महासंघ व्यवसायीहरूको आस्थाको केन्द्र

दिनेश श्रेष्ठ
जिल्ला तथा नगरतर्फबाट उपाध्यक्षका उम्मेदवार
नेपाल उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५१औं साधारणसभा चैत्र २८ र २९ गते हुँदै छ। यस साधारणसभाबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चुनिने भएपछि थप महत्त्वका साथ हेरिएको छ। महासंघको विधान संशोधनमा अध्यक्षमा स्वतः वरिष्ठ उपाध्यक्ष जाने निर्णयभएपछि यस वर्षबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायत सदस्यमात्रै चयन हुनेछन्।

महाधिवेशनमा कोहलपुर उद्योग वाणिज्य संघका तर्फबाट दिनेश श्रेष्ठले महासंघको जिल्ला तथा नगरतर्फबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ। विगत ३५ वर्षदेखि व्यावसायिक तथा २५ वर्षदेखि चेम्बर अभियानमा सक्रिय श्रेष्ठ निजी क्षेत्रमा परिपक्क र स्पष्ट धारणा राख्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ। २०५८ सालमा पहिलोपटक महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गर्नुभएका श्रेष्ठ महासंघको साना तथा घरेलु उद्योग विकास समिति, प्रविधि समिति, भन्सार समिति, राजस्व समिति, उद्योग समिति, मेला प्रवद्र्धन समिति, विधान संशोधन समितिमा बसेर काम गरिसक्नुभएको छ। श्रेष्ठले व्यवसायीको समस्या समाधानका लागि तर्कपूर्ण विचार प्रस्तुत गरी प्रभावकारी भूमिका खेल्ने गुणका कारण उत्कृष्ट समिति सभापतिका रूपमा पुरस्कृत पनि हुनुभएको छ। उद्योग वाणिज्य महासंघमा गोल्छा समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका श्रेष्ठसँग नेपाल समाचारपत्रले गरेको कुराकानी।
यहाँको उम्मेदवारीको किन, एजेन्डाहरू के छन् ?

यो पदका निम्ति जिल्लाका थुप्रै साथीहरू आकांक्षी हुनुहुन्थ्यो। सबैभन्दा ठूलो भनेको टिमवर्क हो। नेपाल उद्योग वाणिज्य महासंघमा टिमवर्क भयो भने काम गर्न सजिलो हुन्छ भन्ने हिसाबले टिमको डिसिजनअनुसार मैले उम्मेदवारी दिएको हुँ। र, मैले विगत तीन वर्ष वस्तुगततर्फको उपाध्यक्षका रूपमा काम गरिसकेको छु। ुवस्तुगततर्फ तपाईंले राम्रो काम गर्नुभयो। तपाईंजस्तो व्यक्ति जिल्ला नगरतर्फ पनि चाहियो, भोलिका दिनमा सबै क्षेत्र बुझेको व्यक्तिसँग काम गर्न सजिलो हुन्छु भन्ने प्रस्ताव आएका कारण मेरो उम्मेदवारी आएको हो।

त्यस्तै वस्तुगततर्फको तीन वर्षे कार्यकालमा जिल्लाका समस्याहरूको सुनुवाइ कम भयो भन्ने साथीहरूको गुनासो आइरहेको थियो। उहाँहरूको प्रतिनिधित्व गर्नेले आफ्ना समस्या केन्द्रमा नपुर्याइदिएपछि साथीहरूले यसपटक जिल्ला तपार्इंले हेरिदिनुस् भन्ने आशय राख्नुभयो। साथै जिल्ला नगरतर्फको उपाध्यक्षका लागि आकांक्षा राख्नुभएका अन्य साथीहरूले पनि तपार्इं उम्मेदवारी दिनुहुन्छ भने हामी सहयोग गर्छौं भन्नुभयो। त्यसकारण नै मैले जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ।

विगतमा वस्तुगततर्फबाट उम्मेदवारी दिनुभयो, यसपटक जिल्ला नगरमा जाँदा असजिलो भएको छैन ? बेजिल्लाको भन्ने आरोप पनि लागेका छन् नि ?

म जिल्लाबाटै आएको मान्छे हुँ, जुनसुकै क्षेत्रमा बसे पनि म जिल्लाको नै प्रतिनिधित्व गर्छु। बेजिल्ला भन्ने आरोप मिथ्या हो। जिल्लाको समस्या भोगेको, समस्या बुझेको मान्छे महासंघमा चाहियो, अनिमात्रै समस्याको अनुभूति हुने गरी सम्बन्धित निकायमा कुरा राख्न सकिन्छ। नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला तथा नगर संघका लागि आस्थाको केन्द्र हो। आफ्नो उद्योग व्यवसाय गर्दा समस्या आइपर्यो भने व्यवसायीहरूले संघमार्फत् कुरा राख्न सजिलो हुन्छ।

महासंघ एउटा मन्दिरजस्तै पवित्र ठाउँ र व्यवसायीहरूको आस्थाको केन्द्र हो। जुनसुकै क्षेत्रबाट आएर पनि हामीले उद्योगी व्यवसायीकै हकहितका लागि काम गर्ने हो। त्यसकारणले गर्दा धेरै साथीहरू यस विषयमा विश्वस्त भइसक्नुभएको छ। विगत तीन दशकदेखि व्यवसायमा लागेको र अढाइ दशकदेखि चेम्बर अभियानमा काम गरेको हुनाले मैले जिल्लाका साथीहरूबाट राम्रो साथ पाएको अनुभव मैले गरेको छु। तर, राजनीतिमा भनिन्छ नि ुकन्भिन्स गर्न सकिएन भने कन्फ्युज गराइदेऊ भन्ने कुरा यहाँ पनि लागू गर्न खोजिएको छ। त्यसैले मप्रति लक्षित गरी त्यस्ता हल्ला चलाउन खोजिएको हो। अहिलेको अवस्थामा मैले के भन्न सक्छु भन्ने कुरा साथीहरूले यसलाई राम्रोसँ बुझ्नुभएको छ।

यहाँले भन्न खोज्नुभएको लक्ष्य त्यही हो, बाटो मात्र फरक भन्ने हो ?

बिल्कुलै हो। मैले काम गर्ने उद्योग व्यवसायीहरूकै लागि हो। मन्दिर जाने बाटो फरकफरक हुनसक्छन्। तर, हामीले नतिजा खोज्ने भनेकै व्यवसायीहरूको हितमा हो। मैले वस्तुगत, जिल्लागत जुनसुकै क्षेत्रको उद्योगी व्यवसायीहरूको समस्या बुझेको छु। उद्योग समितिमा बस्दा साना, मझौला तथा घरेलु उद्योगको समस्या पनि बुझेको छु। यी सबै क्षेत्रको समस्या सम्बोधन गर्न औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐनजस्ता ऐन बनाएका छौं। ती ऐनको कार्यान्वयनका विषयमा हामीले कम्पनी अनलाइन दर्ता गर्ने प्रावधान ल्याएका हौं। करका क्षेत्रमा पनि निजीक्षेत्रको हितका लागि भनेर थुप्रै काम गरेका छौं। हामी संगठित हुनुपर्ने कारण के भने, सरकारी निकाय, कर्मचारी वर्गले वा अन्य क्षेत्रले हाम्रो व्यवस्थापन प्रतिकूल हुने नियम कानुन निर्माण र कार्यान्वयन नहोस् भन्ने हो। महासंघले राज्यलाई आर्थिक मुद्दामा परामर्शदाताको रूपमा हामीले काम गरिरहेका छौं। र, गर्नुपर्ने पनि त्यही हो।

साढे दुई दशकदेखि चेम्बर अभियानमा सक्रिय हुनुहुन्छ। एकपटक उपाध्यक्ष पनि भइसक्नुभयो। फेरि पनि उपाध्यक्षमै उम्मेदवारी दिनुभयो। त्योभन्दा माथि जाने बेला भएन ?

म पनि वरिष्ठ उपाध्यक्षकै उम्मेदवार थिएँ। महासंघको विधानअनुसार एकपटक उपाध्यक्ष भइसकेको व्यक्ति नै वरिष्ठ उपाध्यक्षको उम्मेदवार हो। तर, हामीले एउटा टिमवर्कमार्फत् काम गर्नुपर्ने तथा जिल्लातर्फको पनि जानकारी लिँदा अघिल्लो नेतृत्वका लागि सजिलो हुन्छ भन्ने पनि भएको हुँदा साथीहरूको सल्लाह सुझावका कारण उपाध्क्षमा नै उठ्ने निधो गरेको हुँ।

भनेपछि आगामी नेतृत्वका लागि तपाईं आधार तयार पार्दै हुनुहुन्छ ?

वस्तुगत र जिल्ला दुवै क्षेत्रको अनुभव र टिमको निर्णयले मलाई अगाडि बढ्न बाटो खोलिनेछन्। मेरासामु के पनि चुनौती छ भने यदि मैले अहिले सफलता पाइनँ भने मेरा अगाडिका बाटा बन्द हुनसक्ने अवस्था छ। त्यो कुरालाई पनि मैले बुझेको छु। आफ्नो अगाडिको बाटो आफै तय गर्ने भएकाले त्यसतर्फ म सचेत छु।

अहिले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भइसकेकै अवस्थामा हुनुहुन्छ, किनभने ३० प्रतिशत एसोसिएटतर्फका लागि अर्को समूहको उम्मेदवारी नै नहुनु भनेको गोल्छा समूहलाई समर्थन छ भन्ने हो। बाँकी ७० प्रतिशत भोटबाट अर्को पक्षले जित्न सजिलो छैन। त्यसकारण पनि हामी के कुरामा विश्वस्त छौं भने वरिष्ठ उपाध्यक्षका लागि करिब-करिब टुंगो लागिसकेको अवस्थामा वस्तुगत र जिल्लातर्फका उपाध्यक्षका लागि पनि हामीले साथीहरूबाट समर्थनको अपेक्षा राखेका छौं। यदि यो टिमले काम गर्न सकेन भने हाम्रो विधानमा नै नेतृत्व परिवर्तनका लागि प्रशस्तै आधारहरू हामीले समावेश गरेका छौं। आफ्नो वर्गको हकहितका लागि मात्रै नभई सामाजिक सेवाका क्षेत्रमा पनि जिल्ला संघ र सदस्यहरूले महत्त्वपूर्ण काम गरिरहनुभएको छ। मैले थुप्रै जिल्लाको भ्रमण गर्ने क्रममा त्यो देखेको छु, भोगेको छु। जिल्लाका साथीहरूलाई सरकारपछिको भूमिका निर्वाह पूरा गर्नुभएको छ।

तपाईंले धेरै कुरा त भनिसक्नुभयो। अब बुँदागतरूपमा भनिदिनुस् तपार्इंलाई मतदाताले किन भोट दिने ?

मलाई मतदाताले मत दिने भन्ने कुरामा मेरो विगतको अनुभवको आधारलाई हेर्नुपर्छ। यसले काम गर्नसक्छ र अहिले जिल्लाका काम भइरहेको छैन भन्ने साथीहरूलाई थाहा छ। हिजोको नेतृत्वले त्यति प्रभावकारी रूपमा काम गर्न नसकेको हुँदा वस्तुगततर्फको कामको अनुभवले अब जिल्लामा पनि काम गर्छ भन्ने विचार गर्नुभएको छ। मैले पनि के प्रतिबद्धता जाहेर गरेको छु भने जिल्लाका उद्योगी व्यवसायीहरूको प्रगति हुने गरी म काम गरेर देखाउनेछु।

तपाईंले अस्ति एउटा घोषणा गर्नुभएको छ, मैले काम गर्न सकिनँ भनेर २५ जनाले प्रस्ताव गरे राजीनामा गर्छु भन्नुभयो यसलाई अलि प्रस्ट पार्नुहोस् न ?

म जति पनि जिल्लामा भ्रमण गरें, त्यहाँ साथीहरूले अपार श्रद्धा, सहयोग, सद्भाव देखाउनुभयो। मेचीदेखि महाकालीसम्मका उद्योगी व्यवसायीहरूको सहयोग पायौं। हाम्रो अभियानमा व्यवसायीको सहाभागिताले हामी उत्साहित छौं।

यसबाट पनि हामीलाई के लागेको छ भने जिल्ला नगरका साथीहरूका समस्या र तिनको निराकरणका बारेमा बुझेका छौं। जिल्लाका उद्योगी व्यवसायीलाई राज्यले चाहेर नचाहेर दुःख दिँदै आएको छ। जस्तै कम्पनी दर्ता गर्दाको समस्या यथावत छ। राज्यसँग उद्योगको कुनै तथ्यांक छैन। कुन उद्योग व्यवसाय चलेको छ कुन छैन र कस्तो स्थिति छ भन्ने कुराको आँकडा राज्यसँग छैन। हिजोको दिनमा हामीले उद्योग र व्यवसायको तथ्यांक संकलन गरेर राज्यलाई दिने गरेका छौं।

हिजोको कार्यसमितिले प्रभावकारी काम गर्न नसकेको र जिल्लाको समस्या बुझ्न नसकेको कुरा घाम जत्तिकै छर्लंग छ। त्यही भएर पनि मैले के काम गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने कुरा जिल्लाका साथीहरूसंँग भेटेरै सुझाव लिएको छु।

चुनाव जितेपछि साथीहरूले अविश्वासको मतबाट हटाउनसक्ने वैधानिक प्रावधान छ, त्यो बेलासम्म म कुर्दिनँ। मैले के भनेको हुँ भने मैले अनुभूति हुने गरी केही काम गर्न सकिनँ भने म राजीनामा गर्न तयार छु भनेको हुँ। किनकि मेरो नैतिकताले पनि मलाई त्यहाँ बस्न दिँदैन। मलाई अहिले पनि वस्तुगतको साथीहरूले यदि स्थान पाउनुभएन भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं भन्नुभएको छ। तर, मैले जिल्लालाई किन स्वीकार गरेको छु भने जिल्लाका साथीहरूलाई यसले काम गर्न सक्छ भन्ने विश्वास छ। मैले साथीहरूलाई प्रस्टसँग भनेको छु कि यदि २५ जना साथीहरूले तपार्इंले काम गर्न सक्नुभएन भनेर लिखितरूपमा भन्नुभयो भने म छोड्न तयार छु।

तपार्इं पनि रहेको महासंघ इतिहासकै कमजोर भनिएको छ, के अहिले महासंघ साँच्चिकै कमजोर भएको हो त?

राज्यपछिको सबैभन्दा ठूलो सञ्जाल भनेको उद्योग वाणिज्य महासंघ नै हो। र, महासंघ कमजोर पनि छैन। राज्यले निजी क्षेत्रलाई विश्वास गरेर काम दिइरहेको संस्था भनेकै एउटा मात्र उद्योग वाणिज्य महासंघ हो। त्यसकारणले अहिले पनि राज्यले हामीलाई विश्वास गरेको छ। हामीले निजी क्षेत्र र आर्थिक समृद्धिका लागि राज्यसंँग सहकार्य गरेर थुप्रै कार्यक्रम गरिरहेका छौं। राज्यको अनुपस्थिति रहेका ठाउँमा पनि हामी पुगेका छौं। अहिले पनि विगत लामो समयदेखि स्थानीय तहको चुनाव भएको छैन। अब जनताले थुप्रै उद्योगी व्यवसायीलाई नै प्रतिनिधिका रूपमा चुन्ने वातावरण बनेको छ। भनेपछि महासंघ कमजोर भयो भन्ने कुरा पूर्वाग्रहीपूर्ण छ। किनभने कमजोर भन्ने कुरा आफू नेतृत्वमा आए सबल र नआएमा कमजोर भन्नु गलत हो। अहिले हामीले निजी क्षेत्रमा राजनीति घुस्न हुँदैन, राजनीति भनेको आफ्नो आस्थाको आधारमा गरिने काम हो भनिरहेका छौं।

तर, महासंघ जुनसुकै आस्थाका मानिसका लागि पनि खुला मन्दिरका रूपमा रहनुपर्दछ। उद्योग र व्यवसाय गर्नु नै धर्म हो। त्यस्तै संस्थामा हामीले राजनीतिको झण्डा लिएर आउने र ल्याउने काम कसैबाट नहोस्, नगरियोस् भनेर हामीले भनिरहेका छौं। जुन राजनीतिक वर्गका आधारमा महासंघलाई टुक्रइउन खोजिएको छ, त्यो नराम्रो काम हो। हामी राजनीतिक दलका लागि नभई उद्योगीव्यवसायीको हितमा काम गर्ने हो।

निर्वाचन प्रजातान्त्रिक प्रक्रिया पनि हो भनिन्छ। तर, महासंघमा अलिकति कडा प्रतिपस्र्धाको स्थिति देखिन्छ। फेरि फुटका हल्ला पनि सँगै आउँछ किन ?

अहिले फुट्नुभन्दा पनि एकता गरेर आफ्नो वर्गलाई सुदृढ बनाउनुपर्छ जस्तो लाग्छ। राजनीतिक दलमा जस्तै फुटेर जाने अवस्था महासंघमा छैन। हारेपछि पीडा हुने र जितेपछि उन्माद हुने अवस्था पक्कै हो। यसले गर्दा विगतमा केही समस्या देखिएको पनि हो। मेरो विचारमा अहिले सबै जना एकीकृत भएका छन्। यसलाई झन् संगठित गरेर महासंघको विधानअनुसार नै प्रादेशिकरूपमा गइसकेका छौं। प्रदेश र केन्द्रका बीचमा जुन सम्बन्ध हुन्छ, त्यसलाई अझ प्रगाढ गर्नुपर्ने भएकाले हामी अझ मजबुत हुन्छौं जस्तो मलाई लाग्छ।

यहाँले धेरै सुधारका कुरा गर्नुभयो। आफ्ना एजेन्डाका कुरा पनि गर्नुभयो। अब महासंघको खास समस्याचाहिँ के हो ?

महासंघमा समस्याहरू आइरहन्छन्। हामी उद्योगी व्यवसायीका समस्या र प्रशासनिक तथा संरचनागत समस्याहरू आइरहन्छन्। अहिले सातवटा प्रदेशमा सातवटा सचिवालयको स्थापनाका लागि हामीले पहल गरेका छौं। ती सचिवालयहरूमा आउने समस्यामा हामीले नीति निर्माणलगायत विषयमा सशक्त भएर अघि बढ्नुपर्नेछ। हामी त्यो तयारीमा लागेका पनि छौं।

साना उद्यमी र व्यवसायीका समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

हामीसंँग साना उद्यमी व्यवसायी सबैभन्दा बढी छन्। हामीसँग ठूला उद्योग हजारदेखि १५ सयको हाराहारीमा मात्र छन्। महासंघमा साना उद्योगहरू नै बढी छन्। उनीहरूका लागि नै हामीले आवाज उठाएका छौं। अहिले मिक्सम्याचको समस्यादेखि लिएर साना उद्योग वर्गीकरणमा देखिएको समस्यालाई पनि हामीले महत्त्वका साथ लिएका छौं। हाम्रा कुरालाई राज्यले पनि सुनिदिएको छ। ठूला उद्योगमा गरेको काम देखिन्छ तर साना उद्योगका कामको हामीले अनुभूति गर्न नसकेका मात्रै हो। साना उद्योगका समस्या साना हुने र प्राथमिकतामा नपर्ने भन्ने होइन। काम भएको छ र आगामी दिनमा हामी झन् सशक्त भएर समस्याको पहिचान र निराकरणमा लाग्ने छौं।

LEAVE A REPLY