प्रबुद्ध समूहको सुस्त बैठक



डा. सुमनकुमार रेग्मी

नेपाल-भारतबीच रहेका सबै खाले सन्धि(सम्झौता पुनरवलोकनका लागि सुझाव दिन दुवै देशका प्रबुद्ध समूह संलग्न गरी बनाइएको समूह नै प्रबुद्ध व्यक्ति समूह हो। यसको पहिलो बैठक २०७३ आसार २० र २१ मा काठमाडौंमा बसेको थियो। उक्त बैठकमा भारतीय टोली संलग्न भई दुई पक्षबीच अहिलेसम्म देखिएका सबै समस्याबारे समीक्षा भएको बताइन्छ। यस समूहको प्रावधानअनुसार हरेक वर्ष दुई देशबीच हुने दुई पक्षीय बैठक र यसमा सहमति हुने गर्दछ। हरेक ३-३ महिनामा दुवै देशको ईपीजीको संयुक्त बैठक बस्ने व्यवस्था भए पनि यस समूह गठन भएको ५ महिनामा नेपालमा पहिलो बैठक शुरू भएको थियो। कबुल भएअनुसार यसको बैठक बस्दै जाने आशा गरौं।

उक्त समूहको पहिलो बैठकमा भारतले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिलगायतका दुई पक्षीय सम्झौता पुनरवलोकन तथा संशोधनका लागि नेपालद्वारा ल्याइने प्रस्तावमा उक्त समूहको बैठकमा भारतले छलफल गर्न तयार र खुला रहेको बताएको देखिन्छ। तर, सन्धि-सम्झौता सम्बोधनका सम्बोधनमा भारतको तर्फबाट कुनै पनि प्रस्ताव नगरी नेपालले यससम्बन्धी पेस गरेको प्रस्तावमा सुन्ने मात्र गर्ने गरेको देखिन्छ। यस्तो प्रचलन भारतले किन गर्यो ?

भारतले नेपालमा हुने यस समूहको पहिलो बैठकमा भारतीय प्रबुद्ध वर्ग नेपाल जानुअघि भारतमै बसी भारततर्फको समूहको बैठकका एजेन्डाका रूपमा नेपालको कुरा बढी सुन्ने र आफूहरुले धेरै कुरा नराख्ने भनी तय गरेका थिए। यस्तो पूर्वगृहकार्यको अभ्यास नेपालको कुनै पनि बैठकमा हुने गरेको छैन। यसबाट नेपालले पनि सिक्न आवश्यक देखिन्छ। तर, नेपाली टोलीले एक महिनादेखि दैनिकजसो एक स्थानमा भेला भएर पहिलो बैठकको तयारी गरेको भनिए पनि सो नभएको जस्तो देखिन्छ।

२०७३ आसारको लगभग ३ महिनापछि अर्थात् २०७३ असोजमा भारतको नयाँदिल्लीमा समूहको दोस्रो बैठक बसेको थियो। यस बैठकमा अघिल्लो बैठकमा उठेका विषयँंग सम्बन्धित कार्यपत्रहरु पेस गरिएका थिए। अहिलेसम्म दुई देशबीच भएका सन्धि-सम्झौताको प्रमुख आधारका रूपमा सन १९५० को सन्धि कायम रहेको हुँदा यही सन्धिबाट प्रबुद्ध समूहको कार्य अगाडि बढ्नुपर्ने तर्क हरेक बैठकमा भनीआएको छ तर भारतले त्यति ध्यान नदिएको देखिन्छ। नेपालको तर्फबाट विज्ञ समूहको संयोजक डा. भेषबहादुर थापाल बैठकका लागि नेपालको तर्फबाट सहभागिता गरिआएका छन्। विज्ञ समूहमा संलग्न नेपालका प्रबुद्धहरुमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई छन्। विज्ञ समूहमा भारतको तर्फबाट भाजपा वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रशान्त छन्।

तर, यस समूहमा समस्तरको व्यक्ति दुवैतिर संलग्न भएको देखिँदैन। २०७३ माघमा यस गठित समूहको बैठक बस्न सकेको थिएन। यस समूहको बैठकको नियमितता कहिलेसम्म जाने हो ? भविष्यले देखाउनेछ। यस्ता बैठकहरु नेपाल-भारत सम्बन्ध सुधारोन्मुख भएको बेला अक्सर हुने गरेको देखिन्छ। यस्ता समूहका बैठकले दुवै देशबीचका वर्षौं पुराना सन्धि-सम्झौतासहित पछिल्लो बेला-बेलामा देखिएका समस्यामा सघाउन मद्दत गर्ने विश्वास लिइएको छ। विज्ञ संलग्न बैठकबाट आउने सुझावले दुवै देशका सरकारलाई मार्गनिर्देश गर्ने विश्वास लिइएको छ। सन् १९५० को शान्ति तथा मैत्री सन्धि सम्बन्धमा पनि छलफल हुँदै जानेछ। भारतसँग छलफल गर्दै कार्ययोजना तय गर्दै जाने बताइएको छ।

सन्धि(सम्झौता संशोधन मुद्दा नेपालले दुई दशकयता निरन्तररूपमा उठाई आएको देखिन्छ। २०५१ सालदेखि नेपालले सन् १९५० को सन्धिका बारेमा कुरा उठाएको हो। तर, यसमा संशोधन गर्ने भए केमा समस्या छ त्यो खुलाई वैकल्पिक प्रस्ताव मागेको धेरै भए पनि नेपालले पेस नगरेबाट यससम्बन्धी छलफल हुन सकेको देखिँदैन। भारतको बुझाइमा सन १९५० को सन्धीबाट भारतले भन्दा नेपालले बढी फाइदा पाइरहेकाले भारतको तर्फबाट संशोधन गर्न आवश्यक देख्दैन। तर, यस समूहको संयुक्त बैठकमा राजनीतिक सम्बन्ध, ऊर्जा, व्यापारलगायतका विषयमा छलफल गर्न भारत राजी देखिएको छ। नेपाल-भारत सम्बन्ध नराम्रो भई पुनः सम्बन्ध पूर्ववत्रूपमा आउँदा यस्ता अनगिन्ती बैठक बस्ने गर्दछन्। तर, पछि विस्तारै यस्ता अरू कैयन बैठक बस्न टाढिएर जाने गरेको देखिन्छ। त्यसर्थ, नेपाल-भारतबीचको आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्धबारे व्यापक अनुसन्धान आवश्यक छ।

(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायव निर्देशक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्