भारतद्वारा बंगलादेशलाई साढे चार अर्ब डलर सहयोग



नयाँदिल्ली, (एजेन्सी)
भारत तथा बंगलादेशबीच शनिबार बंगलादेशको राजधानी ढाकाको विकास परियोजनाका लागि सहुलियतसहित साढे चार अर्ब अमेरिकी डलर बराबरको ऋण सुविधा उपलब्ध गराउनेलगायत अन्य थुप्रै सम्झौतामा हस्ताक्षर भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य यी दुई छिमेकी मुलुक हाल आपसी सम्बन्ध गहिरो बनाउन प्रयासरत रहेको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका बंगलादेशी समकक्षी सेख हसिनाबीच नयाँदिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र तिनीहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध संघर्षका लागि सहयोगका विषयमा पनि छलफल गरेको बुझिएको छ।

दुवै पक्षका उच्च अधिकारीहरूले आगामी पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बंगलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउनेलगायत अन्य २२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ।

दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयको सम्झौतामा पनि हस्ताक्षर भएको छ र यसअन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकासका लागि सहयोग गर्ने भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले बंगलादेशी समकक्षी हसिनाले भारत-बंगलादेशबीचको सम्बन्धको ुस्वर्ण युगु कालमा भ्रमण गरेको र भारत बंगलादेशका लागि दीर्घकालीन र भरपर्दो विकास साझेदार भएको प्रतिक्रिया दिएका छन्। भारत तथा बंगलादेशबीच ४ हजार १ सय किलोमिटर लामो सीमारेखा रहेको छ।

प्रतिक्रिया दिनुहोस्