खुलेआम विक्री हुन्छन् लागूऔषध



यसरी हुँदै छ– लागूऔषधको रुपमा औषधिको दुरुपयोग

सन्तोष खनाल, काठमाडौं
निक्कै संवेदनशील रहेको औषधि व्यवसायको क्षेत्र भद्रगोल तरिकाले सञ्चालन आएको पाइएको छ।

औषधि पसलहरूले रेकर्ड राखेर मात्र आवश्यकताअनुसार विक्री गर्न पाउने लागू मनोद्विपक औषधि मनलाग्दी विक्री भइरहेको पाइएको हो। औषधि ऐन २०३५ ले संवेदनशील मानेर रेकर्डसहित विक्री गर्न भनेको औषधि जथाभावी विक्री भएको पाइएको छ। बजारमा दर्ता नभएका औषधि पसलले समेत मनोद्विपक औषधि विक्री गरेको पाइएको हो।

दुखाइ कम गर्ने औषधि ट्रमाडोललगायतका औषधि पनि लागूऔषधका रूपमा प्रयोग भएको छ। बजारमा ओपिडोल, स्पास्मो, ट्राफ्लासलगायतका औषधिको दुरुपयोग भएको पाइन्छ।

बजार अनुगमन गर्न गएको सरकारी अनुगमन टोलीले तथ्याङ्क राखेर बेच्नुपर्ने औषधि मनलाग्दी बेचेको पत्ता लगाएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार बजारमा रेकर्ड नै नराखेर वा छलपूर्ण तरिकाले पर्याप्त तथ्याङ्क नराखी मनोद्विपक औषधि बेचिएको पाइएको छ।

उहाँले अधिकांश औषधि पसलमा सही रेकर्ड नभएको बताउनुभयो। ‘हामीले अनुगमनमा रेकर्ड राखेर बेच्न पाइने मनोद्विपक औषधिको सही रेकर्ड पाएनौं’, विभागका अधिकारी केसीले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘हामीले यस्ता औषधि पसललाई प्रक्रियागत रूपमा कारबाही गर्न थालेका छौं।’

यता दर्ता नगरेर चलाउने मात्रै हैन बजारमा गैरकानुनीरूपमा अवैध तरिकाले औषधि पसल चलाइएको समेत पाइएको छ। औषधि विक्री गर्न आवश्यक पर्ने योग्यता नभएकाहरूले मनलाग्दी औषधि बेचेको पाइएको अनुगमनको क्रममा फेला परेको थियो।

औषधि विक्री गर्न सम्बन्धित विषयमा ओरिन्टेसन वा डि–फार्मेसी गरेको हुनुपर्नेमा त्यस्ता योग्यता नभएकाबाट मेडिकल चलाएको पाइएको सिनियर अहेव विश्व दुवाडीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘बजार अनुगमनमा विषय सम्बद्ध मान्छेले औषधि बेचेको पाइएन’, दुवाडीले भन्नुभयो– ‘उनीहरूबाट म्याद नाघेका तथा बेच्न नमिल्ने औषधिसमेत बिक्री हुन्छन्।’ मूल्य नियन्त्रण गरी आएका प्राइज कन्ट्रोल औषधिसमेत महँगोमा बेचेको पाइएको छ।

बजारमा पेन्टा पाराजोल, ओमिटापाराजोल, एमोक्सोसिलिन गर्भनिरोधक ई–कोनलगायतका औषधि महँगोमा बेचेको पाइएको हो। प्राइज कन्ट्रोल गरी आएका सिप्रो फ्लोक्सोसिन ५ सय एमजी र एमोक्सोसिलिन ५ सय एमजी प्रतिट्याब्लेट ८ रुपियाँमा बिक्री हुनपर्नेमा १२ रुपियाँमा बेचेको अनुगमनका क्रममा फेला परेको छ। त्यसै गरी ई–कोन ८० रुपियाँमा बेच्नुपर्नेमा १ सय ५० रुपियाँमा बेचेको, बजारमा मुखमा लगाउने माक्सलाई अधिकतम ५ रुपियाँमा बेच्नुपर्नेमा मेडिकलमा २० रुपियाँसम्ममा बेच्ने गरेका थिए।

औषधि पसल तथा औषधि व्यवस्थापनका लागि बनेको औषधि ऐन २०३५ ले मनोद्विपक औषधिको रेकर्ड राखेर मात्र बिक्री वितरण गर्न भनेको छ।

ऐनमा स्वास्थ्यलाई प्रतिकूल हुने गरी औषधि बिक्री–वितरण गरेमा जन्मकैद सम्मको कानुनी व्यवस्था छ तर औषधि व्यवसायीले कानुनको धज्जी उडाएर मनपरी गरिरहेका छन्। औषधिका बारेमा ज्ञान नभएका अयोग्य मान्छेलाई पसलमा राखेर औषधि बिक्री–वितरण भइरहँदा पनि नियमन गर्ने निकाय कडाइका साथ प्रस्तुत भएको छैन।

बजारमा औषधि पसलमा बेथितिको हद नाघिसक्दासमेत हुनुपर्ने जति अनुगमन र नियमनको काम नभएको सरोकारवाला बताउँछन्।

बजारमा कतिपय ठाउँमा नामै नभएका औषधि पसल सञ्चालन गरेको समेत देखिएको छ। आम नागरिकको सरोकारको क्षेत्र औषधि पसलमा गरिएको अनुगमनमा मापदण्डविपरीत काम गर्ने धेरै औषधि पसल भेटिएका छन्। बजारमा बिक्री भइरहेका केही औषधि गुणस्तरहीन भएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ।

बजारमा तीन वटा कम्पनीले उत्पादन गरेका मधुमेह, ग्यास्ट्राइटिस र सुईको माध्यमबाट दिइने इन्जेक्टेबल औषधि गुणस्तरहीन बेचिएको छ। भारतको हिन्दुस्तान मेडिसिन प्रालि र वर्कहार्डट लिमिटेड र नेपालको विजयदीप ल्याब्रोटोरिजले उत्पादन गरेका औषधिको गुणस्तर छैन।

हिन्दुस्तान मेडिसिनको डेक्स्ट्रोज इन्जेक्सन आईपी ५० नामको औषधिको ब्याच नम्बर २८ मा समस्या छ भने भारतकै अर्को वर्कहार्डटले उत्पादन गरेको प्रोर्याब २० नाममा निकालेको जेआर १०२७६ ब्याचका ग्यास्ट्राइटिसको औषधि मापदण्डविपरीत छ।

नेपाली कम्पनी विजयदीपले उत्पादन गरेको भी–ग्लिम–२, भीजी २–०१४ ब्याचका मधुमेहको औषधि गुणस्तरहीन भए पनि बजारमा बिक्रीका लागि राखेको पाइएको हो। बजारमा बिक्रीका लागि राखिएको पाइएको तत्काल शक्ति दिनका लागि प्रयोग हुने डेक्सट्रोज इन्जेक्सन, सुगरका बिरामीले प्रयोग गर्ने औषधि भी ग्लाम तथा अल्सरका बिरामीले प्रयोग गर्ने प्रोराब २० औषधिमा गुणस्तर छैन। औषधि व्यवस्था विभागको पोस्ट मार्केटिङ सर्भेबाट औषधिको गुणस्तर कमजोर देखाएको हो।

प्रतिक्रिया दिनुहोस्