-२ ले हरायो। पुलिसले एपीएफमाथि २१-२५,२५-१४,२१-२५,२५-१५ र १५-१२ को जित निकाल्यो। तेस्रो बनेको पुलिसले ट्रफि,नगद ५१ हजार एक सय ११ र मेडबल तथा चौथोमै सीमित एपीएफले २५ हजार एक सय ११ रूपियाँ प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनेका दिप्सन फुड्सका विनीत कुमारले ट्रफी प्राप्त गरे। विधागत उत्कृष्टतर्फ स्पाइकरमा आर्मीका मान बहादुर श्रेष्ठ, सर्भरमा आर्मीका दिल सुनार, ब्लकर दिप्सनका सुप राव, डिफेन्स दिप्सनकै सुदिप थापा, सेटरमा पुलिसका इम राना, क्वीकर एपीएफका महेन्द्र श्रेष्ठ र वेस्ट कोच दिप्सनकै राजकुमार गुरुङ घोषित भए।

प्रतिक्रिया दिनुहोस्