एमाले काठमाडौंमा भाँडभैलो



मधुसूदन रायमाझी, काठमाडौं
नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ। नेतृत्वको टकरावको कारण काठमाडौं जिल्लाको अधिवेशनसमेत हुन सकेको छैन। सात वर्ष वितिसक्दासमेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ।

पार्टीको विधानअनुसार तीन⁄तीन वर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात वर्ष बितिसक्दासमेत हुनसकेको छैन। गुटगतरूपमा झइंगिँदै आएको एमालेको विवाद काठमाडौं जिल्ला कमिटीमा समानान्तर कमिटी गठनसम्म देखिएको छ। कृष्ण राई अध्यक्ष रहेको जिल्ला कमिटीको विरुद्ध वसन्त मानन्धरको नेतृत्वमा अर्को समानान्तर कमिटी घोषणा हुनेभएको छ। कृष्ण राई अध्यक्ष ओली पक्षका हुन् भने मानन्धर नेपाल पक्षका हुन्।

विवाद बढेपछि एमालेले काशिनाथ अधिकारीको संयोजकत्वमा अरुण नेपाल, सानु श्रेष्ठ सदस्य रहेको विवाद समाधान कार्यदल बनाएको थियो। सात वर्षसम्म विवाद समाधान हुन नसक्नुको कारण नेतृत्वकै टकराव भएको काठमाडौं जिल्ला कमिटीका एक नेताले बताए।

‘अध्यक्षको आशीर्वाद लिएर कृष्ण राईले अवैधानिकरूपमा संगठन चलाउँदा विवाद भएको हो’, उनले भने– ‘यो जिल्लाको मात्र विवाद होइन, नेतृत्वको पनि विवाद हो।’ सात वर्षसम्म पनि विवाद समाधान गर्न चासो नदेखाउनु नेतृत्वको कमजोरी भएको बताउँदै उनले पार्टीमा विधि र नीतिभन्दा पनि व्यक्तिलाई काखी च्याप्ने प्रवृत्तिको कारण समस्याले उग्ररूप लिएको बताए।

माधव नेपाल पक्षले पार्टीको विधानअनुसार अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न माग गरे पनि ओली पक्षले अस्वीकार गर्दै आएको बताइएको छ।

काशिनाथ अधिकारी संयोजक रहेको कार्यदलले काठमाडौं जिल्ला कमिटीमा रहेका ८७ जनासहित काठमाडौंका पूर्वजिल्ला कमिटीका सदस्य ३८ जना थपेर १ सय २५ सदस्यीय जिल्ला कमिटी बनाउने गरी प्रतिवेदन दिएको थियो। तर अध्यक्ष राई पक्षले अस्वीकार गरेपछि विवाद थप चर्किएको छ। तत्कालीन एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष निर्मल कुइँकेल पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितताको विवादमा तानिएपछि उहाँले अध्यक्षबाट राजीनामा दिनुभएको थियो। त्यसपछि काठमाडौंको अध्यक्षको जिम्मेवारी राईले सम्हाल्दै आउनुभएको छ।

नेकपा एमाले प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले काठमाडौंमा लामो समयदेखि विवाद रहेकाले समस्या समाधानका लागि प्रयास भइरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लामो समयदेखि अधिवेशन हुनसकेको छैन, चुनावको मुखमा अधिवेशन गर्नुको सट्टा कार्यालयमार्फत समस्याको समाधान खोजेका छौं।’

‘पार्टीभित्र आन्तरिक असन्तुष्टि र विवाद छ, चुनावको बेलामा अधिवेशन गर्न सकिएन।’ –उहाँले भन्नुभयो। काठमाडौंको जिल्ला कमिटी एकपक्षीय भएकोमा असन्तुष्टि बढेपछि कार्यदल बनाएर नै मापदण्डअनुसार सदस्य थप्ने काम भएको बताउँदै थप गरिएका कमिटीलाई अनुमोदन गर्न पार्टीका अध्यक्षसमक्ष पठाएको बताउनुभयो।

पार्टी अध्यक्ष ओली भने स्वास्थ्य उपचार गर्न एक साताको लागि थाइल्यान्ड प्रस्थान गर्नुभएको छ। अध्यक्ष नफर्किंदासम्म विवाद समाधान नहुने बताइएको छ। चुनावको समयमा पार्टीमा विवाद सृजना नहोस् भनेर कार्यदलमार्फत समस्या समाधान गर्न पहल भइरहेको बताउँदै इन्चार्ज शाक्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘काठमाडौंमा समस्या छ, नवौं महाधिवेशनमा प्यानलगत उम्मेदवार दिँदा त्यसको असर अहिले काठमाडौंमा पनि देखिएको छ।’ पार्टीको विधान र नीति मिच्दा पार्टी कमजोर हुने बताउँदै उहाँले दुवै पक्षले एमालेको विचार लिए समस्या समाधान हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्