मध्यपश्चिमाञ्चल भूतपूर्व सैनिक सम्मेलन सम्पन्न



नेपाल समाचारपत्र
बाँके
नेपालगन्जस्थित राझा ब्यारेकमा शुरू भएको नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन मध्यपश्चिमाञ्चलको शनिबारे सुर्खेतस्थित मङ्लगढी ब्यारेकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यका बीच सम्पन्न भएको छ।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको ८ वटा जिल्ला (दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा) का करिब १ हजार जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका भूपू सैनिकको उपस्थिति रहेको थियो।

उक्त सम्मेलनको क्रममा सुर्खेतमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तीनका परिवार र गैरसैनिक व्यक्तिहरूसमेत गरी करिब १ हजार २ सय जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरूलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरूलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो। अशक्त भूतपूर्व सैनिक, उनीहरूका अशक्त परिवार र अशक्त गैरसैनिकहरूलाई ह्विलचियर वितरण तथा मध्यपश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो।

प्रधानसेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनामा कार्यरत रही राष्ट्रहितको रक्षार्थ वीरगति प्राप्त गरेका सकल दर्जाको आत्माको चिरशान्तिको कामना गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाइते, अशक्त तथा बिरामी भई उपचार गराइरहेका सकल दर्जाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको थियो।

सम्बोधनकै क्रममा उहाँले राज्य संकटमा पर्दा हिजो नेपाली सेनाले बगाएको रगत पसिनाका कारण यो देशको राष्ट्रिय अखण्डतामा आँच नआएको बताउनुहुँदै संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न भूतपूर्व सैनिकहरूले खेलेको अहम् भूमिकालाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्